१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बेलायतमा कोरोनाको दोस्रो लहर

नवीन पोखरेल

लन्डन — कोरोना भाइरस (कोभिड–१९) बाट युरोपमा सबैभन्दा बढी प्रभावित बेलायतमा दोस्रो लहर सुरु भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा भाइरसको दोस्रो लहर (वेभ) आइसकेको बताउँदै सरकारले थप कडाइ गर्न विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री जोन्सनले संक्रमण रोक्नका लागि अलिक कडा खालका प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउन सक्ने पनि बताएका छन् ।

बेलायतमा कोरोनाको दोस्रो लहर

संक्रमण नियन्त्रणका लागि सरकारले अघिल्लो सोमबारदेखि ६ जनाभन्दा बढीको जमघटमा प्रतिबन्ध लगाएको छ । अघिल्लो दिन स्वास्थ्यमन्त्री म्याट हयानककले राष्ट्रव्यापी लकडाउन गर्ने सरकारको चाहना नभए पनि आवश्यक परे उक्त विकल्पका लागि पनि तयार रहनुपर्ने बताएका थिए ।

यसअघि बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस (कोभिड–१९) का कारण हजारौंको ज्यान जान सक्ने चेतावनी दिइसकेका छन् । दुई सातायता संक्रमण बढ्न थालेपछि इंग्ल्यान्डमा कतिपय क्षेत्रमा कडा प्रतिबन्ध सुरु भइसकेको छ ।

नर्थ इस्ट इंग्ल्यान्डमा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि थप कडाइ गरिएको छ । सरकारी घोषणाअनुसार गत बिहीबार मध्यरातदेखि त्यस क्षेत्रका करिब २० लाख मानिस अर्को परिवारसँग घुलमिल हुन वञ्चित भएका छन् । बार, पबका लागि १० बजेपछि कफ्र्यु लगाइएको छ । बीबीसीका अनुसार अहिले बेलायतको जनसंख्यामध्ये पाँचमा एक अर्थात् १३ दशमलव ५ मिलियन मानिसले सरकारको कडा नियम सामना गरिरहेका छन् ।

बेलायतमा गत शुक्रबार पछिल्लो २४ घण्टामा साढे ४ महिना (८ मे) यताकै सबैभन्दा बढी संक्रमित थपिए । ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ को तथ्यांकअनुसार थप ४ हजार ३ सय २२ जना नयाँ संक्रमित थपिएका हुन् । २४ घण्टाभित्र २७ जनाले ज्यान गुमाएका छन् । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरूले संक्रमण प्रत्येक साता दोब्बर बढिरहेको बताएका छन् । यही दरले संक्रमण बढ्ने हो भने दैनिक ६ हजार र अक्टोबर मध्यसम्म एक लाख बढी पुग्ने चेतावनी उनीहरूको छ । बेलायतमा हालसम्म ३ लाख ८५ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारसम्म मृतक संख्या ४१ हजार ७ सय ३२ छ ।

पछिल्ला दिनमा बेलायत सरकारलाई बढ्दो परीक्षणको माग पूर्ति गर्न पनि संघर्ष भइरहेको छ । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) टेस्ट एन्ड ट्रेस प्रमुख डिडो हार्डिङले बहुसंख्यक मानिस ‘कोभिड–१९’ परीक्षण चाहिरहेका तर सम्भव नभएको स्विकारेका छन् । संसद्मा बोल्दै उनले परीक्षण गर्न सरकारको क्षमताभन्दा ४ गुणा बढी माग रहेको बताएका थिए । वैज्ञानिकहरूले सरकारले परीक्षणको दायरा बढाई भाइरस ‘ट्रयाक’ गर्न असमर्थ हुने हो भने दोस्रो लकडाउन आवश्यक हुने चेतावनी दिइसकेका छन् । बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिंखडा अहिले बेलायतमा वयस्कहरू बढी संक्रमित भएको बताउँछन् ।

‘शैक्षिक संस्थान खुलेपछि अधिकांश वयस्कमा संक्रमण पाइएको छ । उनीहरूले वृद्धवृद्धालाई सार्ने जोखिम बढी रहँदा अवस्था भयावह हुन सक्छ’, डा. सिंखडाले कान्तिपुरसँग भने, ‘चिसो मौसम, हयुमिडिटी र नन भेन्टिलेटेड बसाइले मानिसमा संक्रमण छिटो भइरहेको छ । वैज्ञानिकहरूले आउँदो नोभेम्बरमा पिक हुन सक्छ भन्ने अनुमान गरेका छन् र यस पटक पहिलेभन्दा बढी खतरनाक हुने चिन्ता छ ।’ नियमित सरसफाइ, भौतिक दूरी, नन एक्सपोजर र जमघट कम गर्नु नै रोकथामको उत्तम विकल्प देख्छन् सिंखडा ।

प्रकाशित : आश्विन ३, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?