१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अमेरिकामा डढेलोले ४ जनाको मृत्यु

एपी

क्यालिफोर्निया/वासिङ्टन — अमेरिकाका विभिन्न राज्यमा फैलिएको डढेलो अनियन्त्रित भएको छ । अधिकारीका अनुसार डढेलोमा परी क्यालिफोर्निया र वासिङ्टन राज्यमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तीन जना क्यालिफोर्नियाका छन् ।

अमेरिकामा डढेलोले ४ जनाको मृत्यु

अग्नि नियन्त्रण निकायका अनुसार तीव्र गतिमा फैलिएको डढेलोका कारण वन छेउका बस्तीमा रहेका हजारौं विस्थापित भएका छन् । केही दिनयता तीव्र हावासँगै फैलिएको डढेलो पहाडी क्षेत्रबाट बस्ती भएको समथर भूभागसम्म आइपुगेको जनाइएको छ ।

क्यालिफोर्नियाको राजमार्ग गस्ती प्रहरी बेन ड्रापरका अनुसार डढेलोको चपेटामा परेका एकजना कारभित्र घाइते अवस्थामा भेटिएका छन् । सान फ्रान्सिस्कोको उत्तरपूर्वी क्षेत्रमा हजारौं घरमा डढेलोले क्षति पुर्‍याएको अग्नि नियन्त्रकहरूले बताएका छन् ।

डढेलोले प्याराडाइज क्षेत्रमा पनि विनाश निम्त्याउने खतरा बढाएको छ । यो क्षेत्रमा विनाशकारी डढेलोका कारण गत वर्ष पनि ठूलो क्षति पुगेको थियो । केही दिनभित्र मौसममा सामान्य सुधार आएसँगै डढेलोको प्रभाव कम हुने मौसम पूर्वानुमान अधिकारीहरूका अनुमान छ ।

क्यालिफोर्निया विश्वविद्यालयका जलवायु विज्ञान वैज्ञानिक डानियल स्वेनले पछिल्लो २४ घण्टाको अवधिमा कम्तीमा ४ सय वर्गमाइल क्षेत्र डढेलोका कारण सखाप भएको जनाए ।

त्यस्तै, ओरिगन राज्यमा पनि विशाल डढेलो फैलिएको छ । ओरिगनका गभर्नर केट ब्राउनले डढेलोका कारण हजारौं मानिसहरू प्रभावित भएको जनाए । ‘यो हाम्रो राज्यमा डढेलोका कारण भएको इतिहासकै ठूलो क्षति हो,’ ब्राउनले भने । आपत्कालीन निकायका अधिकारीले राज्यको ४ लाख ७० हजार एकड क्षेत्रमा डढेलो फैलिएको जनाएका छन् ।

वासिङ्टन राज्यको उत्तरी क्षेत्रमा फैलिएको ढडेलोमा परी एक बालकको मृत्यु भएको सीएनएनले जनाएको छ । अधिकारीका अनुसार बालकका दुई जना आफन्त गम्भीर घाइते भएका छन् ।

अमेरिका विभिन्न राज्यमा अगस्ट मध्यदेखि फैलिएको डढेलोका कारण हालसम्म ११ जनाको ज्यान गइसकको छ । करिब ४ हजार घर क्षतिग्रस्त भएका छन् ।

प्रकाशित : भाद्र २५, २०७७ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?