भारत-चीन सीमामा चल्यो गोली- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत-चीन सीमामा चल्यो गोली

सीमा क्षेत्रको तनाव कम गर्न दुई देशका रक्षामन्त्रीबीच छलफल भएको दुई दिन नबित्दै झडपको स्थिति उत्पन्न
सुरेशराज न्यौपाने

नयाँदिल्ली — रक्षामन्त्रीस्तरीय बैठकमा सीमा विवाद थप बल्झिन नदिने र संवादलाई निरन्तरता दिने सहमति गरेको दुई दिन नबित्दै भारत र चीन सीमा क्षेत्रमा फेरि तनाव चर्किएको छ । सोमबार राति पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित सीमा क्षेत्रमा भएको फायरिङका कारण फेरि तनावपूर्ण स्थिति उत्पन्न भएको हो  ।

उक्त घटनालाई लिएर दुवै देशबीच आरोप–प्रत्यारोप पनि सुरु भएको छ । दुवै देशले आफ्नोतर्फबाट गोली नचलाएको दाबी गरेका छन् ।

चीनले सोमबार मध्यरात विज्ञप्ति जारी गर्दै भारतमाथि परिस्थिति भड्काएर द्विदेशीय सीमाको उत्तरी खण्डमा पर्ने बांगङ हुनानमा लाइन एफ एक्चुअल कन्ट्रोल (एलएसी) पार गरेको आरोप लगाएको छ ।

‘भारतीय सेनाले एक्कासि गोली चलाएपछि त्यहाँ तैनाथ चिनियाँ सीमारक्षकहरूले स्थिति नियन्त्रणमा लिन उचित कदम चाल्न बाध्य भए । भारतीय पक्षबाट भएको उक्त कदम दुवै देशबीच भएका समझदारीहरूको गम्भीर उल्लंघन हो । यस्ता घटनाले क्षेत्रीय तनाव, असमझदारी र अविश्वास थप बढाउने काम गरेको छ,’ चिनियाँ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीनको उक्त आरोपलाई भारतले भने ठाडै अस्वीकार गरेको छ । मंगलबार बिहान भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै भारत एलएसीको तनाव कम गर्न प्रतिबद्ध रहेको जनाएको छ । चीनले सीमा क्षेत्रमा तनाव बढाउने गरी उत्तेजक गतिविधि गरेको भारतको आरोप छ । ‘भारतीय सेनाबाट एलएसी पार गरेर गोली चलाउनेजस्तो परिस्थिति भड्काउने काम कुनै पनि अवस्थामा हुन सक्दैन । बरु सैन्य, कूटनीतिक र राजनीतिक तहमा तनाव कम गर्न पहल भइरहेका बेला पीएलएका तर्फबाट समझदारीहरूको ठाडो उल्लंघन गर्ने काम भएको छ । पीएलएका तर्फबाट भयभीत पार्नका लागि केही राउन्ड गोली हावामा चलाइएको थियो,’ भारतीय सेनाले भनेको छ ।

साथै, उत्तेजित पार्न गम्भीर प्रयास हुँदाहुँदै पनि भारतीय सेनाले संयम अपनाउँदै परिपक्व र जिम्मेवार व्यवहार देखाएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी, भारतीय सेनाले ‘चिनियाँ पक्षबाट आएको विज्ञप्तिलाई घरेलु र अन्तर्राष्ट्रिय जगत्लाई भ्रममा पार्ने प्रयास’ भनेको छ ।

गएको दुई साताभित्रै सीमा क्षेत्रमा दुई देशका सैनिकहरू आमनेसामने भएको यो दोस्रो घटना हो । यसअघि अगस्ट २९ को राति पूर्वी लद्दाखमै दुवै देशका सैनिकबीच झडपको स्थिति बनेको थियो । त्यस घटनामा दुवै देशले एकआपसमा आरोप लगाएका थिए । तर, सीमा क्षेत्रमा गोली चलेको घटना भने ४५ वर्षपछिको पहिलो हो । दुई देशबीच करिब ३ हजार ५ सय किलोमिटर सीमाको विभिन्न खण्डमा तनाव हुँदै आए पनि गोली भने चलेको थिएन । अगस्ट २९ को घटनाका कारण परिस्थिति जटिल र तनावपूर्ण बनेको भन्दै त्यसलाई कम गर्न गत शनिबार दुई देशका रक्षामन्त्रीहरूले रुसको राजधानी मस्कोमा द्विपक्षीय छलफल गरेका थिए । छलफलमा भारतका तर्फबाट रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वेई फेंगको नेतृत्वको टोली सहभागी भएको थियो । गत जुन १५ को मध्यरातमा गलवान उपत्यकामा दुवै देशका सैनिकहरूबीच झडप भएयताको यो सबैभन्दा उच्चस्तरीय भेट हो ।

