कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘चुनावी फाइदाका लागि मेघालयका मुख्यमन्त्रीले गोर्खाल्यान्ड मुद्दा उठाए’

मनोज बोगटी

दार्जिलिङ — दार्जिलिङको मुख्य दल गोर्खा जनमुक्ति मोर्चाले भारतको मेघालय राज्यका मुख्यमन्त्री कनराड के साङ्माले चुनावी फाइदाका लागि गोर्खाल्यान्डको मुद्दा उठाएको आरोप लगाएको छ ।

‘चुनावी फाइदाका लागि मेघालयका मुख्यमन्त्रीले गोर्खाल्यान्ड मुद्दा उठाए’

मुख्यमन्त्री साङ्माले दार्जिलिङमा छुट्टै गोर्खाल्यान्ड राज्य गठनका लागि प्रक्रिया सुरु गर्न माग गर्दै बुधबार केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्राचागरेका थिए । ‘जुन राज्यमा गोर्खा नै प्रताडित छन्, जुन राज्यमा गोर्खालाई दोस्रो नागरिकको दर्जा दिइएको छ, त्यही राज्यका मुख्यमन्त्रीले छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्नुको के अर्थ ?’ मोर्चाले भनेको छ ।

उत्तर बंगाल नेसनल पिपल्स पार्टी (एनपीपी) प्रति गोर्खाहरूलाई आकर्षित गराउन साङ्माले त्यस्तो चाल चलेको मोर्चाको आरोप छ । साङ्माले उत्तर बंगालमा दल विस्तार गर्न प्रतिनिधिहरूसमेत नियुक्त गरिसकेका छन् ।

मोर्चाका प्रवक्ता केशवराज पोखरेलले मेघालयमा गोर्खाहरू पीडित रहेका आरोपसमेत लगाएका छन् । ‘मेघालय सरकारले त्यहाँका गोर्खाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने गर्छ । त्यहाँ आजसम्म पनि गोर्खाहरूले जग्गाजमिन किन्न सक्दैनन्,’ पोखरेलले भने, ‘मेघालयमा आफ्नो पिताको जमिन छोराको नाममा समेत हस्तान्तरण हुँदैन । यसबाहेक मेघालयमा गोर्खाहरूलाई सरकारी नोकरी गर्ने अधिकारसमेत छैन ।’

विभिन्न राजनीतिक दाउपेच अनि कानुनहरू लगाएर मेघालयबाट गोर्खाहरूलाई खेद्ने षड्यन्त्र अझै पनि उत्तिकै रहेको पोखरेलको दाबी छ । साङ्माको पत्राचारप्रति सन्देह व्यक्त गर्दै पोखरेलले उनकै पार्टी एनपीपीले नै मेघालयका गोर्खाहरूमाथि थिचोमिचो गरिरहेको दाबी गरे । ‘मुख्यमन्त्री कनराडकै पिता पीए साङ्माले आफू मुख्यमन्त्री छँदा १९८० को दशकमा लाखौं गोर्खाहरूलाई मेघालयबाट लखेटेका हुन्,’ पोखरेलले भने, ‘त्यतिबेला आधा बाटोमा ज्यान गुमाएका गोर्खाको दाहसंस्कारसमेत गर्न दिइएको थिएन ।’

उक्त ज्यादतीका कारण नै गोर्खाको हक अधिकारका लागि दार्जिलिङबाट सुवास घिसिङले गोर्खाल्यान्ड आन्दोलन सुरु गरेको पोखरेलले बताए । ‘मेघालयमा गोर्खाहरूमाथि भएको अत्याचारले नै गोर्खाहरूको छातीमा गोर्खाल्यान्डको आगो सल्किएको हो,’ पोखरेलले भने, ‘मुख्यमन्त्री साङ्माले साँच्चै गोर्खाहरूको हित चाहन्छन् भने पहिले मेघालयका गोर्खाहरूलाई सम्मानको साथ बाँच्ने अधिकार प्रदान गर्नुपर्छ ।’

प्रकाशित : आश्विन २, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?