कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

ईयू र आफ्नै दलको चेपुवामा जोन्सन

युरोपेली संघबाट बाहिरिन बेलायतले जनवरीमा गरेको सम्झौता प्रतिकूल हुने गरी नयाँ विधेयक ल्याउने सरकारी कदमको ५ जना पूर्वप्रधानमन्त्रीद्वारा आलोचना
नवीन पोखरेल

लन्डन — ब्रेक्जिट मुद्दामा बेलायत र ईयूबीच सम्बन्ध चिसिइरहेका बेला देशभित्रै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आफ्नै पार्टीको समेत चेपुवामा परेका छन् ।बेलायतले युरोपेली संघबाट बाहिरिन गत जनवरीमा आफैंले गरेको सम्झौता प्रतिकूल हुने गरी नयाँ विधेयक ल्याउने सरकारी कदमको बेलायतका जीवित सबै ५ जना भूतपूर्व प्रधानमन्त्रीहरूले समेत आलोचना गरेका छन् ।

ईयू र आफ्नै दलको चेपुवामा जोन्सन

सरकारको त्यस्तो कदमको आलोचना गर्ने डेभिड क्यामरुन बेलायतका पाँचौं पूर्वप्रधानमन्त्री हुन् । बीबीसीका अनुसार यसअघि बेलायती पूर्वप्रधानमन्त्रीहरू सत्तारूढ कन्जरभेटिभ दलकी टेरेजा मे र सर जोन मेजर एवं विपक्षी दल लेबरका टोनी ब्लेयर तथा गोर्डन ब्राउनले पनि विधेयकको निन्दा गरेका छन् । क्यामरुनले केही उपाय नभएपछि मात्र अन्तर्राष्ट्रिय सन्धि भंग गर्ने कुरा सोच्न सकिने बताएका छन् ।

त्यसका साथै जोन्सनको कदमप्रति सत्तारूढ पार्टीकै ब्रेक्जिट पक्षधर कैयौं सांसदहरू पनि रुष्ट छन् । पूर्वमहान्यायाधिवक्ता जेफ्री कोक्सले विधेयकले बेलायतको अन्तर्राष्ट्रिय प्रतिष्ठामा क्षति पुर्‍याएको भन्दै यस्तो अवस्थामा प्रधानमन्त्री जोन्सनलाई समर्थन गर्न नसकिने बताएका छन् ।

उक्त विषयलाई लिएर सरकारका एक जना कानुनी सल्लाहकार स्कटल्यान्डका महाधिवक्ता लर्ड किनले आफ्नो पदबाट राजीनामा दिएका छन् । ‘फ्रिडम अफ रिलिजन अर बिलिफ’ सम्बन्धी प्रधानमन्त्रीका विशेष दूत टोरी सांसद रेमन चिस्थीले पनि राजीनामा दिएका छन् । आफू सधैं कानुनी शासनको सम्मान गर्ने भन्दै उनले विधेयकको पक्षमा मत दिँदा यसको मूल्य मान्यताविरुद्ध हुने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयले युरोपेली संघबाट बेलायत बाहिरिने विषयमा पारित सम्झौताका केही बुँदा निष्क्रिय पार्ने सरकारी योजनासँग सहमत नरहेका सत्तारूढ टोरी पार्टीका केही सांसदहरूसँग एउटा सहमतिमा पुगेको छ । प्रधानमन्त्री जोन्सन आन्तरिक बजारसम्बन्धी विधेयकलाई संशोधन गर्नुअघि सांसदहरूबाट त्यसमाथि मतदान गराउन सहमत भएका छन् ।

तर प्रमुख विपक्षी दल लेबरले बेलायत सरकारले विगतमा आफैंले गरेको सम्झौता उल्लंघन गर्न लागेको आरोप लगाएको छ । युरोपेली संघबाट बेलायत बाहिरिने सम्झौतामा उत्तरी आयरल्यान्डसँगको व्यापारमा युरोपेली संघको नियम लागू हुने उल्लेख छ । तर, बेलायत सरकारले अहिले त्यो प्रावधान बदल्न चाहिरहेको छ । बेलायत आाफैंले अन्तर्राष्ट्रिय कानुनविपरीत भन्ने स्विकारेको ‘आन्तरिक बजार विधेयक’ संसद्मा लगेपछि युरोपेली संघले यदि ब्रिटेनले यो महिनाको अन्त्यसम्ममा विधेयकमा रहेका विवादास्पद बुँदा नहटाए कानुनी कारबाही गर्ने चेतावनी दिइसकेको छ । तर, बेलायती प्रधानमन्त्रीको कार्यालयले भने आन्तरिक बजार विधेयक ‘देशका लागि कानुनको महत्त्वपूर्ण अंश’ भएको दाबी गर्दै आएको छ ।

