कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तेल ट्यांकरबाट ४० दिनपछि ओर्लन पाए आप्रवासी

एजेन्सी

रोम — डेनमार्कको एउटा तेल ट्यांकरले उद्धार गरेका आप्रवासीहरूको एक समूहलाई ४० दिनपछि इटालीले आफ्नो भूभागमा ओर्लन दिएको छ । एक गर्भवती महिलासहित २७ जना आप्रवासीले अगस्ट २ मा लिबियाबाट युरोपको यात्रा तय गरेका थिए । उनीहरू चढेको डुंगा डुब्न लागेपछि डेनिस ट्यांकर मेयर्स्क एटिएन्नले उनीहरूको उद्धार गरेको थियो ।

तेल ट्यांकरबाट ४० दिनपछि ओर्लन पाए आप्रवासी

तर उक्त पानीजहाजमा रहेका आप्रवासीलाई एक महिनाभन्दा लामो समयसम्म कुनै पनि देशले ओर्लने अनुमति दिएनन् । तर आप्रवासीहरूको उक्त समूहलाई एउटा गैरसरकारी संस्था मेडिटेरानिया सेभिङ ह्युमन्सले सञ्चालन गरेको डुंगामा राखेर शुक्रबार पोजालो बन्दरगाह लगिएको बीबीसीले उल्लेख गरेको छ । ‘यससँगै युरोपेली सामुद्रिक यात्राको इतिहासमा सबैभन्दा लामो र लज्जास्पद अन्योल सकिएको छ,’ संस्थाले ट्वीटरमा लेखेको छ ।

तेल बोक्ने पानीजहाजका क्याप्टेन भोलोदिमिर एरोस्किनका अनुसार माल्टाका अधिकारीहरूले ज्यान जोखिममा परेका आप्रवासीको उद्धार गर्न आग्रह गरेको थियो । तर माल्टाले भने त्यस्तो आग्रह नगरिएको तर उनीहरूलाई आफ्नो जलक्षेत्रभन्दा बाहिरबाट उद्धार गरिएको जनाएको छ । ‘चालक दलले उनीहरूको उद्धारका लागि सक्दो प्रयास’ गरेको क्याप्टेन एरोस्किनको भनाइ छ । तर कुनै पनि देशले आप्रवासीलाई ओर्लन अनुमति नदिएपछि चालक दल र आप्रवासीमा नैराश्यता उत्पन्न भएको थियो ।

करिब ६ साताको अवधिमा आप्रवासीहरू समुद्रमा हाम नफालुन् भन्नेमा चालक दल चनाखो हुनुपर्ने बाध्यता आइपर्‍यो । किनकि केही साताअघि एक आप्रवासीले समुद्रमा हामफाल्ने धम्की दिएका थिए । तर पछिल्लो दिनमा तीन जनाले साच्चै नै समुद्रमा हाम फाले । चालकदल तत्काल खटेका कारण उनीहरूको फेरि उद्धार गरियो । क्याप्टेन एरोस्किनले ती आप्रवासीलाई पानीजहाजबाट ओर्लिन दिने बन्दरगाह भेट्न नसकेका कारण आफूलाई निकै पीर परेको जनाएका थिए । ‘हामी पानीजहाज रोकेर बसेका छौं । हालका लागि हाम्रो गन्तव्य कुनै छैन । यी मानिसलाई ओराल्न दिने कुनै ठाउँ भेटिएको छैन,’ एरोस्किनले केही दिनअघि भनेका थिए ।

क्याप्टेन एरोस्कनले तेल बोक्ने पानीजहाजमा मानिस राख्नका लागि ठाउँ नभएको र चालकदल उद्धारका लागि पनि तालिमप्राप्त नभएकाले अवस्था गम्भीर रहेको बताएका थिए । औषधोपचारमा सहायता गर्न सक्ने कर्मचारीको अभाव हुनुका साथै मानिसहरूका दिनदिनै नैराश्यता बढ्दै गएको उनले बताएका थिए । आप्रवासीहरूको उद्धार गर्ने क्रममा व्यापारिक पानीजहाजले भूमध्य सागरमा अड्किएको यो पहिलो पटक भने होइन । बीबीसीका अनुसार यस वर्षमात्रै भूमध्यसागरमा रोकिएका तीनवटा जहाजमध्ये यो सबैभन्दा लामो समय अड्केको हो । यसअघिका दुइटा पानीजहाज एक साताभित्रै बन्दरगाह पुग्न सफल भएका थिए ।

चार वर्षअघि आप्रवासी संकट उच्च रहेका बेला प्रत्येक महिना सयौंले समुद्रमा ज्यान गुमाउने गर्थे । त्यतिबेला पनि भूमध्य सागरमा जहाज चलाउने मेयर्स्कका क्याप्टेन एरोस्किनले सयौं आप्रवासीको उद्धार गरेका थिए ।

यस वर्षको ८ महिनामा मात्रै ५ सय ५४ जना आप्रवासीले समुद्रमा ज्यान गुमाइसकेका छन् । कार्गो जहाजले मात्रै यो वर्ष भूमध्य सागरमा ३ सय जनाभन्दा बढी मानिसको उद्धार गरिसकेको छ ।

तर पछिल्लो समय उद्धार गरिएका आप्रवासीलाई ओराल्न समस्या भएपछि एरोस्किनले भने आफू उद्धारका लागि अघि नसर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित : भाद्र २९, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?