तालिवानसँग शान्तिवार्ता दोहामा

अमेरिकाले मध्यस्थता गर्दै
रासस/एएफपी

काबुल — लामो समयदेखि हिंसात्मक द्वन्द्वबाट आजित अफगानिस्थान शान्तिको बाटोमा अघि बढेको छ । सरकार र तालिवानी विद्रोहीबीच कतारमा अमेरिकाको मध्यस्थतामा वार्ता हुने भएपछि शान्तिको बाटोमा अघि बढ्ने संकेत देखिएको हो । वार्ता टोली तालिवान समूहसँगको शान्तिवार्ता गर्न कतारको दोहातर्फ गएको छ । दुई दशक लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले तालिवान समूहसँग सरकारले वार्ता गर्न लागेको हो ।

तालिवानसँग शान्तिवार्ता दोहामा

मूलतः मार्चमा सुरु हुने भनिएको वार्ता दुवैतर्फका कैदीहरूको आदानप्रदानको विवादका कारण बारम्बारपछि धकेलिएको थियो । अफगानिस्तान द्वन्द्वमा कम्तीमा दसौं हजार नागरिकको मृत्यु भइसकेको छ । ‘तालिवानसँग प्रत्यक्ष वार्ता सुरु गर्न सरकारी टोली अफगानिस्तानतर्फ हिँडेको छ,’ वार्ता टोलीका एक सदस्य नादेर नादेरीले ट्वीट गरेका छन् ।

‘अब मेलमिलापको लागि समय तयार छ । हामी एक अर्कासँग कुरा गरेर हाम्रा समस्याहरू समाधान गर्न सक्छौं,’ अफगानिस्तानको सरकारी टोलीका सदस्यमध्येका अब्दुल हफिज मन्सुरले भने । काबुलमा यसै साता उपराष्ट्रपति आरुल्लाह सालेहलाई लक्षित गरी भएको ध्वंसात्मक घटनामा आफन्त गुमाएका व्यापारी अब्दुल्लाहले वार्ताको हुने खबरले अफगानिस्तानभरि आशा जगाएको बताए । ‘हामी शान्तिका लागि आतुर छौं । अब हत्याहिंसा रोकिनुपर्छ,’ उनले भने, ‘म भविष्यको बारेमा धेरै आशावादी छैन, तर हिंसा कम गर्न कम्तीमा शान्तिवार्ता एउटा राम्रो र पहिलो कदम हो ।’ अफगानिस्तानको कञ्जुद प्रान्तका बासिन्दा तथा शिक्षिका अमिनउल्लाले स्कुल खुल्नुपर्ने बताए । ‘दुई दशकमा भएका उपलब्धिहरूलाई संरक्षण गर्दै वार्ता अघि बढ्नेमा नागरिक विश्वस्त छन् । वार्ताका लागि नागरिकको मूल सन्देश नै यही हो । हामी जति शान्ति चाहन्छौं,’ उनले भने, ‘म मेरो स्कुल बन्द भएको देख्न चाहन्न । शान्ति अहिलेको प्राथमिकता हो ।’

नोभेम्बर ४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचन छ । अनिश्चित सम्भावनाहरूको सामना गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र आफ्ना सेनालाई स्वदेश फिर्ता लैजाने नीतिलाई प्राथमिकता दिँदै आएका छन् । यसका लागि अफगानिस्तानमा तालिवानसँग सरकारको वार्ता सफल नभई सहज छैन ।

वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेका छन् । उनले कतारका लागि हिँड्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने ‘ऐतिहासिक’ अवसर भएको बताएका छन् । बिहीबार बिहान अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए ‘दोहामा हुन लागेको अफगान सरकार र तालिवानबीचको शान्तिवार्ताका लागि विदेशमन्त्री पोम्पेओ जाँदै हुनुहुन्छ ।’ अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सेनाको संख्या कटौती गरेर ४ हजारमा ल्याउने योजना पनि उनले सुनाएका थिए । त्यस्तै उनले इराकमा पनि अमेरिकी सेनाको संख्यामा कटौती गर्ने जानकारी गराएका थिए ।

अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र संघर्ष गरिरहेको मुख्य विद्रोही समूह तालिवानले पनि एक उच्चस्तरीय प्रतिनिधिमण्डल दोहा पठाएको जनाएको छ । गत फेब्रुअरी महिनामा तालिवान र अमेरिकी प्रतिनिधिबीच दोहामा भएको सम्झौतापछि वार्ताको तयारी सुरु भएको थियो । गत शनिबार मात्र अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषद्का प्रवक्ता फराइदुन ख्वाजुनले अफगान सरकार प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका थिए ।

तालिवानले आफ्नो समूहका मुख्य न्यायाधीश अब्दुल हकिमलाई वार्ता टोलीको प्रमुखमा नियुक्त गरिएको बताएको थियो । अमेरिकासँग सम्झौता हुनुअघि तालिवान समूहले अफगान सरकारसँग वार्ता नगर्ने अडान राखेको थियो । पछिल्ला केही हप्तामा अमेरिकी सरकारले तालिवानहरूका मागहरू सम्बोधन गरेपछि उनीहरू वार्ताका लागि तयार भएका हुन् । अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षीसमेत समावेश गरेर वार्ता टोली बनाएको छ । अमेरिकी विदेश मन्त्रालयले वक्तव्य प्रकाशित गर्दै अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि वार्ताको प्रगतिका बारेमा दुवै पक्षलाई मनाउन दोहा पुगेको जनाएको थियो ।

प्रकाशित : भाद्र २७, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?