विधेयकले अन्तर्राष्ट्रिय कानुन उल्लंघन हुन सक्ने भए पनि उत्तरी आयरल्यान्डबाट बेलायतका अन्य भागमा समानको सहज आपूर्तिका लागि यो महत्त्वपूर्ण हुने जिकिर सरकारको छ ।

प्रधानमन्त्री जोन्सनका प्रवक्ताले प्रस्तावित विधेयकले महत्त्वपूर्ण कानुनी सुरक्षा अवलम्बन गरेको बताउँदै यसबाट सरकारले ‘बेलायतको आन्तरिक बजारको अखण्डता सुनिश्चित गर्न आवश्यक कदम चाल्न सक्ने’ बताएका छन् ।

बेलायती संसद्मा उक्त विधेयक पारित भए पनि यसका अरू चरण झन् बढी कठिन हुन सक्छन् । विशेष गरी विधेयक बहसका लागि हाउस अफ लर्ड्ससमक्ष पुगेपछि यो झन् जटिल बन्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता एवं बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य सुवेदीको बुझाइमा अहिले ब्रेक्जिटसम्बन्धी विवाद अन्तर्राष्ट्रिय कानुनी प्रश्न मात्र नभई बेलायतको राष्ट्रिय र प्रादेशिक क्षेत्रीय अखण्डता जस्तो महत्त्वपूर्ण विषयसँग पनि सम्बन्धित छ ।

ईयूले बेलायतलाई वार्ताका क्रममा कठोर र अस्वाभाविक माग तेर्स्याएको सुवेदी बताउँछन् । ‘बेलायतजस्तो कानुनबमोजिम शासनको सूत्रधार र अन्तर्राष्ट्रिय कानुनको हिमायती मुलुकले पनि राष्ट्रको क्षेत्रीय अखण्डता कायम राख्न विभिन्न विकल्प सोचेको छ,’ उनले भने, ‘अहिलेको विवाद तिनै विकल्पमध्येको एक अन्तर्राष्ट्रिय कानुनी प्रश्नमा केन्द्रित छ ।’

युनिभर्सिटी कलेज लन्डनका सहप्राध्यापक डा. तेजेन्द्र फेराली बेलायत सरकारको ‘वार्ता रणनीति’ मान्छन् पछिल्लो घटनाक्रम । ‘बेलायतले पटकपटक बिनाव्यापार सम्झौता हामी बाहिरिन्छौं भनिरहँदा उसले ईयूलाई पेलेर जान खोजेको देखिन्छ,’ फेराली भन्छन्, ‘तर दुवै पक्ष अन्तिममा मिल्नुको विकल्प छैन । कोभिड–१९ महामारीले विश्व अर्थतन्त्र संकटोन्मुख हुँदा आपसी समझदारीको बढी खाँचो छ ।’

मानव अधिकारकर्मी एवं अन्तर्राष्ट्रिय कानुनका जानकार डा. कृष्ण उपाध्याय बेलायतको आर्थिक सीमानाको रक्षा गर्ने भन्दै ल्याइएको विधेयकले संयुक्त अधिराज्यको वर्तमान सरकारका दुइटा पक्ष उजागर गरेको बताउँछन् । बेलायत सरकारले यो विधेयक ल्याएर आफैंले हस्ताक्षर गरेको सम्झौता उल्लंघन गरेको उनको भनाइ छ । अमेरिका, बेलायतलगायत केही मुलुकले अहिले अन्तर्राष्ट्रिय कानुन र सम्झौता ‘राष्ट्रिय स्वार्थ’ का कारणले गरिरहेका उपाध्यायको बुझाइ छ ।

प्रकाशित : आश्विन २, २०७७ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?