कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको निधन

भारतको रक्षा, अर्थ र विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेका जसवन्त सिंहलाई जिन्‍नाको प्रशंसा गर्दा र बागी उम्मेदवार बन्दा बीजेपीले दुई पटक पार्टीबाट निष्कासित गरेको थियो ।
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको आइतबार निधन भएको छ । ६ वर्षदेखि कोमामा रहेका सिंहको आइतबार नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको निधन

८२ वर्षीय सिंह ६ वर्षअघि बाथरुममा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएका थिए । त्यही बेलादेखि उनी कोमामा थिए ।

भारतीय जनता पार्टीका संस्थापक सदस्य जसवन्त सिंह अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेश, रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी राजनीतिमा आउनुअघि भारतीय सेनाका मेजर रहेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै पूर्वमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘जसवन्त सिंहले हाम्रो मुलुकको सेवा दत्तचित्तका साथ निभाउनुभयो । पहिले उहाँले सैनिकका रुपमा पछि लामो समय राजनीतिमाफर्त देशको सेवा गर्नुभयो । अटलजीको सरकामा उहाँले महत्वपूर्ण विभाग सम्हाल्नुभयो र अर्थ, रक्षा र विदेश मामिलामा विश्वमै एक बलियो छाप छोड्नुभयो । उहाँको निधनबाट दुःखी छु ।’

सन् २००४ देखि २००९ सम्म जसवन्त सिंह भारतको माथिल्लो सदन राज्यसभामा विपक्षी दलका नेता थिए । त्यस्तै सन् २००९ मा उनी दार्जीलिङबाट भारतीय लोकसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २०१४ को लोकसभा चुनावमा भने उनलाई भारतीय जनता पार्टीले टिकट दिएको थिएन । पार्टीले टिकट नदिएपछि उनी राजस्थानको बारमेर–जैसलमेर क्षेत्रबाट स्वतन्त्र रुपमा चुनाव लडे तर पराजित भए । लगत्तै उनलाई बीजेपीले पार्टीबाट निष्कासित गरेको थियो ।

सिंह बीजेपीभित्र मुखर राजनीतिज्ञका रुपमा चिनिन्थे । त्यसअघि सन् २००९ मा ‘जिन्ना : इन्डिया–पार्टिसन इन्डिपेन्डेन्स’ पुस्तकमा मोहम्मद अली जिन्नाको प्रशंसा गरेको भन्दै पार्टीभित्र व्यापक आलोचना भएपछि बीजेपीले उनलाई निष्कासित गरेको थियो । पछि पार्टीले कारबाही फिर्ता गरे पनि सन् २०१४ को लोकसभा चुनावमा बागी उम्मेदवार बनेपछि बीजेपीसँग उनको नाता टुटेको थियो ।

प्रकाशित : आश्विन ११, २०७७ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?