१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बहराइन र इजरायलबीच सम्बन्ध सुधार

एजेन्सी

वासिङ्टन/जेरुसेलम — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र बहराइनबीच सम्बन्ध सुधारका लागि सम्झौता भएको जनाएका छन् । करिब एक महिना अगाडि संयुक्त अरब इमिरेट्स (यूएई) र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्न शान्ति सम्झौता भएको थियो ।

बहराइन र इजरायलबीच सम्बन्ध सुधार

इजरायलसँग करिब एक महिनाको अवधिमा शान्ति स्थापना गर्ने बहराइन दोस्रो अरब मुलुक भएको जनाएका छन् ।

‘३० दिनभित्र इजरायलसँग शान्ति कायम गर्दै दोस्रो अरब देश,’ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र बहराइनका राजा हमाद बिन इसा बिन सलमान अल–खालिफाले संयुक्त रूपमा जारी गरेको वक्तव्य पनि सार्वजनिक गरेका छन् । ‘यो मध्यपूर्वको शान्तिका लागि अर्को महत्त्वपूर्ण कदम हो । यसले यो क्षेत्रको स्थायित्व, सुरक्षा र समृद्धि बढाउनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्यालेस्टाइनसँगको विवाद समाधानपछि मात्र सम्बन्ध राख्ने भन्दै दशकौंदेखि अधिकांश अरब मुलुकले इजरायललाई एक्लाउँदै आएका थिए । बहराइनले गत महिना इजरायल र यूएईबीच भएको सम्झौता पछ्याएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि भन्दै मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका थिए । त्यसअनुसार ट्रम्पले यूएई तथा बहराइनसँगका शान्ति प्रयासको मध्यस्थता गरेका थिए । सन् १९४८ मा स्थापित इजरायललाई मान्यता प्रदान गर्ने बहराइन चौथो देश बनेको छ । यसअघि इजिप्ट, जोर्डन र यूएईले इजरायललाई मान्यता दिइसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच भएको सम्झौतालाई ‘अर्को ऐतिहासिक घटना’ को संज्ञा दिएका छन् । त्यस्तै इजरायलका प्रधानमन्त्री नेतान्याहुले यसलाई ‘शान्तिको नयाँ युग’ भनेका छन् ।

घोषणालगत्तै प्यालेस्टाइनले त्यसलाई ‘जेरुसेलम तथा प्यालेस्टाइनविरुद्धको धोका’ भनेको छ । उक्त कदप्रति रुष्ट प्यालेस्टाइनले बहराइनस्थित आफ्ना राजदूतलाई छलफलका लागि फिर्ता बोलाएको बीबीसीले उल्लेख गरेको छ ।

उक्त कदमप्रति मध्यपूर्वमा मिश्रित प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । इजिप्टले पछिल्लो घोषणाको स्वागत गरेको छ । तर टर्कीले भने कडा निन्दा गरेको छ । अमेरिका निकट साउदी अरबले भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन । प्यालेस्टाइनी समूह हमासले इजरायल–बहराइन सम्झौतालाई खराब भनेको छ ।

त्यस्तै इस्लामिक जिहाद संगठनले दुई देशबीच भएको सम्झौता निकै लज्जाजनक भएको उल्लेख गरेको छ । दुई देशबीच भएको सम्झौतालाई अमेरिकी राष्ट्रपति ट्रम्प र उनका ज्वाइँको कूटनीतिक सफलताका रूपमा अर्थ्याइएको छ । ‘यो घोषणा राष्ट्रपति ट्रम्प तथा उनका छोरीज्वाइँ जरेद कुस्नरका लागि ठूलो कूटनीतिक उपलब्धि हो,’ बीबीसीले उल्लेख गरेको छ । कुस्नरले हालै मध्यपूर्वको भ्रमणसमेत गरेका थिए । त्यस क्रममा उनले ट्रम्प प्रशासनले मध्यपूर्वमा सकारात्मक ऊर्जा प्रवाह गरेको दाबी गरेका थिए ।

प्रकाशित : भाद्र २८, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?