१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

फेरि कोरोनाको ‘हटस्पट’ बन्दै बेलायत

सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले तत्काल भाइरसको संक्रमण रोक्ने प्रयास नगरिए अक्टोबर मध्यसम्ममा दैनिक ५० हजार संक्रमित हुने चेतावनी दिएका छन् ।
नवीन पोखरेल

लन्डन — बेलायत फेरि कोरोना भाइरस (कोभिड–१९) को ‘हटस्पट’ बन्ने देखिएको छ । भाइरसको संक्रमणबाट युरोपकै सबैभन्दा बढी प्रभावित बेलायतले पहिलो संकट सामना गर्न नभ्याउँदै दोस्रो लहरको अनुभवसमेत गरेको छ । सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले अहिले नै कोरोना भाइरस संक्रमण रोक्ने प्रयास नगरिए अक्टोबर मध्यसम्म दैनिक ५० हजार संक्रमित हुने चेतावनी दिएका छन् ।

फेरि कोरोनाको ‘हटस्पट’ बन्दै बेलायत

सोमबार बिहान प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटबाट टेलिभिजन सम्बोधन गर्दै भ्यालेन्सले यही अवस्था रहे नोभेम्बर मध्यसम्म दैनिक दुई सय जनाका दरले मृत्यु हुन सक्ने पनि बताए । संक्रमण बढेसँगै अस्पताल भर्ना हुने क्रम र मृत्युदर बढ्दै गएको उनले बताएका थिए ।

भ्यालेन्ससँगै रहेका सरकारका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिस ह्विटीले बेलायत अहिले कोरोना संक्रमणको अवस्था जटिल बिन्दुमा रहेको र गलत दिशातर्फ बढिरहेको चेतावनी दिए । अहिले प्रत्येक साता संक्रमित दोब्बर बढेका जनाउँदै बेलायतले जाडोयाममा धेरै चुनौती सामना गर्नुपर्ने उनले उल्लेख गरे । दुवै सल्लाहकारहरूले सरकारलाई बेलैमा कदम चाल्न सुझाव दिएका छन् ।

बेलायतमा आइतबार २४ घण्टामा ३ हजार ८ सय ९९ संक्रमित थपिएका थिए भने १८ जनाको मृत्यु भएको थियो । अहिले १ हजार ८१ जना अस्पतालमा छन् । बेलायतमा कुल मृतक संख्या ४१ हजार ७ सय ७७ पुगेको छ भने संक्रमित संख्या ३ लाख ९५ हजार बढी छ ।

बीबीसीका अनुसार, अहिले बेलायतमा ७० हजार जना संक्रमित छन् । राष्ट्रिय तथ्यांक कार्यालयले सरदर दैनिक ६ हजार संक्रमित भइरहेको जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार बिहान कोभिड–१९ संक्रमण रोकथामका लागि कस्तो रणनीति लिने भन्नेबारे छलफल गर्न आपत्कालीन कोब्रा बैठक डाकेका छन् । उक्त बैठकपछि उनले हाउस अफ कमन्समा सम्बोधन गर्ने कार्यक्रम छ । उनले बेलायतमा थप प्रतिबन्ध लगाउनेबारे सोचिरहेको बताइएको छ तर उनले दोस्रोपटक राष्ट्रिय लकडाउन गर्नुपरे त्यो अर्थतन्त्रका लागि ज्यादै अभिशाप हुने बताएका छन् । इंग्ल्यान्डमा सम्भवतः दुई साता ‘मिनी लकडाउन’ हुने चर्चा पनि छ ।

अहिले शैक्षिक संस्थान, पब, बार, रेस्टुरेन्ट खुलेकाले वयस्कहरू बढी संक्रमित भएका बताइएको छ । पब, बार बन्द गरे पनि धेरै हदसम्म कोरोना भाइरस संक्रमण रोकिने विश्वास कतिपय स्वास्थ्यविज्ञहरूको छ ।

इंग्ल्यान्डमा कस्तो प्रतिबन्ध लगाउने भन्नेबारे बेलायती मन्त्रीहरू छलफल गरिरहेका बताइएको छ । प्रधानमन्त्री जोन्सनले स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका नेताहरूसँग पनि बैठक गर्ने भएका छन् ।

नर्थ इस्ट इंग्ल्यान्ड अहिले बढी प्रभावित देखिएकाले सरकारले त्यस क्षेत्रमा एक अर्को परिवार भेट्न नमिल्ने गरी प्रतिबन्ध लगाएको छ । ग्रेटर म्यानचेस्टर, बर्मिङहम, ब्राडफोर्ड, ब्ल्याकबर्न, प्रेस्टन आदिमा अहिले एक परिवारले अर्को परिवारलाई भेट्न रोक लगाइएको हो । त्यहाँ पब, बार, रेस्टुरेन्ट राति १० बजेपछि निषेध गरिएको छ ।

उता, इंग्ल्यान्डमा ६ जनाभन्दा बढी जमघट गर्न नपाइने नियम अघिल्लो सातादेखि नै लागू भएको छ । सरकारले आउँदो २८ सेप्टेम्बरदेखि कोरोना भाइरस पोजिटिभ भएका व्यक्ति सेल्फ आइसोलेसनमा नबसे १ देखि १० हजार पाउन्ड (करिब १५ लाख रुपैयाँ) सम्म जरिवाना तिराउने घोषणा गरिसकेको छ ।

नेप्लिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. रमेश खोजू बेलायत सरकारले बेलैमा कडाइ गर्नुपर्ने सुझाउँछन् । ‘योपटक पहिलेको अनुभवले गर्दा धेरै क्षति नहुन पनि सक्छ,’ उनको भनाइ छ, ‘दोस्रो लहर आउँछ भन्ने थाहा भएकाले पनि मानिस अलिक बढी सचेत देखिएका छन् । तर यसलाई नजरअन्दाज भने गर्न सकिन्न । हामी आफैंले सतर्कता अपनाउन जरुरी छ ।’

दोस्रो लहरले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई फेरि भार थेग्न गाह्रो हुन सक्ने उनको चिन्ता छ । बेलायतले कोभिड– १९ संक्रमण फैलिएपछि पीपीई र भेन्टिलेटर अभाव खेपेको थियो । सरकारले ८ हजार भेन्टिलेटर मगाए पनि जुन १० सम्म जम्मा ५ हजार जति मात्र आएपछि पर्याप्त नभएको भन्दै आलोचना भएको थियो । कोभिड–१९ का कारण कैयौं चिकित्सक, नर्सहरूले पनि ज्यान गुमाएका थिए ।

प्रकाशित : आश्विन ६, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?