ट्रम्पको आयकर ७५० डलर !- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्पको आयकर ७५० डलर !

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा संघीय आयकरबापत जम्मा ७ सय ५० डलर मात्र तिरेको तथ्य सार्वजनिक भएको छ । ट्रम्प सोही वर्ष अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


अमेरिकी अखबार न्युयोर्क टाइम्सले ट्रम्पले विगत १५ वर्षमध्ये १० वर्ष कत्ति पनि आयकर नतिरेको आरोप पनि लगाएको छ । अखबारले आफूलाई प्राप्त ट्रम्प र उनको कम्पनीहरूको दुई दशक अवधिको करसम्बन्धी अभिलेखबाट उक्त तथ्य फेला परेको जनाएको हो ।

त्यस्ता कर अभिलेखले ‘निरन्तरको घाटा र वर्षौंको कर छली’ उजागर गरेको अखबारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बीबीसीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समाचारलाई फेक न्युज (मिथ्या समाचार) भनेका छन् ।

‘वास्तवमा मैले कर तिरेको छु । मेरो कर भुक्तानीसम्बन्धी विवरण आउनेबित्तिकै तपाईंले त्यो देख्नुहुनेछ । यसबारे हाल लेखा परीक्षण भइरहेको छ । मेरो कर भुक्तानीसम्बन्धी विवरणहरू लामो समयदेखि लेखा परीक्षणमा छन्,’ आइतबार न्युयोर्क टाइम्समा समाचार प्रकाशित भएपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने ।

प्रकाशित : आश्विन १३, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

मुटुलाई माया

यही अप्ठ्यारो समयमा मुटुलाई अरू बेलाको भन्दा बढी ध्यान दिन जरुरी छ । कोरोना भाइरसले मुटुको मांसपेशीको तन्तुभित्र छिरेर त्यसको बनावटै बिगार्छ । यही कारण कोभिड र मुटुरोगलाई तरबारका दुइटा धारजस्तो मानिन्छ ।
अवनिभूषण उपाध्याय

मुटुसम्बन्धी रोगका कारण संसारभरि हरेक वर्ष १ करोड ७९ लाख मानिसको मृत्यु हुन्छ । यो एक वर्षमा संसारभरि हुने मृत्युको ३१.५ प्रतिशत हो । यो तथ्यले मुटुको हेरचाह किन महत्त्वपूर्ण छ भन्ने  बताउँछ । मुटुरोगको उपचार ज्यादै महँगो हुने भएकाले हाम्रो जस्तो निम्न आय भएको मुलुकलाई यससम्बन्धी पूर्वाधार बनाउन निकै गाह्रो छ ।

त्यसकारण यो रोग लाग्न नदिनु नै उत्तम उपचार हो । विश्व मुटु दिवस सेप्टेम्बर २९ मा मनाइन्छ । यसपालि ‘मन लगाऔं, मुटु बचाऔं’ नाराका साथ मुटुसम्बन्धी जनचेतना बढाउन यो दिवस मनाइँदै छ ।

कोरोना महामारीले हाम्रो समाजलाई कस्तो अवस्थामा पुर्‍याउँछ भन्ने आकलन अहिल्यै गर्न कठिन छ । मुटुरोगीलाई कोभिडले अन्य रोगीको तुलनामा बढी असर गर्छ । कोभिड निको भइसकेपछि पनि मुटुमा यसको असर रहिरहन्छ भन्ने तथ्य थुप्रै अध्ययनले प्रस्तुत गरेका छन् । कोभिड र मुटुको सम्बन्धबारे थप अध्ययन हुन बाँकी नै छ । धेरै नयाँ कुरा बाहिर आइरहेका छन् । यही अप्ठ्यारो समयमा अरू बेलाको भन्दा बढी ध्यान मुटुलाई दिन जरुरी छ । कोरोना भाइरसले मुटुको मांसपेसीको तन्तुभित्र छिरेर त्यसको संरचनाको बनावटै बिगार्छ । यही कारण कोभिड र मुटुरोगलाई तरबारका दुइटा धारजस्तो मानिन्छ ।

मुटुलाई ठीक अवस्थामा राखे अन्य रोगबाट पनि बच्न सहज हुन्छ । अहिले कोरोनाका कारण बाहिर डुल्न गाह्रो भएकाले घरमै व्यायाम गर्नुपर्छ । मुटुको स्वास्थ्यका लागि हप्तामा पाँच पटक ३० मिनेट साधारण व्यायाम गर्दा हुन्छ । नाचगान, योग, ध्यान, खेलकुद र साइकल चढ्ने बानी उपयोगी देखिएको छ । अहिलेको अस्वाभाविक अवस्थामा आफ्नो र परिवारका सदस्यको स्वास्थ्यप्रति चनाखो हुनुपर्छ । सकेसम्म परिवारका सबै सदस्यलाई व्यायामका लागि प्रोत्साहन गर्नुपर्छ । मुटुसम्बन्धी जानकारी बटुलेर अरूलाई पनि बाँड्नु आवश्यक छ ।

