२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ट्रम्पले हिंसालाई प्रोत्साहन गरे : बाइडेन

एजेन्सी

वासिङ्टन — अमेरिकाको पोर्टल्यान्डमा भएका हिंसात्मक प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेन चर्को आरोप–प्रत्यारोपमा उत्रिएका छन् । ट्रम्पले पोर्टल्यान्डका मेयर टेड विलरलाई ‘सहरमा मृत्यु र विध्वंसको बाटो खोलेको’ आरोप लगाएका छन् । विलर डेमोक्र्याट पार्टीका हुन् ।

ट्रम्पले हिंसालाई प्रोत्साहन गरे : बाइडेन

त्यसको जवाफमा बाइडेनले राष्ट्रपति ट्रम्पले ‘गैरजिम्मेवार तरिकाले हिंसालाई प्रोत्साहन गरेको तथा अमेरिकामा घृणा र विभाजनको आगो सल्काएको’ आरोप लगाए ।

अमेरिकामा शनिबार राष्ट्रपति ट्रम्पका समर्थक र ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका सहभागीबीच हिंसात्मक झडपहरू भएका थिए । त्यस क्रममा एक जना श्वेत प्रदर्शनकारी मारिएका थिए ।

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि पोर्टल्यान्ड प्रहरी बर्बरता र रंगभेदविरोधी प्रदर्शनको केन्द्र बनेको छ । पोर्टल्यान्डमा करिब ३ महिनादेखि नियमितजसो प्रदर्शनहरू हुँदै आएका छन् ।

तस्बिर : रोयटर्स

मिनिसोटा राज्यको मिनियापोलिस प्रहरीले नियन्त्रणमा लिएका फ्लोइड मे २५ मा मारिएपछि ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियन्ताहरू विरोधमा उत्रिएका हुन् ।

राष्ट्रपति ट्रम्पले आइतबार चरणबद्ध रूपमा ट्वीट गर्दै ‘मूर्ख मेयरका कारण पोर्टल्यान्डले कहिल्यै पुरानो स्वरूप नपाउने’ बताएका थिए । त्यसका साथै उनले पोर्टल्यान्डमा संघीय सुरक्षा फौज परिचालन गर्नेबारे विचार गरिरहेको बताए । बाइडेनले ‘अपराधविरुद्ध बोल्न नचाहेको’ ट्रम्पको आरोप छ ।

राष्ट्रपतिको भनाइपछि एक विज्ञप्ति जारी गर्दै बाइडेनले ट्रम्प निकै कमजोर भएको प्रतिक्रिया दिए । ‘कानुनी राजबारे ट्वीट गरेर ट्रम्प आफूलाई बलियो देखाउन सकिन्छ भन्ने ठान्छन् । तर आफ्ना समर्थकलाई द्वन्द्व रोक्न आह्वान गर्न नसक्नुले नै उनी कति कमजोर छन् भन्ने प्रस्ट हुन्छ ।’

त्यस्तै, एक पत्रकार सम्मेलनका अवसरमा पोर्टल्यान्डका मेयर टेड विलरले समेत राष्ट्रपति ट्रम्प ‘अमेरिकाको आधुनिक इतिहासमा देशलाई सबैभन्दा बढी विभाजन गर्न खोज्ने व्यक्ति भएको’ आरोप लगाएका छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा पुन: निर्वाचित हुन कानुनी शासनलाई मुख्य हतियार बनाएका ट्रम्पले डेमोक्र्याटहरू आपराधिक गतिविधिमा निकै नरम भएको बताउँदै आएका छन् । तर डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पको शासनकालमा हिंसा झन् बढेको दाबी गर्छन् ।

प्रकाशित : भाद्र १६, २०७७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?