तर, त्यसको दुई दिन नबित्दै सीमा क्षेत्रमा गोली चल्ने परिस्थिति बन्नुलाई रक्षा मामिलाका जानकारहरूले समेत गम्भीर घटनाका रूपमा अर्थ्याएका छन् । दुई देशबीच विगत केही महिनादेखि सीमा विवादका कारण देखिएको तनाव थप बढ्ने र उक्त क्षेत्रमा सैन्यकरण थप बढ्ने अनुमानसमेत उनीहरूको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार तनाव बढ्ने क्रमसँगै दुवै देशले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेका छन् । भारतीय विदेशमन्त्री एस जयंशकरले पनि चीनसँगको पछिल्लो तनावलाई गम्भीर भनेका छन् । भारतीय अंग्रेजी दैनिक द इन्डियन एक्सप्रेसले सोमबार गरेको एक भिडियो छलफलमा विदेशमन्त्री जयशंकरले ‘सीमा क्षेत्रको पछिल्लो परिस्थिति अत्यन्त गम्भीर भएको र त्यसलाई सुल्झाउन राजनीतिक स्तरमा सघन संवादको आवश्यकता’ भएको बताएका थिए ।

दुई मुलुकबीच करिब आधा दर्जन क्षेत्रमा दशकौंदेखि विवाद रहँदै आएको छ । सीमा विवादलाई लिएर सन् १९६२ मा दुई मुलुकबीच युद्धसमेत भएको थियो । चीन र भारतबीचको विवादास्पद क्षेत्रलगायत केही सीमा एलएसीबाट छुट्ट्याइएको छ । दुवै मुलुकले समय–समयमा एकअर्कालाई एलएसीको उल्लंघन आरोप लगाउँदै आएका छन् । गत जुन दोस्रो सातादेखि गलवान उपत्यका, तातो पानी र पाङगोङ ताल क्षेत्रको त्यही एलएसीमा भएको अतिक्रमणलाई लिएर तनाव चर्किएको हो ।

जुन १५ को राति गलवान उपत्यकाको एलएसी क्षेत्रमा दुई देशका सैनिकहरूबीच हिंसात्मक झडप नै भएको थियो । झडपमा २० भारतीय सैनिक मारिएका थिए । चिनियाँ पक्षतर्फ भएको क्षतिबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन । घटनापछि दुई देशबीचको तनाव उत्कर्षमा पुग्यो । यसैबीच दुई मुलुकबीच उच्च तहमा भेटघाट र संवाद भए पनि ठोस सहमति जुट्न सकेको छैन । गलवान झडपपछि भारतले चीनविरुद्ध सीमा क्षेत्रमा मात्र नभएर आर्थिक र व्यापारिक क्षेत्रमा पनि आक्रामक रणनीतिक अख्तियार गरेको छ । उसले चिनियाँ कम्पनीहरूका कतिपय ठेक्का रद्द गरेको छ भने २ सयभन्दा बढी चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित : भाद्र २४, २०७७ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्

सम्बन्ध सुधारमा भारत ‘अग्रसर’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतसँगको सम्बन्धमा अविश्वास र तनाव कायमै रहेकै अवस्थामा नेपाली राजदूत नीलाम्बर आचार्यले भारतका प्रमुख राष्ट्रिय सुरक्षाका सल्लाहकार अजित डोभलसँग भेटेका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारमा विदेश मामिलामा अहम् भूमिका खेल्ने डोभलसँग आचार्यको भेट गत शुक्रबार भएको हो । स्रोतका अनुसार डोभलको कार्यालयमा आधा घण्टाभन्दा बढी कुराकानी भएको थियो ।

