तालिवानसँग ‘ऐतिहासिक’ शान्तिवार्ता सुरु- विश्व - कान्तिपुर समाचार

तालिवानसँग ‘ऐतिहासिक’ शान्तिवार्ता सुरु

अफगानिस्तानलाई सबै जातजाति प्रेमपूर्वक बस्न सक्ने इस्लामिक प्रणालीसहितको स्वतन्त्र देशका रुपमा हेर्न चाहेको तालिवानका सहसंस्थापकको भनाइ
एजेन्सीहरु

दोहा — अफगान सरकार तथा तालिवान विद्रोही समूहबीचुको पहिलो प्रत्यक्ष शान्तिवार्ता कतारको राजधानी दोहामा शनिबार सुरु भएको छ । वार्ताको उद्घाटन सत्रमा उपस्थित हुन दोहा पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले दुई पक्षबीचको वार्तालाई ‘ऐतिहासिक’ भनेका छन् ।

फेब्रुअरीमा अमेरिका र तालिवानबीच सुरक्षा समझदारी भएलगत्तै यो वार्ता हुने ठानिएको थियो । तर बन्दीहरूको आदानप्रदानबारेको विवादास्पद समझदारी लागू गर्ने विषयका कारण वार्तामा ढिलाइ भएको हो । जसका कारण त्यसयता पनि अफगानिस्तानमा हिंसा जारी रह्यो ।

वार्तामा भाग लिन अफगान सरकारको टोली सेप्टेम्बर ११ मा दोहा पुगेको हो । १९ वर्षअघि अमेरिकामा आतंकवादी आक्रमण भएपश्चात् अफगानिस्तानमा तालिवानको शासन अन्त्य भएको थियो । बिहीबार अन्तिम ६ जना बन्दी रिहा भएपछि तालिवान समूह वार्तामा भाग लिन तयार भएको थियो । निकै घातक आक्रमणमा संलग्न ६ जनालाई रिहा गर्ने विषयमा केह देशले कडा आपत्ति जनाएका थिए । खासगरी फ्रान्स र अस्ट्रेलियाले उनीहरूले आफ्ना देशका नागरिकलगायत सहायताकर्मीमाथि निर्मम आक्रमण गरेको बताएका थिए ।

अफगान सरकारी टोलीका नेता अब्दुल्लाह अब्दुल्लाहले आफूहरूले ‘न्याय र सम्मानपूर्ण शान्ति’ खोजेको बताएका छन् । अब्दुल्लाहले ४२ वर्षदेखिको उथलपुथल साम्य पार्ने समय आएको भन्दै वाक् स्वतन्त्रता तथा महिला अधिकारको सम्मान गरिनुपर्ने जनाए ।

राष्ट्रिय मेलमिलाप उच्च आयोगका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहलगायतका अधिकारी तालिवानसँगको शान्तिवार्ताका लागि दोहामा तस्बिर :रोयटर्स

दशकौंदेखिको द्वन्द्व अन्त्य गर्ने ठानिएको वार्ताको मध्यस्थता अमेरिकाले गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अफगानिस्तानमा प्रत्येक व्यक्तिको अधिकार सुरक्षित हुन हिंसाको साङ्लो तोडिनुपर्ने बताएका छन् ।

पोम्पियोले वार्ता टोलीका सहभागीलाई आफ्नोबारे मात्र नभई आगामी पुस्ताबारे सोच्न सुझाव दिएका बीबीसीले उल्लेख गरेको छ । उनले शान्तिवार्ताले अफगान नागरिकलाई निर्भरताको जन्जीरबाट समेत फुत्काउने अपेक्षा गरिएको बताए । तालिवान समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरले ‘आफ्नो समूहले अफगानिस्तानलाई सबै जातजातिहरू प्रेम र भाइचाराका रूपमा बस्न सक्ने इस्लामिक प्रणालीसहितको स्वतन्त्र देशको रूपमा हेर्न चाहेको’ बताएका छन् । ‘वार्ताका क्रममा समस्याहरू आउन सक्छन् तर हामीले धैर्यता राख्दै अगाडि बढ्नुपर्छ,’ उनले भने ।

