चीनमा ५ वर्षमा ५ करोड मानिस गरिबी मुक्त

लक्ष्मी लम्साल

बेइजिङ — पाँच वर्षभित्रमा ५ करोडभन्दा बढी ग्रामीण क्षेत्रका जनता गरिबीबाट पूर्णतः मुक्त भएको चीनले दाबी गरेको छ ।

चीनमा ५ वर्षमा ५ करोड मानिस गरिबी मुक्त

चीनको तेह्रौं पञ्चवर्षीय योजना (सन् २०१६-२०२०) भित्रमा यति ठूलो उपलब्धी हात लागेको आइतबार चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् २०१६ मा चीनको गरिबी दर ४.५ प्रतिशत रहेकोमा सन् २०१९ मा ०.६ मा झरेको थियो । चीनले सन् २०२० भित्र समग्र चीनभरिको गरिबी उन्मूलन गर्ने घोषणा गरेको छ । यदि यो योजना सफल भएमा संयुक्त राष्ट्रसंघको सन् २०३० दिगो विकासको एजेण्डा पनि १० वर्ष अगावै चीनले हासिल गरेको हुनेछ ।

चीनको राष्ट्रिय गरिबी संख्या ब्यूरोको तथ्यांक अनुसार यो पञ्चवर्षीय अवधिमा चिनियाँ गरिबको आम्दानीमा व्यापक वृद्धि भएको छ । सन् २०१६ मा प्रतिव्यक्ति आय ४ हजार १ सय ४२ युआन (चिनियाँ मुद्रा) रहेकोमा सन् २०१९ मा ९ हजार ५७ युआन पुगेको छ । आयको औसत वार्षिक वृद्धिलाई ३० प्रतिशतमा पुर्याएको चीनले गरिब लक्षित आयमूलक संरचनालाई सरलीकृत गरेको र जनता स्वयं गरिबीबाट मुक्त हुने उपायहरू अवलम्बन गरेको छ ।

चीनको गरिबी निवारणको रणनीतिलाई विश्वका विभिन्न अर्थशास्त्रीहरूले उच्च प्रशंसा गर्न थालेका छन् । यस वर्ष कोरोना महामारीका कारण चीनले वार्षिक वृद्धिदर निश्चित गरेको छैन भने आर्थिक गतिविधि तुलनात्मक सुस्त भएको छ । यद्यपि महामारी नियन्त्रणमा सफल हुँदै गएको चीनले आर्थिक उत्पादनलाई पुनः तीव्रता दिन थालेको छ ।

प्रकाशित : आश्विन २५, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?