डोभल मोदी सरकारले अंगीकार गर्ने सुरक्षा तथा विदेशसम्बन्धी नीतिका सम्बन्धमा सबैभन्दा प्रभावशाली उच्च अधिकारी हुन् । उनले नेपालसम्बन्धी मामिलामा विशेष चासो राख्ने गरेका छन् । डोभल र आचार्य दुवैले मन्त्रीस्तरीय हैसियत राख्छन् । सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्धमा लामो समयदेखि विश्वास संकट कायम रहेको पृष्ठभूमिमा उनीहरूबीच भएको भेटलाई दुई देशको राजनीतिक तहमा देखिएको तनाव र असमझदारी कम गर्ने दृष्टिले महत्त्वपूर्ण ठानिएको छ ।

स्रोतका अनुसार भेटमा विशेषगरी सीमा सम्बन्धमा संवादलाई अगाडि बढाउने विषयमा बढी चर्चा भएको थियो । डोभलले सीमासम्बन्धी विवाद चाँडो सुल्झाउने पक्षमा धारणा राखेका थिए । राजदूत आचार्यले भने भेटमा भएका छलफलबारे विस्तृत बताउन चाहेनन् । ‘नेपाल र भारत सम्बन्धका सबै पक्षमा छलफल भयो,’ उनले कान्तिपुरसँग भने ।

नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यसो त पछिल्लो पटक सीमा विवाद सतहमा आएको भारतले गत वर्ष १६ कात्तिक (नोभेम्बर ८) मा कालापानी क्षेत्रलाई समेत समेटेर नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि हो । विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय बैठकका लागि नेपालले जोड दिँदै आएको थियो । नेपाल सरकारले दुई पटक औपचारिक रूपमा पत्राचारसमेत गरेको थियो ।

भारतले दुई महिनापछि मात्र पत्रको जवाफ दिए पनि मितिबारे प्रस्ट उल्लेख गरेको थिएन । गत २६ वैशाखमा भारतले एकतर्फी रूपमा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याक उद्घाटन गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिन पुग्यो । त्यसपछि पनि वार्ताका लागि नेपालले आग्रह गरेको थियो । तर, भारतका तर्फबाट कुनै जवाफ नआएपछि नेपाल सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । नेपालले संवादका लागि औपचारिक र अनौपचारिक माध्यमबाट प्रयास जारी राख्यो । तर, भारतबाट सकारात्मक संकेत आएन ।

दिल्लीका नेपाल मामिलाका जानकार तथा पूर्वकूटनतिज्ञहरूले भने दुई देशबीच लामो समयसम्म संवादहीनता रहन दिन नहुने भन्दै अप्रत्यक्ष दबाब दिँदै आएका थिए । उनीहरूले नेपालसँग लामो संवादहीनताले चीनलाई दक्षिण एसिया क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न थप सहयोग मिल्ने तर्क दिँदै आएका छन् । त्यसबाहेक सत्तारूढ भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयं संघ (आरएसएस) केन्द्रीय पंक्तिले पनि मोदी सरकारलाई दुई देशबीचको सम्बन्धका सबै आयामलाई ख्याल गर्दै संवादहीनता तोड्नका लागि पहल गर्न सुझाव दिँदै आएको स्रोतको भनाइ छ । सँगै नेकपाको आन्तरिक द्वन्द्वमा तत्कालका लागि लागेको ‘ब्रेक’ ले पनि भारतसामु नेपालको राजनीतिक नेतृत्व तहसँगको संवाद अगाडि बढाउन बाध्य बनाएको दिल्लीका एक थरी विश्लेषकहरूको बुझाइ रहेको छ ।

विश्लेषकहरूका अनुसार भारतीय संस्थापनले पार्टीभित्रको द्वन्द्व चर्किंदै गएर केपी शर्मा ओली प्रधानमन्त्री छाड्न बाध्य हुने र त्यसपछि मात्र सीमाका विषयमा संवाद गर्ने रणनीति बनाएको थियो । तर ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने देखिएपछि दिल्लीले आफ्नो नीतिमा पुनर्विचार गरेको हो । त्यसमाथि तीन महिनादेखि चीनसँगको सीमा विवादका कारण पनि पछिल्लो समय भारत निकट छिमेकीहरूसँग सम्बन्ध सुधार गर्ने निष्कर्षमा पुगेको हो । भारतीय विदेश सचिव श्रृंगलाले हालै बंगलादेश भ्रमण गर्नुअघि भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री एस जयशंकरसँग नेपाल र बंगलादेशलगायत छिमेकीहरूका विषयमा छलफल गर्नुले पनि त्यही संकेत गर्छ ।