दोहामा शनिबार भएको भेट अफगान सरकार तथा तालिवान प्रतिनिधिबीचको पहिलो प्रत्यक्ष भेट हो । हालसम्म तालिवान विद्रोहीहरूले अफगान सरकार शक्तिहीन तथा अमेरिकाको कठपुतली भएको बताउँदै वार्ता गर्न अस्वीकार गर्दै आएका थिए ।

वार्ता सुरु गरेका दुई पक्षले सन् १९७९ मा सोभियत अतिक्रमणपश्चात्को दशकौं लामो हिंसालाई राजनीतिक मेलमिलापमार्फत अन्त्य गर्ने उद्देश्य राखेका छन् । अफगान सरकार र तालिवानबीच मार्च महिनामै वार्ता सुरु हुने भनिएको भए पनि बन्दी आदानप्रदानसम्बन्धी विवादका कारण स्थगित भएको थियो ।

अफगान द्वन्द्वसँगै सम्बन्धित अमेरिका र तालिवानबीच भएको सम्झौताले विदेशी फौजहरू फिर्ताको समयसीमा निर्धारण गरेको छ । उक्त सम्झौतामा अमेरिका र नेटोका सदस्य राष्ट्रहरू अफगानिस्तानमा तैनाथ सुरक्षा फौज १४ महिनाभित्र फिर्ता गर्न सहमत भएका थिए ।

तालिवान पक्षले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा अल कायदा तथा अन्य चरम आतंककारी समूहलाई आक्रमण गर्न नदिने प्रतिबद्धता जनाएको थियो । त्यसैगरी, अमेरिकाले तालिवानमाथिको प्रतिबन्ध हटाउने तथा आफ्ना केही सैनिक क्याम्प बन्द गरी सेनाको संख्या १२ हजारबाट ८ हजार ६ सयमा झार्ने बताएको थियो ।

सहमतिमा करिब ५ हजार तालिवान बन्दी तथा एक हजार अफगान सुरक्षा फौज रिहा गरिनेसमेत सहमति भएको थियो । उक्त निष्कर्षमा पुग्न दुवै पक्षलाई एक वर्षभन्दा बढी लागेको थियो । तर बन्दीको संख्या र कुन कुन तालिवान नेतालाई रिहा गर्ने भन्ने विषयमा भने सरकार र विद्रोहीबीच असहमति उत्पन्न भएको थियो ।

तालिवानले रिहा गर्न चाहेका केही कमान्डरहरू मुख्य आक्रमणमा संलग्न भएका जनाइएको थियो । ‘हाम्रा जनतालाई मार्ने हत्यारालाई रिहा गर्न सक्दैनौं,’ सरकारी टोलीका एक वार्ताकारले त्यतिबेला भनेका थिए ।

शान्ति वार्तामा सहभागी तालिवान प्रतिनिधिहरु तस्बिर : रोयटर्स

अमेरिकी अखबार वासिङ्टन पोस्टले गत महिना जनाएअनुसार अमेरिकी सेनाको ज्यान गएको आक्रमणका जिम्मेवार ठानिएका तीन जनालाई मुक्त गर्ने विषयमा पनि कुरा मिलेको थिएन । तर अफगानिस्तान सरकारले अगस्टमा ४ सय तालिवान बन्दीलाई रिहा गर्ने प्रक्रिया सुरु गरेपछि वार्ता प्रक्रियाले गति लिएको हो ।

अफगानिस्तानमा १९ वर्षदेखि अमेरिकी सेना तैनाथ छन् । अल कायदा प्रमुख ओसामा बिन लादेनलाई हस्तान्तरण गर्न तालिवानले अस्वीकार गरेपछि अमेरिकाले अफगानिस्तानमा हवाई आक्रमण सुरु गरेको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी आक्रमण गरेको अल कायदा नेता लादेनलाई तालिवानले संरक्षण गर्दै आएको थियो । अमेरिकी आक्रमणपछि तालिवानको सत्ता गुमेको हो ।

