कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपक्षीलाई बेवास्ता गर्दै अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरूको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका छन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुन: निर्वाचित हुन मद्दत गर्ने अपेक्षा ट्रम्पको छ ।

विपक्षीलाई बेवास्ता गर्दै अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन

उनले पूर्वअमेरिकी न्यायाधीश एन्टोनिन स्कालियाको सहयोगीका रूपमा समेत कार्य गरेकी थिइन् । स्कालियाको न्यायिक दर्शनबाट प्रभावितसमेत रहेको जनाउँदै उनले सर्वोच्च अदालतको न्यायाधीशका रूपमा मनोनयनमा परेकामा खुसी भएको बताइन् ।

अमेरिकी माथिल्लो सदन सिनेटले उक्त नियुक्ति सदर गरेको खण्डमा ४८ वर्षीया ब्यारेटले हालै निधन भएकी सुधारवादी न्यायाधीश रुथ बाडर गिन्सबर्गको स्थानमा जिम्मेवारी सम्हाल्नेछिन् ।

रिपब्लिकन राष्ट्रपतिहरूले नियुक्त गरेकी उनी छैटौं न्यायाधीश हुन् । राष्ट्रपति ट्रम्पले मात्रै तीन जना न्यायाधीश नियुक्त गरिसकेका छन् । अमेरिकी सर्वोच्च अदालतमा नौ जना न्यायाधीश हुने व्यवस्था छ ।

राष्ट्रपति ट्रम्पले न्यायाधीशका लागि चयन गर्नुअघि ब्यारेटको व्यक्तिगत विवरण राम्रोसँग हेरेको बताउँदै उनी बौद्धिक र उच्च आचरणयुक्त भएको जनाए । रिपब्लिकन पार्टीका सिनेटरहरूले आगामी नोभेम्बर ३ अघि नै सुनुवाइ प्रक्रिया पूरा गर्न आतुर रहेको बताइरहेका छन् ।

ब्यारेटको मनोनयन पूरा हुन सके सर्वोच्च अदालतको बहुमत दक्षिणपन्थी धारमा जाने भन्दै चौतर्फी विरोध र आशंका व्यक्त गरिएको छ । राष्ट्रपति ट्रम्पले भने ब्यारेटको मनोनयनलाई सिनेटले अनुमोदन गरे आफूलाई राष्ट्रपति निर्वाचित गर्न ठूलो मद्दत पुग्ने विश्वासमा रहेका विश्लेषकहरूको भनाइ छ ।

सन् २०१६ मा रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले तत्कालीन राष्ट्रपति बाराक ओबामाले प्रस्ताव गरेका न्यायाधीश मरिक गार्लान्डलाई चुनावी वर्ष भन्दै अनुमोदन गर्न अस्वीकार गरेको थियो । तर यस पटक रिपब्लिकनको त्यही अडान फेरिएको छ । राष्ट्रपतीय चुनाव हुन ६ साताभन्दा छोटो अवधिमा न्यायाधीश नियुक्तिलाई सदर गर्न सिनेटमा तयारी हुँदै छ ।

सिनेटमा बहुमत पार्टीका नेता मिच म्याककोनेलले सिनेटले आगामी साता ब्यारेटको नियुक्ति सदर गर्ने दाबी गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ट्रम्प र रिपब्लिकन पार्टीले बेइमानी गरेको आरोप लगाएका छन् ।  

प्रकाशित : आश्विन १२, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?