३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सीबीआईका पूर्वनिर्देशक अश्विनी कुमार मृत भेटिए, आत्महत्याको आशंका

अश्विनी कुमारले आरुषी–हेमराज हत्या प्रकरणमा नेपालीहरुलाई निर्दोष ठहर गर्दै छानबिनलाई नयाँ मोड दिएका थिए ।
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्ली छेउको नोयडामा बाह्र वर्षअघि भएको आरुषी–हेमराज हत्या प्रकरणमा नेपालीहरुलाई निर्दोष ठहर गर्दै छानबिनलाई नयाँ मोड दिने भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) का तत्कालीन प्रमुख अश्विनी कुमार बुधबार साँझ हिमाचलको राजधानी, सिमलास्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन् ।

सीबीआईका पूर्वनिर्देशक अश्विनी कुमार मृत भेटिए, आत्महत्याको आशंका

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले ‘आत्महत्या’ गरेको आंशका गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार स्थानीय प्रहरीले ६९ वर्षीय कुमारलाई सिमलास्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा फेला पारेको हो । प्रहरीले घटनास्थलबाट सुसाइड नोटसमेत बरामद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त नोटमा कुमारले आफू जीवनबाट निराश भएको उल्लेख गरेको बताइएको छ ।

कुमारलाई सन् २०१३ मा तत्कालीन भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको सरकारले नागाल्याण्ड राज्यको राज्यपाल बनाएको थिया । सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व सरकारपछि भने उनी राज्यपालबाट हटेका थिए । र, पछि केही समय उनी एपीजी गोयल सिमला विश्वविद्यालयको कुलपति पनि रहेका थिए । सन् २०१८ मा कुलपतिबाट राजीनामा दिएपछि उनी सिमलामै अवकास जीवन बिताइरहेका थिए ।

उनी सन् २००८ देखि २०१० सम्म सीबीआईको प्रमुख रहेका थिए । उनकै पालामा सीबीआईले आरुषी–हेमराज हत्या, शोहराबुद्दीन नक्कली भिडन्त र कमनवेल्थ गेम्सको भ्रष्टाचार अनुसन्धान गरेको थियो । सीबीआईले गुजरात राज्यका तत्कालीन गृहमन्त्री अमित शाह (हाल केन्द्रीय गृहमन्त्री) विरुद्ध शोहराबुद्दीन घटनामा दोषी देखाउँदै मुद्दा दायर गरेको थियो । यद्यपि पछि अदालतले शाहलाई निर्दोष ठहर गऱ्यो ।

अश्विनी सीबीआई प्रमुख रहेकै बेला आरुसी–हेमराज घटनाको अनुसन्धानले नयाँ मोड लिएको थियो । १६ मे २००८ को राति नयाँदिल्लीको नोयडामा भएको डाक्टर राजेश तलवार र नुपूर तलवारकी १४ वर्षीया छोरी आरुषीको घाँटी रेटेर हत्या भएको थियो । सुरुमा प्रहरीले आरुषीको हत्या सोही घरमा काम गर्ने ४५ वर्षीय नेपाली नागरिक हेमराजले गरेको आशंका गरेको थियो । तर, आरुषीको हत्याको भोलिपल्ट नै हेमराजको शवसमेत तलवार निवासकै छतमा बरामद भएपछि हत्याकाण्ड रहस्यमय बन्न पुग्यो । घटनाको अनुसन्धान सुरुमा स्थानीय नोयडा प्रहरीले गरे पनि पछि सीबीआईले जिम्मा लिएको थियो ।

सीबीआई सहनिर्देशक अरुण कुमार नेतृत्वको पहिलो अनुसन्धान टोलीले घटनामा कृष्ण, राजकुमार र विजयलगायतका नेपाली कामदारलाई दोषी ठहर गरेको थियो । उक्त टोलीले घटनामा खुकुरीको प्रयोग भएको र त्यो नेपाली हतियार भएको हुँदा कृष्णलगायतले हत्या गरेको दाबी गरेको थियो । तर पछि निर्देशक अश्विनी कुमारले उक्त निष्कर्षलाई खारेज गर्दै अर्को विशेष टोली गठन गरेका थिए । उक्त टोलीले भने आरुषीका आमाबुबालाई शंकाको घेरामा तानेको थियो । पछिल्लो टोलीकै अनुसन्धानलाई आधार बनाएर सीबीआईले विशेष अदालतमा मुद्दा दायर गरेको थियो

उक्त मुद्दामा अन्तिम फैसला गर्दै गाजियाबादस्थित सीबीआईविशेष अदालतले तलवारल दम्पतीलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो । र, उनीहरु जेल चलान भएका थिए । तर इलाहावाद उच्च अदालतले उक्त फैसलालाई खारेज गर्दै तलवार दम्पतीलाई सफाइ दिएको थियो । अदालतको उक्त निर्णयसँगै करिब चार वर्ष कैद भुक्तान गरेर अक्टोबर २०१७ मा तलवार दम्पती जेलमुक्त भएका थिए । त्यतिमात्र होइन, उच्च अदालतले आफ्नो फैसलामा यसअघि सीबीआईले निर्दोष ठहर गरेका नेपाली कामदारहरुलाई नै शंका घेरामा तानेको थियो । उच्च अदालतको उक्त फैसला पूर्वाग्रही रहेको भन्दै दिल्लीस्थित नेपाली समुदाय र तिनका संगठनले विरोध गर्दै आएका छन् ।

यसैबीच गत फागुनमा भारतको सर्वोच्च अदालतले भारतको सीबीआई र खेमकला बन्जाडेले इलाहाबाद उच्च अदालतको राजेश र नुपुर तलवारलाई छोरी आरुषी र घरेलु कामदार हेमराज बन्जाडेको हत्यामा सफाइ दिने फैसलाविरुद्ध दिएको निवेदनमाथि सुनुवाइ गर्ने आदेश दिएको थियो । सर्वोच्च अदालतको उक्त निर्णयसँगै बहुचर्चित आरुषी हत्या प्रकरणमाथि करिब एक दशकपछि पुन: अदालती दाउपेच सुरु हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश रन्जन गोगोईको इजलासले खेमकला र सीबीआई दुवैको दिएको निवेदनलाई स्वीकार गर्दै एकैसाथ हेर्ने आदेश थियो । उनीहरुलाई सफाइ दिने इलाहाबाद उच्च अदालतको फैसलाविरुद्ध भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले गत ८ मार्चमा दिएको निवेदन थियो । उक्त निर्णयविरुद्ध हेमराजकी श्रीमती खेमकलाले पनि यसअघि नै निवेदन दिएकी थिइन् ।

प्रकाशित : आश्विन २२, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?