कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘ह्वाइटहाउसको भेलाबाट कोरोना’

सेप्टेम्बर २६ मा गरिएको कार्यक्रममा सहभागी भएकामध्ये ११ जनामा भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
एजेन्सी

वासिङ्टन — अमेरिकाका वरिष्ठ संक्रामक रोगविज्ञ एन्थोनी फाउचीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने गरी दुई साताअघि एक भेला आयोजना गरेको भन्दै राष्ट्रपति कार्यालय ह्वाइटहाउसको कडा आलोचना गरेका छन् । 

‘ह्वाइटहाउसको भेलाबाट कोरोना’

ह्वाइटहाउसको कोरोना भाइरस कार्यदलका सदस्यसमेत रहेका फाउचीले गत सेप्टेम्बर २६ को भेलालाई ‘कोरोना भाइरस फैलाउने कार्यक्रम’ को संज्ञा दिएका छन् । उक्त भेलामा सहभागी भएकामध्ये ११ जनामा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । सीबीएस न्युजसँग कुरा गर्दै फाउचीले उक्त कार्यक्रममा भीड रहेको र सहभागीहरूले मास्क नलगाएको बताएका छन् । ‘सार्वजनिक भएका तथ्यांकले नै सबै कुरा बोल्छ । उक्त कार्यक्रमबाट नै भाइरसको संक्रमण फैलिएको हो,’ उनले भनेका छन् ।

उक्त भेलामा एमी कोनी बारेटलाई सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएको जनाइएको थियो । कार्यक्रममा सहभागी राष्ट्रपति ट्रम्पका साथै प्रथम महिला मेलानिया, दुई जना सिनेटर, ह्वाइटहाउसका प्रेस सचिव र ट्रम्पका पूर्वकाउन्सिलरलगायतमा भाइरसको संक्रमण पुष्टि भएको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त भेलाबाट फैलिएको संक्रमण हालसम्म ह्वाइटहाउसमा कार्यरत कम्तीमा अन्य ३४ जनामा फैलिइसकेको छ । कोरोना संक्रमित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि निको हुँदै छन् । उनी तीन दिनको उपचारपछि गत सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । चिकित्सकहरूले उनलाई सार्वजनिक कार्यक्रम गर्न अनुमति दिएको बीबीसीले जनाएको छ ।

नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावमा ट्रम्पले डेमोक्र्याटिक दलका जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन् । दुई प्रतिस्पर्धीबीच आगामी साता हुने भनिएको दोस्रो राष्ट्रपतीय बहस आधिकारिक रूपमै रद्द भएको छ ।

राष्ट्रपति ट्रम्पले अक्टोबर १५ मा मियामीमा हुने भर्चुअल बहसमा भाग नलिने बताएपछि दोस्रो बहस स्थगित गरिएको हो । ‘प्रतिद्वन्द्वी जो बाइडेनलाई बचाउन भर्चुअल बहस राखिएको’ दाबी गर्दै ट्रम्पले भाग लिन अस्वीकार गरेका हुन् । ट्रम्पको चुनावी अभियान प्रबन्धक बिल स्टेपियनले ‘बहसको सट्टामा बरु राष्ट्रपतिले र्‍याली गर्ने’ बताएका थिए ।

प्रकाशित : आश्विन २५, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?