‘अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएन’

एजेन्सी

काबुल — अफगानिस्तानको विद्रोही समूह तालिवानले अमेरिका र आफूहरूबीच भएका सम्झौता अफगान सरकारले स्वीकार गर्न नचाहेको आरोप लगाएको छ ।

‘अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएन’

अफगान सरकारसँगको शान्तिवार्तामा तालिवानका तर्फबाट सहभागी खैरुल्लाह खैरख्वाले आफूहरू अमेरिकासँग भएको सम्झौताबमोजिम वार्तामा बसेको भए पनि सरकार वार्ताप्रति गम्भीर नदेखिएको दाबी गरे ।

‘फेब्रुअरी २९ मा तालिवान र अमेरिकाबीच भएको सम्झौतालाई मान्यता दिन अफगान सरकारले हिच्किचाइरहेको छ,’ उनले भने, ‘विवादको चुरो भनेकै अफगान सरकारले तालिवान–अमेरिकाबीचको सहमतिलाई बेवास्ता गर्न खोज्नु हो ।’ तालिवान र अमेरिकाबीचको सम्झौताले अन्तर अफगान वार्ताका लागि ढोका खोलेको थियो ।

सम्झौताबमोजिम एकअर्काका कब्जामा र जेलमा रहेका युद्धबन्दीहरू मुक्त गरिएका थिए । केही महिनाको ढिलाइका बाबजुद अफगान सरकार र तालिवानबीच सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा वार्ता जारी छ । दुवै पक्षबीच वार्ता जारी रहेका भए पनि अफगानिस्तानमा हिंसात्मक घटना जारी छन् ।

यसैबीच, अफगान शान्तिवार्ताबारे पाकिस्तानी उच्च पदाधिकारीसँग छलफल गर्न अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषद्का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाह तीनदिने भ्रमणका क्रममा पाकिस्तान पुगेका छन् । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार अब्दुल्लाहका साथ उच्चस्तरीय अफगान प्रतिनिधिमण्डलसमेत रहनेछ । अब्दुल्लाहले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।

प्रकाशित : आश्विन १३, २०७७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?