कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

समुद्री किनारमा किन फस्छन् ह्वेल ?

नारायण खड्का

सिड्नी — अस्ट्रेलियाको तास्मानियास्थित समुद्री किनारमा सन् १९९७ मा ६३ वटा स्पर्म ह्वेल अलपत्र परेका भेटिए । २५ वर्षअघि भएको उक्त घटनामा कुनै पनि ह्वेललाई उद्धार नगरिएको भए पनि त्यस क्षेत्रलाई सामान्य बनाउन साता बढी लाग्यो ।

समुद्री किनारमा किन फस्छन् ह्वेल ?

सन् २०११ मा २० वटा स्पर्म ह्वेल तास्मानियाको सामुद्रिक किनारमा नै अलपत्र परेर फसेको भेटिएको थियो । जसमध्ये १६ को उद्धार गरिएको भए पनि ४ वटा मरेका थिए । सन १९९६ मा पश्चिम अस्ट्रेलियामा ३ सय २० वटा लंगफिन ह्वेल अलपत्र भेटिएका थिए जसमा २० वटा मात्र बाँच्न सफल बनेका थिए ।

केही दिनअघि तास्मानियाकै पश्चिमी क्षेत्रको सामुद्रिक किनारमा सयौं ह्वेल फँसेको भेटिए । उनीहरूलाई उद्धार गरेर समुद्रमा फर्काउन प्रयास भइरहेको भए पनि ४ सय ७० मध्ये जम्मा ७० लाई मात्र उद्धार सम्भव भयो भने कम्तीमा ३ सय ८० वटा ह्वेल मरे । अस्ट्रेलियाको इतिहासमै पहिलोपटक यति धेरै संख्यामा ह्वेल मरेको भनिए पनि अस्ट्रेलियाको सामुद्रिक किनारमा कहिलेकाहीं ह्वेल फस्नु र मर्नु धेरै नौलो कुरा भने होइन । उक्त क्षेत्रको म्याक्वारी हार्बरमा अलपत्र भेटिएका ह्वेलको उद्धारका लागि जनावरलाई उद्धार गर्ने संस्था लगायतका अन्य अधिकारी लागिपरेका भए पनि अहिलेसम्म ३ सय ८० बढी ह्वेल मरिसकेको उद्धारमा खटिएका तास्मानिया पार्क तथा वाइल्ड लाइफकी उद्धार संयोजक निक डेकाले राष्ट्रिय समाचार संस्था एबीसीलाई बताएका छन् ।

आखिर किन फस्छन् त ह्वेल सामुद्रिक किनारमा ? म्याक्वारी युनिभर्सिटीकी प्राध्यापक डा. भेनेसा पिरोटा ह्वेलले क्लिक र आवाजबाट आफ्नो संसार देख्ने र ध्वनिका माध्यमबाट बाटो तय गर्ने गरे पनि उनीहरू किन सामुद्रिक किनारमा फस्छन् अहिलेसम्म रहस्यमै रहेको बताउँछिन् । उनी आफ्नो बाटो तय गर्ने क्रममा उनीहरू डराएको हुन सक्ने वा उनीहरूमा उत्सुकता भएका कारणसमेत समस्यामा पर्ने गरेको हुन सक्ने सुनाउँछिन् । ‘तर अहिलेको घटना भने ह्वेलको समूहलाई नेतृत्व गरिरहेको एक वा जोडी ह्वेलले गलत बाटो हिँडेको कारण यो समस्या आएको हुन सक्छ,’ उनले भनेकी छन् ।

पार्क, पानी तथा वातावरण विभागका अनुसार गत सोमबारदेखि अलपत्र परेका ह्वेल तास्मानियाको विभिन्न तीन क्षेत्रमा अलपत्र परेका थिए । स्ट्राहन, ओसनबीच र म्याक्वारी हार्बरमा ह्वेलहरू फसेको अवस्थामा भेटिएका हुन् । अस्ट्रेलियाका सामुद्रिक किनारमा हरेक वर्षजसो ह्वेल सामुद्रिक किनारमा अलपत्र परेको अवस्थामा भेटिन्छन् । अस्ट्रेलियामा किन ह्वेल अलपत्र भेटिन्छन भन्नेबारे हालसम्म कुनै तथ्य फेला नपरेको भए पनि मरिन कन्जरभेसन कार्यक्रमका वन्यजन्तु बायोलोजिस्ट डा. क्रिस कार्लियोनले भने खाना खोजी गर्ने क्रममा नै किनारसम्म आइपुगेको र समस्यामा परेको हुन सक्ने सञ्चारमाध्यमलाई बताएका छन् ।

उनले ह्वेल अत्यन्तै सामाजिक जनावर भएको तथा आवाज र बानीव्यहोराले एकअर्कालाई प्रेरित गर्ने भएकाले समेत यो समस्यामा परेको हुन सक्ने बताउँछन् । ‘यिनीहरूको समूहमा हुने व्यवहार अत्यन्तै सबल हुने हुँदा अहिले समस्यामा परेका ह्वेल एकआपसमा प्रेरित भएको हुन सक्छ,’ डा. कार्लियोनले भनेका छन्, ‘तर पनि उनीहरू कसरी यस्तो समस्या परे यसको मुख्य कारण सायदै पत्ता लगाउन सकिएला ।’

युनिभर्सिटी अफ तास्मानियाको इन्स्टिच्युट फर मरिन एन्ड एन्टार्कटिक स्टडीका अनुसार सामान्यतः अस्ट्रेलियामा ह्वेल अलपत्र पर्नु सामान्य मानिए पनि तास्मानियामा ठूलो संख्यामा अलपत्र पर्ने गरेका छन् । डा. पिरोटाले मानिसका भीडभाडका कारणसमेत ह्वेल गलत दिशामा जाने बताउँछिन् ।

प्रकाशित : आश्विन ९, २०७७ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?