संक्रमित आइसोलेसन नबसे बेलायतमा १५ लाख रुपैयाँसम्म जरिवाना

नवीन पोखरेल

लन्डन — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि बेलायत सरकार थप कठोर देखिएको छ । भाइरस संक्रमितले सेल्फ आइसोलेसन बस्नैपर्ने बाध्यकारी नियम उल्लंघन गरे सरकारले १० हजार पाउन्ड (करिब १५ लाख रुपैयाँ) सम्म जरिवाना तिराउने भएको हो ।

संक्रमित आइसोलेसन नबसे बेलायतमा १५ लाख रुपैयाँसम्म जरिवाना

बेलायती सञ्चारमाध्यमका अनुसार यो नियम आगामी साता (सेप्टेम्बर २८) देखि लागू हुनेछ । नयाँ नियम उल्लंघन गर्नेलाई सुरुमा १ हजार पाउन्ड जरिवाना गरिने भए पनि पुन: नियम उल्लंघन गरे १० हजार पाउन्डसम्म जरिवाना गरिने जनाइएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ नियम घोषणा गर्दै भाइरस संक्रमण नियन्त्रणका लागि सबैको सहयोग आवश्यक भएको बताएका छन् । ‘जोखिममा रहेका समूह संक्रमित हुन नदिन, जीवन रक्षा र राष्ट्रिय स्वास्थ्य सेवा जोगाउन पनि हामी सबै सचेत हुन आवश्यक छ,’ प्रधानमन्त्रीको आग्रह छ ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिले ‘टेस्ट एन्ड ट्रेस’ निर्देशन बेवास्ता गरी आइसोलेसन नबसे त्यो पनि गैरकानुनी हुने सरकारले बताएको छ । न्यून आय भएका व्यक्तिलाई क्‍वारेन्टाइनमा बस्दा जागिर गुमाउनुपरे सरकारले एकमुष्ट ५ सय पाउन्ड दिने घोषणा पनि गरेको छ । तर, यो सुविधा इंग्ल्यान्डमा ४० लाखभन्दा कम मानिसले प्राप्त गर्न सक्ने जनाइएको छ । बीबीसीका अनुसार, इंग्ल्यान्ड र वेल्समा कोभिड नियम उल्लंघन गरेकामा हालसम्म १९ हजार बढी जरिवाना तिराइसकिएको छ ।

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर सुरु हुँदा सरकारले थप कडाइ गरेको हो । प्रधानमन्त्री जोन्सनले एक परिवार अर्को परिवारसँग घुलमिल हुन नदिन र पब, रेस्टुरेन्ट अबेरसम्म खोल्न नदिन सोचिरहेको बेलायती अखबारले उल्लेख गरेका छन् ।

कोरोना भाइरस संक्रमण बढिरहेका ग्रेटर म्यानचेस्टर, बर्मिङहम, ब्राडफोर्ड, ब्ल्याकबर्न, प्रेस्टन, बोल्टन जस्ता सहरमा यसअघि नै कडाइ गरिएको छ । हालैका दिनहरूको बेलायतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ४ सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको थियो भने २७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ७ सय ५९ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ९० हजार, तीन सयभन्दा बढी पुगेको छ ।

बेलायत बाहिरबाट यूके प्रवेश गरेपछि पनि दुई साता अनिवार्य क्‍वारेन्टाइन बस्नुपर्ने नियम यसअघि नै लागू छ । लन्डनस्थित एक ट्राभल एजेन्सी ट्राभल कन्सोलका सञ्चालक विराज भट्टले बेलायत सरकारको अनिवार्य क्‍वारेन्टाइन नियमका कारण अत्यावश्यकबाहेक अन्य होलिडे धेरै न्यून भइरहेको बताए ।

‘यूके उड्नुअघि यात्रुले ट्राभल फर्म भरेर कहाँ बस्ने, फोन नम्बर आदि सम्पूर्ण विवरण भर्नुपर्ने र दुई साता घरमै बस्नुपर्ने भएकाले मानिसहरू यो झन्झट व्यहोर्न चाहन्नन् । इन्टरनेसनल होलिड झन्डै ८५ प्रतिशतजति घटेको छ,’ भट्टले भने, ‘उद्धार उडानले हामी जेनतेन चलिरहे पनि अहिले ट्राभल व्यवसाय नराम्ररी खुम्चिएको छ ।’

लिड्स विश्वविद्यालयमा विगत १६ वर्षदेखि प्राध्यापनमा संलग्न अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी विश्वविद्यालयहरूले अनलाइन कक्षा शनिबार सुरु गरिरहेकाले बेलायत सरकारको क्‍वारेन्टाइन नियमले बाहिरबाट आउने विद्यार्थीलाई प्रत्यक्ष असर नपर्ने बताउँछन् । लिड्स विश्वविद्यालय रसेल ग्रुपअन्तर्गत सञ्चालित छ, जसका २० भन्दा बढी विश्वविद्यालयमध्ये एक हो ।

प्राध्यापक सुवेदी आफ्नो समूहका विश्वविद्यालयमा कोभिड–१९ का कारण पोस्ट ग्य्राजुएटका विद्यार्थी आउने क्रम घटे पनि अन्डर ग्य्राजुएट लेभल पढ्न आउने विद्यार्थी भने बढेको जनाए ।

प्रकाशित : आश्विन ४, २०७७ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?