३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

युरोपमा कोरोनाको दोस्रो लहर

नवीन पोखरेल

लन्डन — कोरोना भाइरस (कोभिड–१९) का कारण युरोपेली मुलुकहरू फेरि प्रभावित हुन थालेका छन् । दोस्रो लहर सुरु भएसँगै ती मुलुकमा थप प्रतिबन्ध घोषणा गरिएको छ ।

युरोपमा कोरोनाको दोस्रो लहर

बेलायतमा शनिबार एकै दिन संक्रमित संख्या झन्डै दोब्बर १२ हजार ८ सय ७२ पुगेको छ । यद्यपि प्राविधिक समस्याका कारण गणनामा त्रुटि भएको सरकारले दाबी गरेको छ । शनिबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार बेलायतमा कुल संक्रमित संख्या ४ लाख ८० हजार १७ पुष्टि भएको छ ।

सोही दिन फ्रान्समा १६ हजार ९ सय ७२ जना संक्रमित भएका छन् भने नेदरल्यान्ड्समा २४ घण्टामा ३ हजार ९ सय ६७ र बेल्जियममा ३ हजार एक सय ७५ जना संक्रमित भएको प्राप्त तथ्यांकमा उल्लेख छ । युरोपमा सबैभन्दा बढी जनसंख्या भएको रसियामा ९ हजार ८ सय ५९ जना संक्रमित भएका छन् । जुन गत मे यताकै उच्च हो । बेलायतमा पछिल्लो २४ घण्टामा थप ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय १७ पुगेको छ । हालसम्म बेलायतमा ४ लाख ८० हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि शनिबारदेखि नर्दन इंग्ल्यान्डका केही भागमा थप प्रतिबन्ध लागू गरिएको छ । अब त्यस क्षेत्रका लिभरपुल सिटी, हार्टलपुल, मिडल्सबरो र वारिंगटनमा एक घरका मानिसले अर्को घर परिवारलाई भेट्न नपाउने भएका छन् । योसहित इंग्ल्यान्डको एक तिहाइ भाग अहिले कडा प्रतिबन्धमा छ ।

यसैसाता न्यु क्यासल, नर्थ उम्बरल्यान्ड, गेट्सहेड, नर्थ टाइनसाइड, साउथ टाइनसाइड, सन्डरल्यान्ड र डरहाम काउन्टीसहित नर्थ वेल्सका चार क्षेत्रमा थप प्रतिबन्ध लगाइएको छ । न्यु क्यासलको नर्थ उम्ब्रिया विश्वविद्यालय अध्ययनरत ७ सय ७० विद्यार्थीलाई कोरोना पोजिटिभ भएपछि नयाँ प्रतिबन्ध लागू गरिएको हो ।

बेलायतमा कोरोना भाइरस संक्रमण दर बढिरहेको बीबीसीले जनाएको छ । आर भनिने कोरोना भाइरस प्रजननदर गत साता १.२ देखि १.५ रहेकामा अहिले एक दशमलव ६ पुगेको बताइएको छ । प्रजनन दर इंग्ल्यान्डको लन्डनमा सबैभन्दा उच्च छ भने नर्थ इस्ट र योर्कसायरमा एक दशमलव २ देखि एक दशमलब ६ हाराहारी छ । बर्लिन, ब्रसेल्स, डब्लिन र पेरिसमा जमघट बढेपछि संक्रमण बढेको बताइएको छ । युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले गत बिहीबार आफ्नो साप्ताहिक प्रतिवेदनमा युरोपेली मुलुकमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको जनाएको थियो ।

फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभियर भेरानले पेरिसको अवस्था झन् खतरनाक भएको भन्दै पुनः लकडाउनको सम्भावना औंल्याएका छन् । पोल्यान्डमा शनिबार २ हजार ३ सय ६७ केस भेटिएका छन् भने इटालीमा शनिबार अप्रिल २४ यताकै उच्च २ हजार ८ सय ४४ नयाँ केस थपिए । जर्मनीमा गत शुक्रबार २ हजार ६ सय ६ केही दिनअघि जर्मन चान्सलर एन्जेला मर्केलले यो वर्षको अन्त्यसम्म आफ्नो देशमा दैनिक १९ हजार बढी संक्रमण हुन सक्ने चेतावनी दिएकी थिइन् ।

संक्रमण बढेसँगै स्पेनिस राजधानी म्याड्रिड पुनः लकडाउनमा गएको अखबारले जनाएका छन् । त्यहाँ जागिर, पढाइ र अन्य स्वास्थ्यसम्बन्धी कामबाहेक आफ्नो ठाउँबाट बाहिर ननिस्कन, ६ जनाभन्दा बढीको जमघट नगर्न, बार रेस्टुरेन्ट १० बजेअघि नै बन्द गर्न र ग्राहक ५० प्रतिशत कम गर्न भनिएको छ ।

बेलायतस्थित जनस्वास्थ्यविद् डा. विभु पौड्यालले बेलायतमा केही दिन स्थिर देखिएको संक्रमण दर फेरि ह्वात्तै बढ्न थालेको बताए । विश्वविद्यालय र स्कुल खोल्नुको परिणाम संक्रमण बढेको बताउँछन् पौड्याल । उनले संक्रमण यस्तै बढिरहे युनिभर्सिटीहरूले पुनः अनलाइन कक्षा सुरु गर्न सक्ने सम्भावना देख्छन् ।

प्रकाशित : आश्विन १९, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?