रुसी विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा सुधार

एजेन्सी

बर्लिन — रुसका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पतालका चिकित्सकहरूका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम श्वासप्रश्वास यन्त्र हटाइएको छ । उनी हाल अस्पतालको शय्याबाट उठेर सामान्य हिँडडुल गर्न थालेको बताइएको छ ।

रुसी विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा सुधार

‘नाभाल्नीलाई श्वास फेर्नका लागि राखिएको मेकानिकल भेन्टिलेटर हटाइएको छ । छोटो अवधिका लागि उनी अस्पतालको शय्याबाट यताउता हिँडडुल गर्न सक्ने हुनुभएको छ,’ च्यारिटी अस्पतालले जनाएको छ ।

फ्रान्सेली र स्विडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले घोषणा गरेको छ । ४४ वर्षीय नाभाल्नीलाई थप उपचारका लागि गत अगस्ट २० मा रुसबाट जर्मनीको बर्लिन ल्याइएको हो । उनी ओम्स्कबाट मस्को फर्कने क्रममा विमानमै अचेत भएका थिए ।

जर्मनीले नोभिचोक रसायन खुवाइएकाबारे अनुसन्धान गर्न रुससमक्ष अनुरोध गरेको छ । तर रुसले भने पश्चिमा मुलुकले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेको आरोप लगाएको छ । नाभाल्नीका समर्थकहरूले रुसी राष्ट्रपति पुटिनको निर्देशनमा उनलाई मार्न खोजिएको दाबी गरेका छन् । रुसी राष्ट्रपति कार्यालयले भने उक्त आरोप अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।

रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले मस्कोविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गर्ने कुत्सित उद्देश्यबाट नाभाल्नीको मुद्दालाई पश्चिमा मुलुकले उछालेको आरोप लगाएका छन् । उनले नाभाल्नीलाई बचाउन विमानका पाइलटले ठूलो भूमिका निर्वाह गरेका पनि दाबी गरे । ‘पाइलट, एम्बुलेन्सका सदस्य र चिकित्सकहरूको प्रयास निकै सराहनीय छ । रुसी अनुसन्धानकर्ताहरूले पनि घटनामा भरपर्दो र विश्वासिलो नतिजा ल्याउनेछन्,’ लाभ्रोभले भने ।

प्रकाशित : भाद्र ३१, २०७७ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?