अस्ट्रेलियामा नागरिकता लिने प्रावधान फेरियो

परिवर्तन हुने परीक्षामा अस्ट्रेलियाली मूल्यमान्यता र सिद्धान्तसँग सम्बन्धित प्रश्नहरु थप गरिएको हो ।
नारायण खड्का

सिड्नी — अस्ट्रेलियाले विदेशीलाई नागरिकता दिने प्रावधानमा परिवर्तन गरेको छ । अस्ट्रेलियाका निमित्त अध्यागमन तथा नागरिकतामन्त्री एलज टजले एक दशकअघिदेखि निरन्तर चलिआएको परीक्षा प्रणालीलाई परिवर्तन गर्ने बिहीबार घोषणा गरेका हुन् । उनले अस्ट्रेलियाली मूल्यमान्यता अत्यन्तै महत्त्वपूर्ण भएका कारण यो परिवर्तनमा यसैलाई प्राथमिकता दिएको बताएका छन् ।

अस्ट्रेलियामा नागरिकता लिने प्रावधान फेरियो

‘हामी अस्ट्रेलियाली नागरिक बन्न चाहने जो–कोहीलाई हाम्रो मूल्य र मान्यतालाई गहिरोसँग बुझ्न र यसप्रति प्रतिबद्ध रहन आग्रह गर्छौं,’ उनले भनेका छन् । नोभेम्बर मध्यदेखि परिवर्तन हुने परीक्षामा अस्ट्रेलियाली मूल्यमान्यता र सिद्धान्तसँग सम्बन्धित प्रश्नहरू थप गरिएको हो ।

अस्ट्रेलियाली नागरिकका लागि योग्य हुन कम्तीमा अस्ट्रेलिया बसेको चार वर्ष पुगेको हुनुपर्छ भने एक वर्ष स्थायी बसोबासको अनुमति (पीआर) पाएको हुनुपर्छ । योग्यता पुगेपछि सरकारले तोकेको परीक्षा पास गरेपछि मात्र नागरिकताका लागि आवेदन दिन पाइन्छ । सामान्यतः एक वर्षसम्म लाग्ने यो प्रक्रिया निर्धारित समयभन्दा छिटो र ढिलोसमेत निर्णय हुने गर्दछ । परिमार्जन गरिएको परीक्षामा जम्मा २० वटा प्रश्न सोधिनेछ, जसमा अस्ट्रेलियाली मूल्यमान्यता र सिद्धान्तसँग सम्बन्धित थप ५ प्रश्नको सही उत्तर दिनुपर्नेछ भने समग्रमा ७५ प्रतिशत अंक ल्याउनुपर्नेछ । सबै प्रक्रिया पूरा गरेपछि स्थानीय काउन्सिलले कार्यक्रमको आयोजना गरेर नागरिकता वितरण गर्ने गर्दछ ।

अस्ट्रेलियाको अध्यागमन कानुनका ज्ञाताहरू भने यो नियम परिमार्जनको मुख्य उद्देश्य अस्ट्रेलियाको आफ्नै मान्यता र सिद्धान्तलाई नमान्नेलाई नागरिक बन्नबाट दुरुत्साहित गर्नु रहेको बताउँछन् । नेपाली कानुन व्यवसायी भरत पोखरेल अस्ट्रेलियाको नागरिक बन्ने तर यहाँका नागरिक र देशले स्वीकार गरेको मूल्यमान्यता र सिद्धान्तलाई पालना नगर्नेलाई नागरिकता लिने प्रक्रियामा कडाइ गरिएको हुन सक्ने बताउँछन् ।

‘पछिल्लो समयमा आतंककारी गतिविधि बढेपछि सरकारले देशको नियम र कानुनलाई पालना गर्ने व्यक्तिलाई मात्र नागरिक बनाउने नीतिअन्तर्गत यो परिमार्जन गरेको हो ।’ पोखरेल अस्ट्रेलियामा नागरिकता लिइसकेको व्यक्तिलाई अन्य भिसा वा पीआरमा रहेका नागरिकलाई जसरी सहजै फिर्ता पठाउन वा नागरिकता रद्द गर्न नमिल्ने भएकाले यो परिवर्तन गरिएको विश्लेषण गर्छन् ।

यो परिवर्तनले नेपालीलाई खासै असर नपर्ने दाबी पोखरेलको छ । नेपाली सहजै बहुसांस्कृतिक समुदायमा घुलमिल हुन सक्ने, अपराधलगायतका गलत कार्यमा खासै नलाग्ने कारणले समेत यो परिवर्तनले खासै असर नगर्ने दाबी गर्छन् । ‘यो परिवर्तन मुख्य गरेर यहाँको नागरिक बन्छु भन्ने तर अस्ट्रेलियाली भावनालाई कदर नगर्ने व्यक्तिलाई लक्षित हो ।

यसले कुनै नेपालीलाई असर गर्ने सम्भावना छैन ।’ सन् २०१६ को राष्ट्रिय जनगणनामा करिब ५५ हजार नेपाली अस्ट्रेलियामा बसोबास गरिरहेको तथ्यांक छ । जसमा ३५ हजार बढीले नागरिकता लिइसकेको अनुमान छ । गत आर्थिक वर्षमा मात्र २ लाख ४ हजार विदेशीले अस्ट्रेलियाको नागरिकता लिइसकेका छन् ।

प्रकाशित : आश्विन ६, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?