अस्ट्रेलियाको समुद्री तटमा फसेका ९० ह्वेल मरे- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाको समुद्री तटमा फसेका ९० ह्वेल मरे

एजेन्सी

तास्मानिया — अस्ट्रेलियाको तास्मानियास्थित समुद्री तटमा फसेका २ सय ७० ह्वेलमध्ये एक तिहाइ मरेका छन् । उद्धारकर्ताहरूले अझै धेरै ह्वेलहरू मर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका बीबीसीले उल्लेख गरेको छ ।

अधिकारीहरूले हालसम्म २५ वटा ह्वेलको उद्धार गरिएको र अन्यलाई समुद्रमा पुर्‍याउने प्रययास भइरहेको जनाएका छन् । मंगलबार ४० जना उद्धारकर्ताहरूको टोलीे ती ह्वेललाई पुन: समुद्रको गहिरो पानीमा पठाउन सफल भएको हो । समुद्री जीवविज्ञहरूले सबै ह्वेलको उद्धार गरिसक्न अझै केही दिन लाग्ने बताएका छन् ।

ह्वेलहरूको समूह सोमबार समुद्री तटमा फसेको थाहा भएको थियो । ती ह्वेलहरू कसरी समुद्रको तटसम्म पुगे भन्ने यकिन भइरसकेको छैन । उद्धारकर्ताहरूले तीन विभिन्न समूहमा ह्वेलहरू पाइएका र त्यहासम्म पुग्न निकै कठिन भएको जनाएका छन् ।

उक्त क्षेत्रका समुद्री किनारमा ह्वेलहरू आउनु सामान्य भए पनि एक दशकपछि यति ठूलो संख्यामा एकै ठाउँमा जम्मा भएका हुन् । सन् २००९ मा करिब २ सय ह्वेलहरू समुद्री तटमा अड्केका थिए ।

अस्ट्रेलिया र न्युजिल्यान्ड वरपरका क्षेत्रमा प्रत्येक वर्ष विभिन्न प्रकारका ह्वेलहरूले मौसमी बसाइँसराइ गर्छन् । सन् २०१८ मा न्युजिल्यान्डको पूर्वी तटीय क्षेत्रमा फसेका २ सयभन्दा बढी ह्वेल मरेका थिए । 

प्रकाशित : आश्विन ७, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

सम्हालौं आफूलाई

कोरोना महामारीले भयावह बनिरहेको मनोसामाजिक समस्यालाई परास्त गर्न आपसमा सहयोगी भावनाको खाँचो
गोकर्ण गौतम

काठमाडौँ — ‘कोरोनाका कारण मान्छेहरूमा भय बढ्यो, डिप्रेसनले सतायो । यसलाई हटाउन सक्रिय भूमिका खेलिदिनुपर्‍यो,’ गत भदौ २३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मनोचिकित्सकहरूसँग आग्रह गरेका थिए । कोरोना महामारी भएपछि प्रधानमन्त्री तहबाटै यसरी मानसिक स्वास्थ्यसम्बन्धी चासो राखिएको हो । आत्महत्या, डिप्रेसन, चिन्ताजन्य विकार विकराल बनिरहेको अवस्थामा मनोसामाजिक क्षेत्रका विज्ञहरूसँग ओलीले परामर्श गरेका हुन् ।

छलफलमा सहभागी शिक्षण अस्पताल, महाराजगन्जका मानसिक विभाग प्रमुख वरिष्ठ मनोचिकित्सक प्रा.डा. सरोज ओझाका अनुसार प्रधानमन्त्रीले मानसिक स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र यसलाई रोकथाम गर्न दीर्घकालीन नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता गरेका थिए । ‘अहिलेको अवस्थामा भयमुक्त समाज निर्माण गर्न कुन क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्नेमा प्रधानमन्त्रीले विशेष जोड दिनुभयो,’ प्रा.डा. ओझाले कान्तिपुरसँग भने ।

