३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खमेर रुज जेलका कमान्डर ‘कामरेड डच’ को मृत्यु

‘कामरेड डच’ ले पोलपोट नेतृत्वको नरसंहारयुक्त शासनकालमा करिब १४ हजारको हत्या गरिएको कुख्यात जेलको नेतृत्व गरेका थिए ।
एजेन्सी

नोमपेन्ह — कम्बोडियाको भूतपूर्व खमेर रुज शासकनकालमा कमान्डर रहेका ‘कामरेड डच’ को बुधबार मृत्यु भएको छ । कम्बोडियामा खमेर रुज समूहले सत्ता चलाएका बेला ‘कामरेड डच’ कुख्यात ‘तुओल स्लेङ’ जेलका जेलर रहेका थिए । जहाँ कम्तीमा १४ हजार कम्बोडियाली नागरिकको नरसंहार भएको थियो ।

खमेर रुज जेलका कमान्डर ‘कामरेड डच’ को मृत्यु

‘कामरेड डच’ का नामले चिनिएका ७७ वर्षीय केइङ ग्युक इएभलाई संयुक्त राष्ट्र संघ समर्थित आम नरसंहार न्यायालयले आजीवन कारावासको सजाय सुनाएको थियो । स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि उनलाई कम्बोडियाको राजधानी नोमपेन्हस्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममै बुधबार बिहान मृत्यु भएको गार्डियनले उल्लेख गरेको छ ।

सन् १९७५ देखि १९७९ सम्म पोलपोटको नेतृत्वमा उग्र साम्यवादी खमेर रुज सत्ताले करिब १७ लाख मानिसको हत्या गरेको थियो । यो संख्या त्यतिबेलाको कम्बोडियाको जनसंख्याको एक चौथाई हो । पोलपोट नेतृत्वको सत्ताले कम्बोडियालाई मध्ययुगीन समयमा धकेलेको बताइन्छ । सन् १९७९ मा भियतनामी सेनाले खमेर रुज सत्तालाई अपदस्थ गरेको थियो ।

‘कामरेड डच’ खमेर रुज शासनकालनमा गरिएको अत्याचार र मानवताविरोधी अपराधमा दोषी ठहर हुने पहिलो व्यक्ति भएको गार्डियनले उल्लेख गरेको छ । अहिलेसम्म खमेर रुज सत्तामा रहेका तीन जनालाई मात्र सजाय सुनाइएको छ । कामरेड डच, पोलपोटपछि दोस्रो स्थानमा रहेका खिउ साम्फान र नुओन चीलाई जेल चलान गरिएको थियो ।

एस–२१ नामले समेत चिनिएको तुओल स्लेङ जेलमा महिला, पुरुष र बालबालिका गरी कम्तीमा १४ हजार मानिसको हत्या गरिएको थियो । विद्यालयलाई नै जेलमा परिणत गरिएको थियो जहाँ धेरैलाई तड्पाएर, कसैलाई अपराध स्वीकार गर्न बाध्य पारेर मारिएको थियो । तीमध्ये धेरै खमेर रुज शासनको विरोध गर्ने बौद्धिक व्यक्ति र विभिन्न पेसामा आबद्धहरु थिए । ‘कमान्डर डच’ कै रेखदेखमा नरसंहार भएको र सन् १९४९ को जेनेभा सन्धिको उल्लंघन गरेको भन्दै उनलाई अदालतले सन् २०१० मा दोषी ठहर गरेको थियो । सन् २०१० मा उनको पुनरावदेन खारेज भएसँगै कारागार चलान गरिएको थियो ।

अदालतमा उनले आफूले अरुको निर्देशन मात्रै मानेको भन्दै माफी दिन माग गरेका थिए । तर अदालतले उनको याचनालाई खारेज गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो ।

प्रकाशित : भाद्र १७, २०७७ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?