१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतमा अक्सिजन अभाव

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित करिब १५ प्रतिशतलाई अक्सिजन आवश्यक पर्छ
एजेन्सी

नयाँदिल्ली — भारतको मुम्बईका अंकित सेठिया मुम्बईस्थित ५० शय्याको आफ्नो अस्पतालका लागि अक्सिजनको जोहो गर्न गत शुक्रबार रातभर खटिए । रातभर ओहोरदोहोर गर्दा पनि सेठियाले एसएस अस्पताल तथा अनुसन्धान केन्द्रका ४ मध्ये दुइटा ट्यांकमा मात्र अक्सिजन भर्न सके । उनको अस्पतालका ५० मध्ये ४४ शय्यामा हाल कोरोना भाइरस (कोभिड–१९) का बिरामी छन् र तीमध्ये अधिकांशलाई अक्सिजनको आवश्यकता पर्छ ।

भारतमा अक्सिजन अभाव

सामान्यतः ९ घण्टामा खाली हुने अक्सिजनको ट्यांक बिरामी सिकिस्त भएका कारण ६ घण्टामा सकिने गर्छ । जसका कारण उनले सधैंजसो अक्सिजन ल्याउने दुवै बिक्रेताकहाँ अक्सिजन सकिएको छ । शुक्रबार राति उनले मुम्बई वरपरका १० जना बिक्रेता र ४ वटा अस्पतालमा धाए ।

तर कतैबाट पनि सहयोग भने मिलेन । करिब बिहान २ बजे मात्र उनले करिब ३० किलोमिटर परको एक अस्पतालबाट अक्सिजनका २० वटा ठूला सिलिन्डर पाए पनि लैजाने गाडी भने पाएनन् । सिलिन्डर अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स ५ पटक ओहोरदोहोर गर्नुपर्‍यो । ‘अब मसंँग १२ घण्टालाई पुग्ने मात्र अक्सिजन छ,’ उनले आइतबार साँझ भने, ‘अक्सिजनका लागि हामीले दैनिक लड्नुपर्ने अवस्था छ ।’ विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित करिब १५ प्रतिशत बिरामीलाई श्वासप्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्छ । त्यसमध्ये कतिपयलाई भेन्टिलेटरमा राख्नुपर्छ ।

भारतमा अक्सिजन शुद्ध गर्ने करिब ५ सय कम्पनी छन् । ती कम्पनीले उत्पादन गर्ने करिब १५ प्रतिशत अस्पतालहरूमा प्रयोग हुन्छ । बाँकी अक्सिजन स्टिल तथा अटोमोबाइल कम्पनीमा खपत हुन्छ । कतिपय अस्पतालले अक्सिजन स्टोर गर्ने स्टिल र आल्मुनियमका सिलिन्डर प्रयोग गर्छन् । तर अस्पतालका शय्यामा लगाइएका त्यस्ता सिलिन्डरहरू बारम्बार परिवर्तन गर्नुपर्ने झन्झट हुन्छ ।

पछिल्लो समय भारतको अर्थतन्त्र चलायमान भएसँगै मानिस काममा फर्केपछि कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । विश्वकै दोस्रो प्रभावित भारतमा हाल ५३ लाख ८ हजारभन्दा बढी संक्रमित छन् । भारतमा पछिल्ला दिनमा दैनिक ९० हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् ।

संक्रमित थपिने क्रम तीव्र भएसँगै अस्पतालहरूमा अक्सिजनको माग बढेको छ । अस्पताल तथा हेरचाह केन्द्रहरूले यो महिना मात्र दैनिक २ हजार ७ सय टन अक्सिजन खपत गर्न थालेका छन् । भारतीय ग्यास उत्पादक संघका अनुसार अप्रिलमा ७ सय ५० टन अक्सिजन खपत भएको थियो । उत्पादकहरूले भने लकडाउनका क्रममा बन्द भएका कतिपय कम्पनीहरू अझै नखुलिसकेकाले पनि अक्सिजनको अभाव भएको दाबी गरेका छन् । पछिल्लो समय खासगरी संक्रमण तीव्र भएका महाराष्ट्र, मध्यप्रदेश, गुजरात, राजस्थान, तेलंगाना, आन्ध्र प्रदेशमा समस्या भयावह देखिएको छ ।

‘हामीले हाल उत्पादन गरेको ४५ प्रतिशत अक्सिजन उद्योगहरूले लैजान्छन् । ५५ प्रतिशत अस्पताल तथा नर्सिङ होममा जान्छ,’ भारतको ग्यास उत्पादक संघका अध्यक्ष सकेत टिक्कुले भने । उद्योग र अस्पताल दुवैतर्फ अक्सिजनको कटौती गर्न सम्भव नभएको उनी बताउँछन् । यस्तो अवस्थामा समस्या समाधानका लागि सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि उत्पादन बढाउनुको विकल्प नरहेको जानकारहरू बताउँछन् ।

भारतमा हालसम्म कोभिड–१९ को संक्रमणका कारण ८५ हजार ६ सयभन्दा बढीको ज्यान गइसकेको छ । अक्सिजन अभावले यो संख्या छिटो उकालो लाग्ने निश्चित नै छ । गत सातामध्ये प्रदेशको एक अस्पतालमा अक्सिजन अभावका कारण ४ जना संक्रमितको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । यद्यपि, उक्त समाचारलाई अधिकारीहरूले अस्वीकार गरेका थिए ।

तर पछिल्ला दिनहरूमा मध्यप्रदेशले भाइरस संक्रमणको ठूलो चुनौती झेलिरहेको छ । चिन्डवारा जिल्लाका एक बिक्रेताले एक सातादेखि ग्यास आपूर्ति ठप्प रहेको जनाए । ५ वर्षदेखि ग्यास भर्दै आएका पीयूष भाटले अक्सिजन सिलिन्डरको माग मासिक ४ गुणाले बढेको बताए ।

जिल्लामा रहेको एक हजार शय्याको सरकारी अस्पताल कोभिड–१९ का बिरामीले भरिएको छ । करिब १२५ किमि टाढाको महाराष्ट्रमा रहेको ग्यास उत्पादन गर्ने कम्पनी ठप्प भएकाले भाट कामविहीन छन् । ‘सीमाक्षेत्रबाट कुनै ट्रक पार भएका छैनन्,’ उनले भने, ‘मैले यसअघि यस्तो संकटको सामना गरेको थिइनँ ।’ अझै पनि अक्सिजनको आपूर्ति हुने प्रतिक्षा रहेका भाटले तत्काल सरकारले समस्या समाधान नगरे भारतमा कोभिड–१९ का कारण इटालीमाझैं मानिसको ज्यान जान सक्ने बताउँछन् ।

चिन्डवारा जिल्लाका निजी अस्पतालका चिकित्सकहरू पनि कोभिड बिरामीलाई अक्सिजनको व्यवस्था गर्न कठिन भएको बताउँछन् । ‘स्थिति निकै तनावपूर्ण छ,’ ६० शय्याको ग्लोरी अस्पतालका चिकित्सक डेनिस खान भन्छन्, ‘यदि हामीले समयमै पर्याप्त अक्सिजन पाएनौं भने बिरामी लिन रोक्नुपर्ने बाध्यता छ ।’

प्रकाशित : आश्विन ४, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?