भारतमा स्वतन्त्र मिडियाको मृत्यु भएको भन्दै छापियो ‘समवेदना’- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा स्वतन्त्र मिडियाको मृत्यु भएको भन्दै छापियो ‘समवेदना’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय मिडियाको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला स्वतन्त्र मिडियाको निधन भएको भन्दै समवेदना अर्थात् शोकसन्देश प्रकाशित भएको छ । भारतीय अंग्रेजी दैनिक द हिन्दुको शुक्रबारको संस्करणमा भारतमा स्वतन्त्र मिडियाको अवसान भएको भन्दै शोक सन्देशको छापिएको हो ।

विगत केही वर्षयता भारतीय मिडियामाथि स्वतन्त्र पहिचान गुमाउँदै सत्तापक्षको पक्षपोषण गरेको आरोप लाग्दै आएको छ । आमनागरिकका मुद्दालाई भन्दै पनि कुनै निश्चित उद्देश्य र स्वार्थबाट प्रेरित भएर समाचारहरु संप्रेषण गरेको आरोप पनि स्वतन्त्र अलोचकहरुले लगाउने गरेका छन् । केहीले त अनौपचारिक संकटकालसमेत भन्ने गरेका छन् । विशेषगरी भारतीय टीभी च्यानलको भूमिकाप्रति प्रश्न उठ्ने गरेको छ । बलिउडका कलाकार सुशान्तसिंह राजपुतको ‘आत्महत्या’ प्रकरणपछि भारतीय टीभी च्यानलहरु थप आलोचित बनेका छन् ।

शुक्रबार नै अम्मु कन्‍नामपिल्लीले समाचार संस्था एएफपीमा एक जना बलिउड कलाकारको मृत्युपछि भारतीय मिडियाको भूमिकाबारे चर्चा गरेकी छिन् । उनले भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको र चीनसँगको सीमामा तनाव हुँदा पनि भारतीय मिडियाले ती विषयलाई पन्छाएर सुशान्तको मृत्यु कसरी भयो भन्ने विषय खोतल्न कम्मर कसेर लागेको अम्मुले बताएकी छिन् । सुशान्त लागुपदार्थ दुर्व्यसनीमा थिएनन् भन्ने ठोकुवा गर्ने र उनकी प्रेमिका रिया चक्रवर्ती दोषी नै हुन् झैं गरी भारतीय सञ्‍चारमाध्यमले सामग्री प्रकाशन प्रसारण गरेको पनि उनले उल्लेख गरेकी छिन् ।

सुशान्तसिंह मृत्यु प्रकरणमा भारतका तीन प्रमुख जाँच एजेन्सीले अनुसन्धान गरिरहेको भए पनि केही सञ्‍चारमाध्यमले भने 'मिडिया ट्रायल' नै चलाइरहेका छन् ।

शुक्रबार प्रकाशित विज्ञापनलाई हाल भारतीय मिडियामा देखिएको तिनै बेथिति र विसंगतिविरुद्धको प्रहारका रुपमा हेरिएको छ । वर्गीकृत विज्ञापनअन्तर्गत छापिएको उक्त शोक सन्देशमा सांकेतिक रुपमा ‘स्वतन्त्रताकी छोरी एवं सत्यकी पत्नी मिडियाको निधन भएकोमा परिवार तथा मित्रको तर्फबाट समवेदना प्रकट’ गरिएको छ ।

मिडियाको मृत्यु भएको भन्दै द हिन्दुमा छापिएको समवेदना

उक्त विज्ञापन शिक्षा, अर्थतन्त्र, नीति र राजनीतिमा चासो राख्ने कार्तिर्क सहनीले छपाएका हुन् । भारतीय अनलाइनहरुका अनुसार दिल्लीको स्टेफन कलेजका पूर्व विद्यार्थी सहनी पब्लिक पोलिसीमा मास्टर्स गर्न हार्वर्ड जाने तयारीमा छन् । ‘अचम्मित, अलमलमा छु तर पनि प्रकाशित गरेकोमा हिन्दुप्रति आभारी छु,’ कार्तिकले ट्विटमा भनेका छन् ।

करिब ४५ वर्षअघि लोकतन्त्रको निधन भएको भन्दै यस्तै किसिमको मिडियामार्फत् समवेदना प्रकट गरिएको थियो । सन् १९७५ को जुन २८ मा पनि यस्तै किसिमको विज्ञापन छापिएको थियो । भारतीय अनलाइनहरुका अनुसार तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएपछि २६ वर्षीय अशोक महादेवनले टाइम्स अफ इन्डियाको बम्बई संस्करणमा प्रजातन्त्रको २८ जुनमा निधन भएको भन्दै समवेदना छपाएका थिए ।

गान्धीले २५ जुन मध्यरातमा संकटकाल घोषणा गरेकी थिइन् । संकटकाल लागेपछि सरकारले मिडियामाथि अकुंश लगाइएको थियो । संकटकालको विरोधमा त्यस्तो विज्ञापन छपाउने महादेवनपछि गएर चर्चित म्यागजिन रिडर्स डाइजेस्टको सम्पादक बन्न सफल भए ।

प्रकाशित : भाद्र २६, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्

भारत र चीनबीच सीमा तनाव कम गर्न पाँच बुँदे सहमति

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत र चीनबीच उत्तरी लद्दाख क्षेत्रको सीमा विवादका कारण सिर्जित तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच रुसको राजधानी मस्कोमा भएको बैठकमा यस्तो सहमति भएको हो ।

