भारतीय प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन

एजेन्सी

चेन्नई — दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । शुक्रबार दिउँसो चेन्नईको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनी ७४ वर्षका थिए । अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ कै कारण निमोनिया जटिल बन्दै गएपछि उनलाई अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सेप्टेम्बर ४ मा गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।

‘मैने प्यार किया’, ‘साजन’, ‘हम आपके हैं कोन’ लगायतका सलमान खानका चलचित्रमा बालासुब्रमण्यमले नै आवाज लिएका थिए । केही वर्ष पहिले आएको ‘चेन्नई एक्सप्रेस’ को टाइटल गीत पनि उनले नै गाएका थिए । ‘हम आपके हैं कोन’ को 'दिदी तेरा देवर दिवाना' बालासुब्रमण्यमले गाएको निकै लोकप्रिय गीत मानिन्छ ।

सन् १९६० को दशकमा गायनमा आफ्नो करियर सुरु गरेका बालासुब्रमण्यमले १६ भाषामा करिब ४० हजार गीत गाएका छन् ।

हिन्दी सिनेमामा भने उनले सन् १९८१ मा ‘एक दूजे के लिए’ चलचित्रका लागि पहिलो पटक गीत गाएका थिए । गीत थियो, ‘तेरे मेरे बीच में कैसा है ये बन्धन अन्जाना’ ।जुन चलचित्रले अभिनेता कमल हसनलाई नेसनल अवार्ड जिताएको थियो । ‘सागर’ चलचित्रको ‘सच मेरे यार है’ तथा ‘ओ मारिया’, ‘मैने प्यार किया’ को ‘दिल दिवाना’, ‘रोजा’ को ‘रोजा जानेमन’ लगायतका सदाबहार गीत बालासुब्रमण्यमका लोकप्रिय गीत हुन् ।

प्रकाशित : आश्विन ९, २०७७ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्

बीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई पुरुषको बिहिबार राति मृत्यु भएको छ । योसहित प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।

प्रतिष्ठानको प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज नगरपालिका–३ का ७० वर्षीय र मोरङको कानेपोखरी–१ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । राजविराजका संक्रमितको भदौ २५ गते गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो । ज्वरो खोकी र निमोनियासँगै स्वासप्रश्वासमा समस्या भएपछि भदौ २८ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी मोरङका पुरुषलाई आन्द्राको क्यान्सरको शल्यक्रियापछि उपचार भइरहेको अवस्थामा कोरोना संक्रमित भएर कोभिड अस्पतालमा भर्ना भएका थिए । प्रतिष्ठानमै यसअघि आन्द्राको क्यान्सरको शल्यक्रिया गरेर उपचार गरिरहेको अवस्थामा फलोअपको क्रममा असोज ५ प्रतिष्ठानको सर्जिकल आईसियूमा भर्ना भएका थिए ।

प्रवक्ता सापकोटाका अनुसार उनी आन्द्राको क्यान्सरकै कारण शरीरको अन्यभागमा पनि क्यान्सर फैलिएको अवस्थामा सर्जिकल आईसियूमा उपचाररत रहेका थिए । उपचाररत अवस्थामा उनको पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि असोज ८ गते कोभिड अस्पतालमा स्थानान्तरण गरिएको प्रवक्ता प्राडा सापकोटाले बतााए ।

मृतक दुवै पुरुषको शवको व्यवस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको प्रवक्ता सापकोटाले बताए ।

प्रकाशित : आश्विन ९, २०७७ १५:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×