महामारीमा फर्किएका विदेशीहरू पुनः चीन फर्कन पाउने- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीमा फर्किएका विदेशीहरू पुनः चीन फर्कन पाउने

लक्ष्मी लम्साल

बेइजिङ — सन् २०१९ को अन्त्यतिर देखा परेको कोरोना महामारीका कारण आ-आफ्नो देशमा फर्किएका विदेशीहरू झण्डै ४ महिनापछि चीन फर्कन पाउने भएका छन् ।

चीनको परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय अध्यागमन प्रशासनले बुधबार एउटा सूचना निकालेर प्रक्रिया पुगेका विदेशीहरूलाई पुनः चीन फर्किन सक्ने जनाएको हो ।

यसअघि महामारी नियन्त्रण तथा रोकथामका लागि गत मार्च २६ देखि चीन छोडेका विदेशीहरूलाई अर्को सूचना नभएसम्मका लागि चीनमा फर्किन नमिल्ने अस्थायी सूचना जारी गरिएको थियो । चीनभित्र बसेर काम गर्ने अनुमति पाएका (रेसिडेन्ड परमिट), व्यक्तिगत काम र पारिवारिक पुनर्मिलनका लागि भिसा म्याद बाँकी रहेकाहरूले सिधै र म्याद गुज्रिएकाहरूले पुनः आवेदन दिएर चीनमा फर्किन पाउने तीनवटा अवस्था तोकिएको छ ।

चीनले निकालेको यो सूचनापछि चीनमा रोजगारी गर्ने तर महामारीका कारण नेपाल फर्किएका सानो संख्याका श्रमिकहरू लाभान्वित हुनेछन् । १४ वर्षदेखि चीनमा काम गर्दै आएका दोलखा शैलुङ गाउँपालिकाका बलराम (धनबहादुर) कार्कीले यो सूचना प्राप्त भएपछि पुनः आफ्नो रोजगारीलाई निरन्तरता दिन पाएकाले खुशी लागेको बताए । चीनमा महामारीले उग्र रूप लिएपछि नेपाल सरकारले पठाएको चार्टर्ड उडानबाट कतिपय नेपाली कामदारहरू पनि स्वदेश फर्किएका थिए ।

सेप्टेम्बर २८ तारिख मध्यान्हदेखि विभिन्न ३ प्रक्रिया पार गरेर चीनमा फर्किन पाउने नियम सार्वजनिक गरिएको हो । चीनको यो निर्णयले तत्काल सानो संख्याका नेपालीहरू लाभान्वित हुनसक्ने बेइजिङस्थित दूतावासले जनाएको छ । तर उस्ले अध्ययनका लागि नेपाली विद्यार्थीहरूलाई चीनमा फर्काउने सूचनाको प्रतीक्षा गरिरहेको बताएको छ । दूतावासका मिनिस्टर सुशील लम्सालले भने, ‘अध्ययनका लागि आउनैपर्ने, विशेषगरी चिकित्सा क्षेत्रका विद्यार्थी र नयाँ शैक्षिक सत्रको कक्षा लिनुपर्ने नेपाली विद्यार्थीका लागि सोधखोज गरिरहेका छौं ।’

कोभिड १९ महामारीका कारण गत मार्च २६ तारिख चीनले भिसा म्याद भएर पनि स्वदेश फर्किएका कुनै पनि विदेशीलाई अर्को सूचना नभएसम्मका लागि चीन फर्किन उपयुक्त नभएको अस्थायी सूचना कायम गरेको थियो । नयाँ सूचना अनुसार सेप्टेम्बर २८ सम्म भिसा म्याद हुनेहरूले अर्को नयाँ भिसा आवेदन गरिरहनुपर्ने छैन ।

तोकिएका क्याटेगरीमध्ये भिसा म्याद सकिएका विदेशीले म्याद गुज्रिएको बसोबास अनुमतिपत्र तथा चिनियाँ दूतावास वा कन्सुलेट कार्यालयले माग गरे बमोजिमको सामग्री उपलब्ध गराएर नयाँ भिसा लिनसक्ने पनि परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । साथै महामारी रोकथाम तथा नियन्त्रणका लागि निश्चित मापदण्डहरू भने पूर्वघोषित अनुसार नै पूरा गर्नुपर्ने जनाइएको छ ।

विज्ञप्ति अनुसार यसअघि विदेशीका लागि जारी गत मार्चको सूचना बमोजिमका अन्य नियम तथा सर्तहरू यथावत रहेको चीनको भनाइ छ । महामारी नियन्त्रणको प्रक्रिया पूर्ण भइसकेपछि जनता जनताबीचको आदानप्रदानका लागि क्रमशः अन्य कदमहरू चाल्दै जाने पनि चीनको अध्यागमन विभागले प्रष्ट पारेको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्