एकातिर भाइरस संक्रमण बढ्दो छ, अर्कातिर मानिसहरू मनोवैज्ञानिक रूपमा विचलित छन् । प्रहरीको तथ्यांकअनुसार लकडाउनयता दिनमा औसत १९ जनाले आत्महत्या गरेको देखिन्छ । अन्य खालका मनोसामाजिक उल्झनको त लेखाजोखै छैन । विज्ञहरू मानसिक समस्याबाट प्रताडित हुने दिनानुदिन बढिरहेको र यो क्रम महामारी अन्त्य भइसकेपछि पनि जारी रहने बताइरहेका छन् । हाम्रो जस्तो मानसिक स्वास्थ्यलाई महत्त्व नदिने मुलुकमा त अझ भयावह बन्ने खतरा हुन्छ । प्रधानमन्त्रीले विज्ञसँग यस्तो स्थिति आउन नदिन राज्यले प्रभावकारी कदम चाल्ने र यससँग सम्बन्धित हरेक निकायले प्रतिफलमूलक भूमिका खेल्नुपर्ने बताएका थिए । तर, ओलीले यसप्रति चासो देखाउनु पहिल्यै सर्वोच्च अदालत र संघीय संसद्को महिला तथा सामाजिक समितिले मनोपरामर्श सेवामा आमनागरिकको सहज पहुँचका लागि सरकारलाई निर्देशन दिएको थियो ।

मिडियामा आत्महत्यासहित अन्य मानसिक बिमार बढेका खबरहरू प्रकाशित भएपछि महिला तथा सामाजिक समितिले सरोकारवाला निकायसँग विमर्श गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयका सचिव बोलाएर असार १६ र साउन ७ मा बैठक गरिएको समितिकी सभापति निरु पालले जानकारी दिइन् ।

समितिले मानसिक स्वास्थ्यलाई प्राथमिक आधारभूत स्वास्थ्य सेवाका रूपमा नियमित र पहुँचयोग्य बनाउन, आत्महत्या न्यूनीकरण र रोकथामका लागि दीर्घकालीन तथा अल्पकालीन रणनीति तर्जुमा गरी तत्काल कार्यान्वयन गर्न, जोखिम समूह पहिचान गर्न र एकीकृत राष्ट्रिय योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएको थियो । पाल भन्छिन्, ‘विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तुहरू समेट्न आवश्यक भइसकेको छ ।’ समितिको निर्देशनपछि मानसिक अस्पताल, पाटनमा ११६६ हटलाइनको व्यवस्था गरिएको छ, जसमा आत्महत्याको भावना आएकाहरूले फोन गरेर निःशुल्क परामर्श लिन सक्नेछन् ।

सर्वोच्च अदालतले साउन २१ मा मनोसामाजिक परामर्श सेवाका लागि प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको थियो । महामारीले मानिसहरूमा निम्त्याएको मनोवैज्ञानिक असरहरूको उपचार तथा न्यूनीकरणका लागि आधिकारिक निकायबाट आवश्यक सुचनामात्र दिने, फोनलगायत डिजिटल माध्यमबाट आफन्त, इष्टमित्र तथा परिवारसँग नजिक रहने, कोरोना संक्रमित व्यक्तिलाई लान्छना नगरी साथ र सहयोग प्रदान गर्ने तथा समुदायमा कोभिड–१९ विरुद्ध ऐक्यबद्धता जनाउने प्रवृत्तिको विकास हुनुपर्ने देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ । अधिवक्ताद्वय रोशनी पौड्ले र सरोजकृष्ण घिमिरेको रिट निवेदन उपर न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले कोभिड–१९ का कारण मनोसामाजिक असर र यसबाट पर्ने थप प्रभाव न्यूनीकरणका तथा समाधानमा थप मद्दत पुर्‍याउने हुँदा विश्व स्वास्थ्य मापदण्डअनुरूप हरेक क्वारेन्टाइन, स्वास्थ्य केन्द्र तथा स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा प्रवाहका लागि उचित प्रबन्ध गर्न सरकारलाई आदेश दिएको हो ।

