१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

ट्रम्पको साथ छोड्दै जोन्सन

ट्रम्प पुनः निर्वाचित हुने सम्भावना न्यून भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन समूहले बाइडेनलाई पछ्याउन सुरू गरेको दाबी
नवीन पोखरेल

लन्डन — अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनले यतिखेर विश्वकै ध्यानाकृष्ट गरिरहेको छ । कोभिड महामारीबीच हुन लागेको निर्वाचनमा रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार ७७ वर्षीय जो बाइडेन अगाडि देखिएको राष्ट्रिय मत सर्वेक्षणले देखाएका छन् । विभिन्न राज्यमा चुनावीसभा जारी छन् ।

ट्रम्पको साथ छोड्दै जोन्सन

निर्वाचनमा बेलायतले अग्रपंक्तिमा रहेका ठानिएका बाइडेनलाई समर्थन गर्ने समाचार प्रकाशमा आएको छ । प्रधानमन्त्री बोरिस जोन्सन समूहले ट्रम्प पुनः निर्वाचित हुने सम्भावना न्यून भएपछि बाइडेनलाई पछ्याउन सुरु गरेको बेलायती अखबार डेली मेलले दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र न्युयोर्कमा जन्मिएका जोन्सनबीच निकट सम्बन्ध रहेको ठानिन्छ । धेरैले उनीहरूलाई एकै प्रकृतिको भनेरसमेत दाँज्ने पनि गरेका छन् । जोन्सनलाई ‘ब्रिटिस ट्रम्प’ भनेर पनि सम्बोधन गरेको सुनिन्छ । उनीहरूको आप्रवासीप्रतिको दृष्टिकोण, व्यक्तिगत जीवनमा उतारचढाव, शैक्षिक तथा राजनीतिक पृष्ठभूमि र कपालसमेत एकै खालको भनेर टिप्पणी हुने गर्छ । जातीय, इस्लामविरोधी र लैंगिक अभिव्यक्तिले पनि दुवै जना बेलाबेलामा विवादमा समेत आउने गरेका छन् ।

दुवै जनाले बिनासम्झौता बेलायत ईयूबाट बहिर्गमन हुनुपर्नेमा जोड दिँदै आएका थिए । ट्रम्पले ब्रेक्जिटपछि बेलायतले अमेरिकासँगको व्यापार सम्बन्ध थप विस्तार गर्ने बताउँदै आएका छन् । ईयूपछि बेलायतको दोस्रो ठूलो व्यापार सम्बन्धका साथै बेलायतसँग सामरिक महत्त्व राख्ने देश मानिन्छ अमेरिका ।

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री नहुँदै बोरिस जोन्सन राम्रो प्रधानमन्त्री हुन सक्ने र ब्रेक्जिट वार्तामा युरोपियन युनियनका कट्टर आलोचक नाइजेल फराजलाई पनि सामेल गर्नुपर्ने भनिदिएका अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको भन्दै आलोचनासमेत भएको थियो ।

अमेरिकी डेमोक्र्याट्सहरूले नर्दन आयरल्यान्डसँगको शान्तिसम्झौता (गुड फ्राइडे एग्रिमेन्ट) अवमूल्यन गरे अमेरिका–बेलायत व्यापार सम्झौताका लागि आफ्नो समर्थन नहुने चेतावनी दिइसकेका छन् । बेलायतले युरोपेली संघबाट बाहिरिन गत जनवरीमा आफैंले गरेको सम्झौता प्रतिकूल हुने गरी नयाँ आन्तरिक बजार विधेयक ल्याउने सरकारी कदमको सर्वत्र आलोचना भएको थियो ।

यसअघि बाइडेनले प्रधानमन्त्री जोन्सनले नर्दन आयरल्यान्डसँग सम्बन्धित ब्रेक्जिट बहिर्गमन सम्झौता फुकाए व्यापार वार्ता थन्किने बताएका थिए । गत महिना बाइडेनले बेलायती प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई गत वर्ष हस्ताक्षर भएको बहिर्गमन सम्झौता संशोधन गर्ने अधिकार दिएको भन्दै सामाजिक सञ्जालबाट आक्रमण गरेका थिए । बाइडेनको जित भए अमेरिकासँग व्यापार सम्झौता सहज हुने अपेक्षाले पनि जोन्सनले उनलाई समर्थन गर्न चाहेको कतिपयको विश्वास छ । उता, बेलायत अमेरिका व्यापार सम्झौताको भविष्यबारे अन्योल भइरहँदा बेलायती सांसदहरूले यदि बाइडेन राष्ट्रपति भए त्यो सम्झौता प्रभावित हुने जिकिर गरेका छन् । केही वरिष्ठ सांसदहरूले डेमोक्र्याट्सले ब्रेक्जिट नबुझ्ने र उनीहरूले ईयूको पक्ष लिने चेतावनी दिएको बेलायती अखबारहरूले उल्लेख गरेका छन् ।

गत वर्षको जुन ३ देखि ५ सम्म भएको राष्ट्रपति ट्रम्पको तीनदिने राजकीय बेलायत भ्रमण विवादित भएको थियो । ट्रम्पविरुद्ध ब्रिटिस जनताले उग्र प्रदर्शन मात्र गरेनन्, बेलायती राजनीतिज्ञसमेत उनको अभिव्यक्तिविरुद्ध खनिए ।

त्यतिबेला बेलायतको प्रतिपक्षी दल लेबर नेता जेरेमी कोर्बिनले ट्रम्पको सम्मानमा बेलायती राजदरबारमा आयोजित स्टेट ब्याङवेट बहिष्कार गरेका थिए । उता ट्रम्प र लन्डन मेयर सदिक खानको वाक्युद्ध पनि सतहमा आएको थियो । ट्रम्पले सदिकलाई ‘स्टोन कोल्ड लुजर’ (जन्मजात हरुवा) भन्दै कटाक्ष गरे भने खानले ट्रम्पलाई ’फासिस्ट’ को संज्ञा दिँदै चर्को आलोचना गरेका थिए । ट्रम्पले अँगालेको नीति रंगभेद तथा सभ्य समाजका लागि अनुपयुक्त भएको टिप्पणी खानको थियो ।

प्रकाशित : आश्विन २६, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?