२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

महामारीमा फर्किएका विदेशीहरू पुनः चीन फर्कन पाउने

लक्ष्मी लम्साल

बेइजिङ — सन् २०१९ को अन्त्यतिर देखा परेको कोरोना महामारीका कारण आ-आफ्नो देशमा फर्किएका विदेशीहरू झण्डै ४ महिनापछि चीन फर्कन पाउने भएका छन् ।

महामारीमा फर्किएका विदेशीहरू पुनः चीन फर्कन पाउने

चीनको परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय अध्यागमन प्रशासनले बुधबार एउटा सूचना निकालेर प्रक्रिया पुगेका विदेशीहरूलाई पुनः चीन फर्किन सक्ने जनाएको हो ।

यसअघि महामारी नियन्त्रण तथा रोकथामका लागि गत मार्च २६ देखि चीन छोडेका विदेशीहरूलाई अर्को सूचना नभएसम्मका लागि चीनमा फर्किन नमिल्ने अस्थायी सूचना जारी गरिएको थियो । चीनभित्र बसेर काम गर्ने अनुमति पाएका (रेसिडेन्ड परमिट), व्यक्तिगत काम र पारिवारिक पुनर्मिलनका लागि भिसा म्याद बाँकी रहेकाहरूले सिधै र म्याद गुज्रिएकाहरूले पुनः आवेदन दिएर चीनमा फर्किन पाउने तीनवटा अवस्था तोकिएको छ ।

चीनले निकालेको यो सूचनापछि चीनमा रोजगारी गर्ने तर महामारीका कारण नेपाल फर्किएका सानो संख्याका श्रमिकहरू लाभान्वित हुनेछन् । १४ वर्षदेखि चीनमा काम गर्दै आएका दोलखा शैलुङ गाउँपालिकाका बलराम (धनबहादुर) कार्कीले यो सूचना प्राप्त भएपछि पुनः आफ्नो रोजगारीलाई निरन्तरता दिन पाएकाले खुशी लागेको बताए । चीनमा महामारीले उग्र रूप लिएपछि नेपाल सरकारले पठाएको चार्टर्ड उडानबाट कतिपय नेपाली कामदारहरू पनि स्वदेश फर्किएका थिए ।

सेप्टेम्बर २८ तारिख मध्यान्हदेखि विभिन्न ३ प्रक्रिया पार गरेर चीनमा फर्किन पाउने नियम सार्वजनिक गरिएको हो । चीनको यो निर्णयले तत्काल सानो संख्याका नेपालीहरू लाभान्वित हुनसक्ने बेइजिङस्थित दूतावासले जनाएको छ । तर उस्ले अध्ययनका लागि नेपाली विद्यार्थीहरूलाई चीनमा फर्काउने सूचनाको प्रतीक्षा गरिरहेको बताएको छ । दूतावासका मिनिस्टर सुशील लम्सालले भने, ‘अध्ययनका लागि आउनैपर्ने, विशेषगरी चिकित्सा क्षेत्रका विद्यार्थी र नयाँ शैक्षिक सत्रको कक्षा लिनुपर्ने नेपाली विद्यार्थीका लागि सोधखोज गरिरहेका छौं ।’

कोभिड १९ महामारीका कारण गत मार्च २६ तारिख चीनले भिसा म्याद भएर पनि स्वदेश फर्किएका कुनै पनि विदेशीलाई अर्को सूचना नभएसम्मका लागि चीन फर्किन उपयुक्त नभएको अस्थायी सूचना कायम गरेको थियो । नयाँ सूचना अनुसार सेप्टेम्बर २८ सम्म भिसा म्याद हुनेहरूले अर्को नयाँ भिसा आवेदन गरिरहनुपर्ने छैन ।

तोकिएका क्याटेगरीमध्ये भिसा म्याद सकिएका विदेशीले म्याद गुज्रिएको बसोबास अनुमतिपत्र तथा चिनियाँ दूतावास वा कन्सुलेट कार्यालयले माग गरे बमोजिमको सामग्री उपलब्ध गराएर नयाँ भिसा लिनसक्ने पनि परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । साथै महामारी रोकथाम तथा नियन्त्रणका लागि निश्चित मापदण्डहरू भने पूर्वघोषित अनुसार नै पूरा गर्नुपर्ने जनाइएको छ ।

विज्ञप्ति अनुसार यसअघि विदेशीका लागि जारी गत मार्चको सूचना बमोजिमका अन्य नियम तथा सर्तहरू यथावत रहेको चीनको भनाइ छ । महामारी नियन्त्रणको प्रक्रिया पूर्ण भइसकेपछि जनता जनताबीचको आदानप्रदानका लागि क्रमशः अन्य कदमहरू चाल्दै जाने पनि चीनको अध्यागमन विभागले प्रष्ट पारेको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?