तर, सर्वोच्च अदालत र सामाजिक समितिको निर्देशन पूर्ण कार्यान्वयन हुन सकेको छैन । परामर्शलाई तल्लो तहसम्म लैजान स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्न नसकेको विज्ञहरूको भनाइ छ । यद्यपि प्रधानमन्त्रीले मनोचिकित्सकलाई भेटेपछि मन्त्रालयको नियमित प्रेस ब्रिफिङपछि लगातार आठ दिन अनेक प्रकृतिका मानसिक समस्यासम्बन्धी विज्ञहरूले सन्देश प्रवाह गरेका थिए । प्रवक्ता प्रा.डा. जागेश्वर गौतम मानसिक स्वास्थ्य सबल बनाउन मन्त्रालय गम्भीर रहेको बताउँछन् । ‘मनोसामाजिक समस्यालाई प्राथमिकतामा राख्दै परामर्श सहज रूपमा उलब्ध गराउन लागिपरेका छौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तगर्तको मानसिक स्वास्थ्य शाखाले नियमित रूपमा काम गरिरहेको छ,’ प्रा.डा. गौतमले भने ।

मनोवैज्ञानिक संकटको समाधानका लागि सरकारको प्रभावकारी पहल त आवश्यक छ नै, सँगै व्यक्ति, परिवार र समुदायको पनि उत्तिकै भूमिका रहने मनोविद्हरू बताउँछन् । समस्या भोगिरहेका व्यक्तिले आत्मबल पाउने भनेकै परिवार र समुदायबाट हो । सेन्टर फर मेन्टल हेल्थ एन्ड काउन्सिलिङ (सीएमसी) नेपालमा आबद्ध वरिष्ठ मनोविद् डा. पशुपति महत समुदायका मान्छे सबै डराएको र सबै मिलेरै डरको सहज व्यवस्थापन गर्नुपर्ने मत राख्छन् । ‘मानसिक समस्या भएका मान्छेहरू आफ्नो ख्याल गर्न नसक्ने अवस्थामा हुन्छन् । त्यो अभाव परिवार र समाजले पूरा गर्नुपर्छ । समाजले सहभागी भावनाले खुल्न सजिलो हुन्छ,’ डा. महत भन्छन्, ‘समयमै पहिचान भयो भने परामर्शबाटै निधान हुन्छ । तर, समाजको अस्वीकृति र दुर्व्यवहारले जटिल अवस्था आउन सक्छ ।’ मनोसामाजिक अपांगता व्यक्तिप्रति समाज आवश्यक मात्रामा संवेदनशील नभएको र अरूले थाहा पाउँदा बेइज्जत हुन्छ भन्ने भयले पीडितहरू भित्रभित्रै छटपटिने विडम्बना हामीकहाँ विद्यमान छ ।

डा. महतको अनुभवमा हाल परामर्शका लागि आउने १० जनामध्ये ६ जनामा चिन्ताजन्य समस्या हुन्छ । बाँकीलाई डिप्रेसन र अन्य खालका तनाव । ‘निको भइसकेका व्यक्तिहरूमा फेरि बल्झने क्रम बढेको छ । यस्तो बेला आफन्त र समाजको साथ नपाउँदा झन् मुस्किल पर्छ,’ महतले भने, ‘प्रत्यक्ष भेट्न सम्भव नभए फोन वा भर्चुअल माध्यमबाट आफ्नो मान्छेसँग सम्पर्कमा रहिरहनुपर्छ ।’ व्यक्तिले सबभन्दा पहिले आफैंलाई सम्हाल्ने प्रयास गर्नुपर्ने सुझाव छ उनको ।

केही समययता मनोसामाजिक पीडा बोकेर शिक्षण अस्पताल ध्याउनेहरूको संख्या वृद्धि भएको छ । वरिष्ठ मनोचिकित्सक प्रा.डा. ओझाका अनुसार बिनाकारण मन डराउने, आत्तिने, छटपटी हुने जस्ता चिन्तामय समस्या धेरैमा देखिएको छ । मन उदास हुने, जाँगर नआउने, मन खुसी नहुने, चिडचिडापन, निद्रा नलाग्ने लक्षण भएका पनि उत्तिकै छन् । जसमा २० देखि ४० वर्ष उमेर समूहको बाहुल्य छ । यसमा पनि महिला अधिक छन् । ‘धेरै र थोरै भन्ने मात्र हो, अहिले समुदायस्तरमा त्रास सबैलाई छ । डर लाग्नु नै चाहिँ रोग होइन,’ ओझा भन्छन्, ‘तर, यसको कारण दैनिक काममा असर पर्‍यो र दुई हप्ताभन्दा बढी समय रह्यो भने ‘डिसर्डर’ हो ।’