तालिवान र सरकारबीचको वार्तामा सहमति पहिल्याउन त्योभन्दा कठिन हुने ठानिएको छ । शान्तिवार्ताप्रति आशाका साथसाथै कतिपयले कतिपयको आशंका छ । खासगरी शान्ति प्रक्रियाका नाममा भर्खर भर्खर हासिल भएको तर अझै कमजोर अवस्थामा रहेको महिला अधिकारलाई बलि चढाइने चिन्ता व्यक्त गरेका छन् ।

हालसम्म तालिवानले भने आफ्नो राजनीतिक दृष्टिकोण प्रस्ट पारिसकेको छैन । उसले केवल इस्लामिक प्रणाली र समावेशिताको मुद्दाबारे मात्रै बोल्दै आएको छ । यो वार्ता भने एउटा लामो प्रक्रियाको सुरुवात हो जसको सफलता सुनिश्चित छैन । तर अन्त्यहीन युद्धको अवस्थाका माझ यो सुरुवात हुनु नै पनि केही उपलब्धि हो । त्यसका साथै सरिया कानुनको कठोर व्याख्या गर्दै सन् १९९० को दशकमा शासन गरेको तालिवानमा आएको परिवर्तनबारे भने वार्ताका क्रममा प्रमाणहरू भेटिनेमा कुनै शंका छैन ।

प्रकाशित : भाद्र २८, २०७७ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्

आयुर्वेदिक औषधिको 'क्लिनिकल ट्रायल' गरिने

एक सातापछि प्रदेश ५ मा एक सय जनामा विभिन्न जडीबुटीको मिश्रण गरेर बनाइएको औषधिको ‘क्लिनिकल ट्रायल’ गर्न लागिएको हो ।
बुनु थारु

काठमाडौँ — नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने भएको छ । उक्त अध्ययन आयुर्वेदिक क्याम्पसका शिक्षक तथा रिसर्च कन्सल्टेन्ट डा. विशुनदयालप्रसाद पटेलको नेतृत्वमा हुनेछ ।

डा. पटेलका अनुसार औपचारिक रूपमा एक सातापछि प्रदेश ५ मा एक सय जनामा विभिन्न जडीबुटीको मिश्रण गरेर बनाइएको औषधिको ‘क्लिनिकल ट्रायल’ गरिँदै छ । ‘उक्त अध्ययनका क्रममा ५० जना बिरामीलाई यो औषधि दिइनेछ र ५० जनालाई दिइने छैन,’ उनले भने, ‘त्यसपछि के नतिजा प्राप्त हुन्छ हेरौं । विभिन्न आयुर्वेदिक औषधि प्रयोगमा ल्याएर बिरामी निको भएको पाएका छौं । त्यसैले हामी प्रतिफल राम्रो आउँछ भन्नेमा सकारात्मक छौं ।’

उनका अनुसार कोभिड–१९ का विरुद्धमा प्रयोग भइरहेको नेपालमै पाइने जेठीमधु र त्रिकटु (सुठो, पिप्ला र मरीच) मिश्रण गरी तयार पारिएको आयुर्वेदिक औषधिले परीक्षणका लागि अनुमति पाएको हो । जेठीमधु र त्रिकटु नै रोज्नुको कारण खुलाउँदै उनले भने, ‘यी औषधिहरू चीनमा पनि परम्परागत औषधिका रूपमा प्रयोग भइसकेका छन् । सार्स रोगको उपचारमा प्रयोग गर्दा यी औषधिमा पाइने रासायनिक तत्त्व ‘ग्लिसिराइजिन’ ले भाइरसलाई मार्न सफल भएको भन्ने अध्ययन पनि छ । यो भाइरस पनि त्यही परिवारअन्तर्गतको हो ।’

डा. पटेलका अनुसार यो औषधि नयाँ भने होइन । ‘सदियौंदेखि प्रयोग हुँदै आएको औषधि हो । घाँटी खसखस गर्दा, रुघाखोकी लाग्ने समस्या यसले निको पार्छ । त्रिकटुले जीउ दुखेमा निको पार्नुका साथै भोक पनि जगाउँछ,’ उनले भने ।