सांघाई सहयोग संगठन(एससीओ)को बैठकमा सहभागी हुन दुवै देशका विदेशमन्त्री मस्को पुगेका हुन् । बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा सहमतिअनुसार दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन नेतृत्वको मार्गदर्शन लिने र आपसी असमझदारीलाई विवादमा परिणत हुन नदिन सहमति भएको उल्लेख छ ।

त्यसैगरी सहमतिको तेस्रो बुँदामा सीमामा हाल देखिएको परिस्थिति दुवै देशको हितमा नभएकाले विवाद समाधान र सेनालाई पछाडि हटन र तनाव गर्नका लागि सैन्यस्तरमा वार्ता जारी राख्ने भनिएको छ । ‘सीमा विवाद सुल्झाउनका लागि विशेष प्रतिनिधि संयन्त्रको बैठकलाई निरन्तरता दिइनेछ,’ सहमतिको चौथो बुँदामा भनिएको छ ।

भारत र चीनबीच सीमा विवाद सुल्झाउनका लागि सन् २००३ मा त्यस्तो संयन्त्रको गठन गरिएको थियो । जसको नेतृत्व हाल भारतका तर्फबाट प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका तर्फबाट विदेश मन्त्री वाङ यीले गर्ने गरेका छन् । त्यसैगरी जयंशकर र यीबीचको बैठकमा परिस्थिति सामान्य हुनासाथ दुवै देशबीच नयाँ विश्वास जगाउन र सीमा क्षेत्रमा शान्ति स्थापना गर्न पनि सहमति भएको छ । उक्त बैठक बिहीबार करिब तीन घन्टा चलेको थियो ।

बैठकमा चिनियाँ विदेशमन्त्रीले पनि चीन र भारत एक अर्काका लागि प्रतिस्पर्धी र खतरा नभएको बरु साझेदार मित्र र एकअर्काका लागि विकासको अवसर भएको उल्लेख गरेका थिए । ‘दुई विकसित ठूला मुलुक तीव्र रुपमा उदाउने क्रममा छन् त्यसैले अहिलेको समय चीन र भारतबीच द्वन्द्व र अविश्वास नभएर सहकार्य र आपसी विश्वासको खाँचो छ,’ चीनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यसैगरी विज्ञप्तिमा विदेशमन्त्री यीले जबसम्म दुवै पक्ष सम्बन्धलाई सही दिशामा डोऱ्याइरहन्छन् त्यतिबेलासम्म जुनसुकै अप्ठ्यारा र चुनौतीलाई पार पाउन सकिनेमा जोड दिएको उल्लेख छ ।

यसअघि मस्कोमै भारत र चीनका रक्षामन्त्रीहरुको बैठकसमेत बसेको थियो । तर, उक्त बैठक बसेको दुई दिन नबित्दै भारत र चीनबीच सीमाक्षेत्रमै फेरि तनाव चर्किएको छ । गत सोमबार राती पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित समा सीमा क्षेत्रमा भएको फायरिङका कारण फेरि दुई देशबीच तनावपूर्ण स्थिति बनेको हो । उक्त घटनालाई लिएर दुवै देशबीच आरोप प्रत्यारोप पनि सुरु भएको थियो । दुवै देशले आफ्नो तर्फबाट गोली नचलाएको दाबी गरेका छन् । सीमा क्षेत्रमा गोली चलेको पछिल्लो घटना भने पैतालीस वर्षपछिको पहिलो भनिएको छ ।

दुई देशबीच करिब पैतीस सय किलोमिटर सीमाको विभिन्न खण्डमा तनाव हुँदै आए पनि गोली भने चलेको थिएन । सीमा विवादलाई नै लिएर सन् १९६२ मा दुई मुलुकबीच युद्धसमेत भएको थियो । चार महिनादेखि कायम विवाद भनेको पूर्वी लद्दाख सीमा क्षेत्रमा हो । चीन र भारतबीचको विवादास्पद क्षेत्रलगायतका केही सीमा क्षेत्रलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बाट छुट्टयाइएको छ । दुवै मुलुकले समयसमयमा एकअर्कालाई एलएसीको उल्लघंन आरोप लगाउँदै आएका छन् । गत जुनको दोस्रो सातादेखि गलवान उपत्यका, तातो पानी र प्याङगङ ताल क्षेत्रको त्यही एलएसीमा भएको अतिक्रमणलाई लिएर तनाव चर्किएको हो ।

१५ जुनमा गलवान उपत्यकाको एलएसी क्षेत्रमा दुई देशका सैनिकहरुबीच हिंसात्मक झडप नै भएको थियो । उक्त झडपमा २० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ पक्षमा भएको क्षति भने सार्वजनिक भएको थिएन । उक्त घटनापछि दुई देशबीचको तनाव उत्कर्षमा पुग्यो । यद्यपि यसबीचमा दुई मुलुकको उच्च राजनीतिक स्तरमा भएको भेटघाट र संवाद नभएको होइन । तर, ती भेटघाट र छलफलहरुबाट कुनै ठोस सहमति जुट्न सकेको छैन । जसले गर्दा दुई देशबीचको तनाव कायमै छ ।

गलवान झडपपछि भारतले चीनविरुद्ध सीमाक्षेत्रमा नभएर आर्थिक र व्यापारिक क्षेत्रमा आक्रमण रणनीतिक अख्तियार गरेको छ । उसले चिनियाँ कम्पनीहरुका कैयौं ठेक्का रद्द गरेको छ भने दुई सयभन्दा बढी चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित : भाद्र २६, २०७७ १३:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×