चिन्ताजन्य विकारले पारिवारिक सम्बन्ध, सामाजिक व्यवहार र व्यवसायमा प्रत्यक्ष असर पर्छ । यद्यपि यसलाई मानसिक रोग मान्न ओझा तयार छैनन् । ‘यो मानसिक रोग होइन, मनोविज्ञान कमजोर भएको हो । निराकरणका लागि प्रयास गर्नुपर्छ । गलत र नकारात्मक धारण बनाउनु हुन्न,’ ओझाको सुझाव छ । सुरुवाततिरै समस्या पहिल्याउन सके परामर्शबाटै व्यक्तिलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । त्यसैले सबैभन्दा महत्त्वपूर्ण भनेको पीडामा परेको मान्छेले मन खुलाएर आफ्नो व्यथा पोख्न सक्ने माहोल निमार्ण गर्नु हो । ‘मनोसामाजिक समस्याको लक्षणबाट डिसर्डरसम्म जानबाट रोक्नुपर्छ । नत्र त्यही कारणले डिप्रेसन र आत्महत्यासम्म पुर्‍याउँछ,’ ओझाले भने ।

कोरोनाका कारण रोजगारी गुम्यो, व्यवसाय डामाडोल भयो । कतिले काम गरिरहे तर नियमित तलब पाएनन् । व्यक्ति अनेक कोणबाट आर्थिक कठिनाइको चपेटामा परेको छ । यही कारण चिन्ताजन्य समस्या बढेको मनोविद् सनम पौडेलको भनाइ छ । ‘अहिले पेट भोको छ वा भोको होला भन्ने चिन्ता छ । भविष्यको पनि डर छ,’ पौडेलको सुझाव छ, ‘तर, अहिले आत्तिने बेला होइन । घरमै डराएर बस्नुभन्दा सुरक्षित तबरले बाहिर निस्कने काम गर्नुपर्छ । मनोवैज्ञानिक रूपमा शिथिल हुँदा भाइरससँग लड्ने क्षमतामा ह्रास हुन्छ । त्यसैले नकारात्मक वातावरणबाट आफूलाई बाहिर राख्नुपर्छ ।’ आफूलाई संक्रमण भइहाले के गर्ने भन्ने पूर्वतयारी गर्नु आवश्यक रहेको उनले औंल्याइन् ।

विज्ञहरूका अनुसार महामारीका दौरान निद्रा नलाग्ने, छटपटी हुनेजस्ता समस्या सामान्य नै हो । त्यसैले यस्तो हुँदा आत्तिने होइन, पहिले आफू सम्हालिने अनि आफ्ना नजिकको मान्छेलाई भरोसा दिने हो । इन्टरनेटमा चिन्ताको सहज व्यवस्थापनका विभिन्न तरिकाहरू हुन्छन्, जसलाई व्यक्तिले घरमै बसेर पनि अवलम्बन गर्न सक्छ । ‘हरेक घण्टा दुई/तीन पटक गहिरो श्वास लिने र छोड्ने, पानी धेरै पिउने गर्नुपर्छ । सानातिना जस्तो काममा पनि आफूलाई व्यस्त राख्नुपर्छ,’ मनोविद् डा. महतको सुझाव छ, ‘जीवनशैली अनुशासित हुनुपर्छ । मन र शरीरको नियमित स्याहार गर्नुपर्छ । मुख्य कुरा सुखदु:ख आफ्नो नजिकको मान्छेसँग बाँडिहाल्नुपर्छ ।’

प्रकाशित : आश्विन ७, २०७७ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×