कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राष्ट्रसंघीय महासभामा चर्कियो अमेरिका-चीन विवाद

‘कोरोना भाइरसको महामारी फैलिएको विषयमा चीनलाई जवाफदेही बनाउनुपर्छ ।’ -डोनाल्ड ट्रम्प
‘विश्व मामिलामा हाबी हुने र अरुको गन्तव्य नियन्त्रण गर्ने अधिकार कुनै देशसँग छैन ।’ -सी चिनफिङ
एजेन्सी

न्युयोर्क — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कोरोना भाइरस (कोभिड–१९) फैलिनुमा चीन जिम्मेवार रहेको’ बताएपछि राष्ट्रसंघीय महासभामा दुई देशबीचको तनाव थप चर्केको छ । ट्रम्पले भाइरसको महामारी फैलिएको विषयमा चीनलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् । त्यसको प्रतिक्रियामा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘कुनै पनि देशसँग शीतयुद्ध गर्ने चीनको नियत नरहेको’ बताएका छन् ।

राष्ट्रसंघीय महासभामा चर्कियो अमेरिका-चीन विवाद

कोरोना भाइरसको संक्रमणका कारण यस वर्षको महासभा भर्चुअल माध्यमबाट सम्पन्न भइरहेको छ । जसका कारण विश्वका अधिकांश नेताहरूले पहिले नै रेकर्ड गरिएका सन्देशहरू पठाइरहेका छन् ।

महासभालाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ‘चीनले विश्वलाई नै संक्रमित बनाएको’ दाबी गरेका छन् । ‘विश्वलाई नै महामारीमा फसाउने चीनलाई हामीले जवाफदेही बनाउनैपर्छ,’ ट्रम्पले भने । संक्रमणका कारण देशभित्र लकडाउन गरेको चीनले बाह्य उडान बन्द नगर्दार् विश्वमा भाइरस फैलिएको उनको दाबी छ ।

अमेरिका भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित छ । यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै देशभित्र ट्रम्पको निकै आलोचना हुने गरेको छ । जसका कारण आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा ट्रम्पले कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ ।

भाइरसको संक्रमणका कारण अमेरिकामा दुई लाखभन्दा बढीको मृत्यु भइसकेको छ । तर महासभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भाइरस नियन्त्रणका लागि आफूले चालेका कदम प्रभावकारी भएको दाबी गरेका छन् । ‘हामीले विश्वका १८८ देशमा कैयौं मानिसहरूको ज्यान लिएको अदृश्य दुश्मनसँगको भयानक युद्ध लडेका छौं,’ उनले भनेका छन् ।

पछिल्लो समय दुई देशबीच विभिन्न मुद्दाहरूमा चर्को विवाद जारी छ । कोरोना भाइरसको उत्पत्तिका साथै व्यापार, प्रविधि, हङकङ तथा मुस्लिम अल्पसंख्यकलाई चीनले गरेको व्यवहारलगायत मुद्दामा दुई देशबीच गम्भीर मतभेद छ ।

ट्रम्पपछि बोल्दै चिनियाँ राष्ट्रपति सीले चीनले मतभेद र विवादहरूलाई वार्तामार्फत सम्बोधन गर्ने जनाएका छन् । उनले विश्वव्यापी महामारीलाई राजनीतीकरण गर्ने प्रयासलाई विफल पारिदिनुपर्ने बताए । ‘चीन शान्ति, खुलापन, सहकार्य र साझा विकासका लागि प्रतिबद्ध विश्वकै ठूलो विकासोन्मुख मुलुक हो,’ सीले भने । सम्बोधनका क्रममा अमेरिकाप्रति लक्षित गर्दै सीले ‘विश्व मामिलामा हाबी हुने, अरूको गन्तव्य नियन्त्रण गर्ने र विकासको फाइदा आफैसँग राख्ने अधिकार कुनै पनि देशसँग नभएको’ बताए ।

महासभाको उद्घाटन गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कुनै पनि देशका नाम नलिईकन ‘नयाँ शीतयुद्धलाई बेवास्ता गर्न जस्तोसुकै कदम चाल्नुपर्ने’ बताए ।

‘हामी निकै खतरनाक दिशातर्फ गइरहेका छौं,’ उनले भने, ‘दुई ठूला अर्थतन्त्रहरूले व्यापार, आर्थिक नियम तथा कृत्रिम बौद्धिकताका आधारमा गर्ने विश्वव्यापी विभाजन हामीले झेल्न सक्दैनौं ।’

महासभामा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा हतियार निषेध गर्न अन्तर्राष्ट्रिय सन्धिका लागि आह्वान गरेका छन् । उनले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप दिन रुस तयार रहेको समेत बताए ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देशका गलत सूचनाका कारण पीडित भएको दाबी गरे । उनले आफ्नो देशको वातावरणीय नीतिप्रति गरिँदै आएको आलोचना अस्वीकार गरेको बीबीसीले जनाएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले कोरोना भाइरसको रोकथाम तथा उत्तर कोरियासँग शान्ति स्थापनका लागि कदम चाल्नुपर्ने बेला आएको बताए ।

प्रकाशित : आश्विन ८, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?