यी औषधि सामान्य र मध्यम लक्षण भएका बिरामीको अवस्था गम्भीर नहोस् भनेर दिइने गरिन्छ । ‘विभिन्न आइसोलेसन र आयुर्वेदिक अस्पतालमा यी औषधिको प्रयोगले बिरामीमा सकारात्मक प्रभाव पनि देखिएको छ । प्रदेश १, २, ५ आदिमा यो प्रयोग भइरहेको छ,’ उनले भने ।

आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार आयुर्वेदिक औषधिले कोभिड–१९ निको पार्छ भनेर ग्यारेन्टी गरिएको छैन । तर, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भने बढाउँछ । ‘राम्रोसँग जडीबुटी औषधिहरू प्रयोग गर्दा शरीरलाई फाइदा हुन्छ । भान्सामा सजिलै पाइने बेसार, मरीच, अदुवा, गुर्जो लाभदायक हुन् । सजिलैसँग त्रिकटु पाइने हुनाले यो औषधि सिफारिस गरिएको हो,’ उनले भने, ‘यो औषधि कोरोनाका बिरामीलाई सुरुवातदेखि नै चलाइराखिएको हो, अहिले वैज्ञानिक अभिलेखीकरणका लागि ट्रायल गर्न लागिएको हो ।’

राष्ट्रिय आयुर्वेदिक अनुसन्धान केन्द्रका निर्देशक डा. रामआधार यादवले पनि कोभिड–१९ को उपचारका लागि प्रमाणित औषधि बनिनसकेको भए पनि आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने दाबी गरे । ‘हामीले आयुर्वेदिक अस्पतालमा हालसम्म ५ सय ७० जना संक्रमितको उपचार गरिसकेका छौं । जसमा ३ सय ५० जना निको भएर गइसकेका छन्,’ उनको दाबी थियो, ‘हामीले नियमित आयुर्वेदिक औषधिका साथै खानपान, योग तथा परामर्श पनि दिने गरेका छौं ।’

लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. नलीनाथ तिवारीले पनि बुटवलस्थित एन्फा आइसोलेसन सेन्टरमा रहेका संक्रमित आयुर्वेदिक औषधिले निको भइरहेको दाबी गरे । आइसोलेसनमा लक्षण नभएका बिरामीहरू छन् । ‘उनीहरूलाई बिहान योग गराउने, गुडुची, च्यवनप्रास नियमित खुवाउने गरिएको छ । भर्ना भएका कसैमा पनि गम्भीर अवस्था देखिएको छैन । सबैलाई लाभ नै भएको छ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य तथा वैकल्पिक चिकित्सा विभागले कोभिड–१९ का लागि बनाएको निर्देशिकामा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडीबुटीहरूको नियमित सेवन गर्न भनेको छ । गुर्जो, असुराको पात, बेसार, सुठो, मरीच, पिप्ला, तुलसीको पात, तेजपात, दालचिनी सेवन गर्ने र दैनिक योग गर्न पनि सुझाइएको छ ।

हालसम्म कोभिड–१९ को खोप र औषधि तयार भएको छैन, परीक्षणकै क्रममा छन् । तर, विश्वमा यस रोगविरुद्ध आयुर्वेदिक औषधि प्रयोगमा ल्याउन स्वीकृति भने दिइएको छैन । केही समयअघि बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले कोभिड–१९ को औषधि दाबी गर्दै ‘कोरोनिल’ बजारमा ल्याएको थियो । तर, भारत सरकारले त्यसको विज्ञापन तथा बिक्रीवितरणमा रोक लगाएको थियो । यसै क्रममा नेपालमा भने एनएचआरसीले संक्रमितमा आयुर्वेदिक औषधिको प्रयोग गरेर अध्ययन कार्य अगाडि बढाएको छ ।

धेरै जनामा अहिले आयुर्वेदिक औषधिप्रतिको विश्वास बढेको पाइन्छ । कोभिड–१९ निको भएर घर फर्किएकाले पनि आइसोलेसनको बसाइमा घरमै पाइने जडीबुटी सेवन गरेर लाभ लिएको दाबी गर्ने गरेका छन् । बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँगको विशेष छलफलमा आयुर्वेदको प्रयोग बढाउन जोड दिएका थिए ।

प्रकाशित : भाद्र २८, २०७७ ०६:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×