१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बेलायती पूर्वराजदूत मोरिसको खोजी गरिरहेको प्रहरीले जंगलमा भेटायो शव

नवीन पोखरेल

लन्डन — गत मे ६ देखि बेपत्ता नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले एलिस होल्ट जंगलमा एउटा शव फेला पारेको बीबीसीले जनाएको छ ।

बेलायती पूर्वराजदूत मोरिसको खोजी गरिरहेको प्रहरीले जंगलमा भेटायो शव

प्रहरीले मोरिसको परिवारलाई अवगत गराइसकेको छ । मोरिस हराइरहेकै ठाउँमा शव भेटिए पनि आधिकारिक रुपमा प्रहरीले उनकै शव हो भनेर पुष्टि गरेको छैन । स्काई न्युजका अनुसार प्रहरीले एक दुई दिनमै आधिकारिक पुष्टिको प्रयास गर्नेछ । प्रहरीले मोरिसको निधनलाई शंकास्पद नमानेको पनि बेलायती सञ्‍चारमाध्यमले उल्लेख गरेका छन् ।

बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्वराजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।

स्थानीय जंगल, नदी किनारामा व्यापक खोजी गरेको प्रहरीले छरछिमेकका बासिन्दाहरुलाई आआफ्ना घरका बगैंचा, भण्डार गृह, गोठ आदि चेक गर्न आग्रह पनि गरेको थियो । कुनै स्थानीय बासिन्दा वा व्यवसायीसँग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको थियो ।

मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिस राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । ब्रिटिस सरकारले उनलाई फिजी गणतन्त्रका लागि गत जुलाई महिनादेखि कार्यभार सम्हाल्ने गरी उच्चायुक्त तोकेको थियो ।

उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको थिए । नेपाललाई माया गर्ने रिचर्डले नेपालमा महाभूकम्पपछि गएका बेलायती राजकुमार ह्यारीको भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

विशेषगरी ब्रिटेन-नेपाल च्याम्बर अफ कमर्स प्रतिनिधिसँग निकट थिए मोरिस ।

- जंगलमा भेटिएको शव मोरिसकै हो भन्ने प्रहरीले आधिकारिक रुपमा पुष्टि नगरेकाले यसअघिको शीर्षक परिवर्तन गरिएको छ । - सम्पादक

प्रकाशित : भाद्र १६, २०७७ ०६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?