हाम्रो मुटु एक दिनमा १,१५,२०० पटक धड्किन्छ । शरीरका ७५ ट्रिलियन तन्तुमा रगत पुर्‍याउँछ । रहनसहन, जीवनपद्धति स्वस्थ राखे मुटु स्वस्थ हुन्छ । त्यसपछि व्यक्ति, समाज र देशको स्वास्थ्य ठीक हुन्छ । उच्च रक्तचाप, रगतमा चिल्लो पदार्थको अधिकता, मधुमेह, धूमपान, अधिक मद्यपान, मोटोपन, शारीरिक व्यायामको कमी, फलफूलको कम सेवन, अनावश्यक चिन्ता, डिप्रेसन आदिका कारण मुटुरोग लाग्छ । यस्ता कारक तत्त्वबाट हामी बच्नुपर्छ । कुनै व्यक्तिले चाह्यो भने मुटुरोगलाई सहजै कम गर्न सक्छ । संस्थागत रूपमै जनचेतना बढाए झन् उत्तम । यो रोग अचेल युवा पुस्तालाई बढी लाग्न थालेको छ, जुन चिन्ताको विषय हो । समाजलाई चलायमान बनाउन युवाको बढी आवश्यकता पर्छ । युवाले परिवारको आर्थिक जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन्छ । यदि यो अवस्थामा मुटुरोगले सतायो भने उसको परिवारलाई कति मानसिक, आर्थिक, सामाजिक भार पर्छ भन्ने कल्पनै गर्न सकिन्न । अन्य देशले नागरिकलाई स्वस्थ बनाउन निकै मिहिनेत गरेका छन् । र, मुटुरोगलाई नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् । हामीले पनि चाह्यौं भने यो रोगलाई नियन्त्रण गर्न सम्भव छ ।

जन्मजात मुटुरोग, बाथबाट हुने मुटुरोग र हार्ट अट्याक मुख्य मुटुरोग हुन् । मुटुको मांसपेसीलाई जरुरतअनुसार रक्तसञ्चार नहुने अवस्थालाई हार्ट अट्याक भनिन्छ । जुन ठाउँमा रगत पुग्दैन या रक्तसञ्चार बन्द हुन्छ, त्यो ठाउँ मर्छ र यही मरेको अवस्थालाई इनफार्कसन भनिन्छ । माथि उल्लिखित मुटुरोगका कारक तत्त्वहरूबाट मुटुका धमनीहरू साँघुरिँदै जान्छन् अनि त्यहाँ रक्तप्रवाह कम हुन्छ । यो अवस्थालाई अल्प रक्त प्रवाह (इस्केमिया) भनिन्छ । त्यो प्रवाह पूरै रोकिएर हुने मुटु मांसपेशीको मृत्युले ज्यान जोखिममा पार्न सक्छ ।

आफ्नै कोसिसबाट हामी यो रोगबाट छुटकारा पाउन सक्छौं । मुटुलाई साक्षी राखेर यसको रक्षा गर्ने प्रण हरेक व्यक्तिले गर्नुपर्छ । मुटुरोग नियन्त्रण गर्न सकिन्छ र उपाय घरमै छ भन्ने विषयलाई भुल्नु हुन्न । मुटुसम्बन्धी रोग लागिहाले पनि निराश र हताश हुनु हुन्न । यो रोगबाट बचाउन सक्ने पद्धतिहरू मुलुकमा उपलब्ध छन् । प्रायः सहरी क्षेत्रमा मुटुरोगको उपचार गर्ने प्रविधि छन् । कसरी यो रोगको रोकथाम, उपचार गर्ने भन्नेबारे सरकारी र गैरसरकारी क्षेत्रबाट काम भइरहेको छ । तर उपचारका लागि चाहिने प्रविधिलाई दुर्गम क्षेत्रमा पुर्‍याउन बाँकी छ । धेरै अस्पतालमा यो सेवा उपलब्ध हुन सकेको छैन । उपलब्ध भए पनि आममानिसको पहुँचबाहिर छ । यसबारे सरोकारवाला निकायले सोच्नुपर्छ । मुटु बचाउने महाभियानको थालनी छिटै गर्नुपर्छ ।

मुटुरोगको उपचारपछि पनि दैनिक जीवन राम्रोसँग चलाउन सकिन्छ । रोग लाग्नुअगाडिको भन्दा पछिको जीवन सप्रिएका उदाहरण प्रशस्तै छन् । धूमपान र मद्यपानको लत छुटेर धेरैको जीवनशैलीमा सुधार आएको छ । नियमित व्यायाम गर्ने र नुन/चिनी कम खाने बानी बसाल्नु अपरिहार्य छ । खुसीका साथ बसे, सकारात्मक सोच राखे मुटुको धड्कन ठीकठाक चल्छ । मुटुलाई माया चाहिन्छ ।

(उपाध्याय मुटु रोग विशेषज्ञ हुन् ।)

प्रकाशित : आश्विन १३, २०७७ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×