चीनको शासनशैली अनुकरणीय : राजदूत पाण्डे

लक्ष्मी लम्साल

बेइजिङ — चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले वर्तमान चीनको शासन प्रणाली अनुकरणीय रहेको बताएका छन् ।

सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको १८औं जनकांग्रेसले खुलापन, राजनीतिक प्रगति, इकोलोजिकल (पारस्थितिक) संरक्षण, आर्थिक विकासबाट सामाजिक रूपान्तरणको कुरा उठाएको भन्दै राजदूत पाण्डेले राष्ट्रपति सी चिनफिङको शासनका पुस्तकहरूमा पनि यी कुरा उल्लेख रहेको चर्चा गरे ।

शनिबार बेइजिङस्थित नेपाली दूतावासमा भेला भएका नेपाली समुदायमाझ छैठौं संविधान एवं राष्ट्रिय दिवसको सन्दर्भमा उनले भने, ‘हरेक समाजको छुट्टै अर्थतन्त्र, छुट्टै संस्कृति, छुट्टै मूल्य मान्यता, छुट्टै सामाजिक संरचना हुने भएकाले त्यही हिसाबले जनतालाई बढी भन्दा बढी प्रजातान्त्रिक अधिकारको अभ्यास गर्न सक्ने बनाउनका निम्ति हामीले पनि सोच्नुपर्छ कि भन्ने मलाई लाग्छ।’

नेपालमा समयानुकूल संविधान परिमार्जन गर्दै अगाडि बढ्न सक्नुपर्ने विचार राख्दै राजदूत पाण्डेले ‘ग्रासरूट’को मान्छेलाई कसरी परिचालन गरेर राज्यशक्तिको अभ्यास गर्न सकिन्छ, कसरी छलफल र चुनावी प्रक्रियाबाट हरेकको सहभागितामार्फत् जनताका इच्छा, आवश्यकता, दृष्टिकोण बुझ्न सकिन्छ र समग्र जनता परिचालनको तरीका मार्फत् कुनै न कुनै रूपले राज्यशक्तिको अभ्यास गराउन सकिन्छ र समाजवादसम्म पुग्‍न सकिन्छ भन्ने कुरा चीनको शासन शैलीबाट बुझ्न सकिने बताए ।

नेपाल र चीनबीचको सम्बन्ध सुरूमा धार्मिक गुरूहरूको आदानप्रदान, त्यसपछि व्यापार, त्यसपछि कलाकारहरूको योगदान र हाल राजनीतिक वैचारिक आदानप्रदानले विकसित हुँदै गएको उनले औंल्याए । नेपाल र चीन सम्बन्ध पारस्परिक हित, समानता, समझदारी र सम्मानमा आधारित भएर चलिरहेको बताउँदै उनले भुइँचालो जाँदा चीनको निःस्वार्थ सहयोग जस्तै नेपालले पनि चीनमा कोरोना देखिँदा गच्छेअनुसार १ लाख मास्क पठाएको स्मरण गरे । हाल चीनले गरेको मेडिकल सामग्री सहायता नेपाल पठाउन दूतावासले सहजीकरण गरिरहेको उनले सुनाए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपालका राष्ट्रपति, प्रधानमन्त्री लगायतबाट भएको चीन भ्रमणले आपसी सम्बन्ध अझै प्रगाढ हुँदै गएको भन्दै उनले कूटनीतिक संस्थाहरूको स्तरोन्नति गर्न लागिएको बताए । नेपाल सरकारले चीन, भारत र अमेरिकाका राजदूतावासमा मन्त्रीस्तरको हैसियतमा कूटनीतिज्ञ पठाएकाले त्यही हिसाबले चीनस्थित नेपाली दूतावासलाई अघि बढाउनुपर्ने, सबैले असल अनुशासन कायम गर्न सचेत हुनुपर्ने पनि उनको ठहर थियो ।

अर्को प्रसंगमा उनले नेपालमा राणाशासनदेखि गणतान्त्रिक आन्दोलनसम्म आइपुग्दा प्राप्त भएका उपलब्धीहरू कार्यान्वयन तथा शासन पद्धित उचित तरिकाले हुन नसकेमा परिणाम हात नलाग्ने बताए । उनले नेपलामा मौलिक अधिकार प्राप्त रहेपनि सफल अभ्यास नभएबाट उत्पन्न हुने परिणतिबारे विश्वका इतिहासका घटनाबाट सिक्नु उपयुक्त हुने सुझाए ।

उनले भने, 'शासन पद्धति ठिक तरिकाले चलेन भने कुनै न कुनै तानाशाह जन्मिन्छ भन्ने उदाहरण फ्रान्सका एक सिपाहीबाट सुरू भएका नेपोलियन बोनापार्टको उदयले देखाउँछ । विश्वका विभिन्न देशको घटनाहरूबाट पनि यो चाल पाउन सकिन्छ।’

प्रकाशित : आश्विन ४, २०७७ १४:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×