गत १५ अगस्टमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर स्वतन्त्रता दिवसको शुभकामना दिएपछि दुई देशको उच्च राजनीतिक तहमा केही महिनादेखिको संवादहीनता औपचारिक रूपमा तोडिन पुग्यो । राजदूत आचार्यले पनि प्रधानमन्त्री तहमा भएको उक्त संवादले सकारात्मक वातावरण निर्माण गरेको बताए । त्यसको दुई दिनपछि नै भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरूको समीक्षा गर्न नेपाल–भारत अनुगमन संयन्त्रको बैठक भयो । परियोजनाहरूको प्रगति सकारात्मक रहेको निष्कर्षसहित बैठक सकिनुलाई दुई देशबीचको सम्बन्ध सुधारोन्मुख बन्न थालेको संकेतका रूपमा हेरिएको थियो । त्यसको केही दिनमै भारतीय राजदूत विनयमोहन क्वात्रा सडक मार्ग हुँदै दिल्ली आएका थिए ।

काठमाडौं छाड्नुअघि क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य उच्च अधिकारी एवं प्रमुख राजनीतिज्ञसँग भेट गरेका थिए । भारतको विदेश मन्त्रालयका अनुभवी र परिपक्व ‘क्याडर’ क्वात्राको यात्रा दुई देशबीचको सम्बन्ध र काठमाडौंको पछिल्लो राजनीतिक वातावरणबारे दिल्लीलाई ब्रिफिङ गर्नका लागि भएको ठानिएको छ । दिल्लीमा रहँदा उनले दुई देशबीच उच्च राजनीतिक तहको भेटघाट र संवादको पहलका लागि प्रयास गरेको अनुमान गरिएको छ । आचार्य र डोभलबीच भएको पछिल्लो भेटलाई क्वात्राको दिल्ली भ्रमणसँग पनि जोडेर हेरिएको छ । दिल्लीमा रहँदा क्वात्राले नेपाली दूतावासग सम्पर्क भने नगरेको स्रोतले जनाएको छ ।

मन्त्रीस्तरीय भ्रमणको तयारी

नेपालसँगको सम्बन्ध सहजउन्मुख भएसँगै भारतीय पक्षले उच्च अधिकारीहरूको भ्रमणका लागि चासो देखाउन थालेको छ । स्रोतका अनुसार त्यस किसिमको भ्रमण एक महिनाभित्रै हुने सम्भावना छ । कोभिड–१९ को महामारीका कारण मोदी सरकारका मन्त्री लामो समयदेखि विदेश भ्रमणमा निस्किएका थिएनन् । पछिल्लो सातादेखि भने वरिष्ठ मन्त्रीहरू धमाधम विदेश भ्रमणमा निस्किरहेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दसैं अगाडि सिंह र जयशंकरमध्ये एकलाई नेपाल पठाउने गरी दिल्लीले तयारी थालेको बुझिएको छ । भारतले विदेश सचिवस्तरीय भेटका लागि पनि चासो देखाएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीको पदावधि २५ असोजमा सकिने भएकाले विदेश सचिवस्तरीय बैठक भने धकेलिने सम्भावना रहेको स्रोतले जनाएको छ । ‘भारत कम्तीमा पनि मन्त्रीस्तरीय भ्रमणका लागि सकारात्मक देखिएको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।

नेपाली पक्षले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणलाई पनि प्राथमिकतामा राखेको बुझिएको छ । भारतीय पक्षबाट प्राविधिक कारणले उच्चस्तरको भ्रमण सम्भव नभए ज्ञवालीको औपचारिक भ्रमणका लागि पनि छलफल भइरहेको र यसप्रति भारतीय पक्ष पनि सकारात्मक रहेको परराष्ट्र स्रोतको भनाइ छ । ज्ञवालीले मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई वर्ष बितिसक्दा पनि भारतको औपचारिक भ्रमण गरेका छैनन् । यसबीचमा अन्य सन्दर्भमा भने दिल्ली आएका छन् ।

प्रकाशित : भाद्र २३, २०७७ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×