१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यूएई पुग्यो इजरायलको पहिलो व्यापारिक उडान

एजेन्सी

अबुधाबी — इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको पहिलो व्यापारिक उडान दुबई उत्रिएको छ ।

यूएई पुग्यो इजरायलको पहिलो व्यापारिक उडान

बेन गुरिओन विमानस्थलबाट इजरायल तथा अमेरिकाका उच्च अधिकारीहरुसहित उडेको इजरायली ध्वजाबाहक अल–एल विमान सोमबार यूएईको अबुधाबीमा अवतरण गरेको हो । उडानलाई दुई देशबीच भएको शान्तिसम्झौताको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

इजरायल र यूएईबीच यसै महिनाको सुरुमा भएको उक्त सम्झौतासँगै दुवै देशबीच सम्बन्ध सामान्यीकरण गर्न विभिन्न योजनाहरु अघि सारिएका छन् ।

अमेरिकी पहलमा गरिएको उक्त सम्झौतासँगै इजरायली व्यापारिक उडान साउदी अरबको आकाशबाट उड्न दिइएको हो । सामान्यत: साउदी अरबले आफ्नो हवाई क्षेत्रबाट इजरायली विमान उड्न रोक्दै आएको छ ।

उक्त सम्झौतासँगै यूएई मध्यपूर्वमा इजरायललाई मान्यता दिने तेस्रो राष्ट्र बनेको छ । यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले कूटनीतिक सम्बन्ध राखेका थिए । यूएईसँग इजरायलको आजसम्म युद्ध भएको छैन ।

अबुधाबीमा अवतरण गरेको विमानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार एवं ज्वाइँ जरेद कुस्नर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायन, मध्यपूर्वका लागि अमेरिकी विशेषदूत अभि बर्कोविज र इरानका लागि अमेरिकी विशेषदूत ब्रायन हुक रहेका थिए ।

त्यस्तै, इजरायका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार मेइर बेन–सब्बत र विभिन्न मन्त्रालयका महानिर्देशकहरु थिए । दुवै देशका प्रतिनिधिमण्डलले यूएईका विशिष्ठ व्यक्तिहरुसँग भेटवार्ता गर्ने जनाइएको छ । विमानमा अंग्रेजी, अरबी र हिब्रु भाषमा ‘शान्ति’ लेखिएको थियो ।

विमानमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै जरेद कुस्नरले ऐतिहासिक उडानमा रहभागी हुन पाएकामा आभार व्यक्त गरे । उनले मध्यपूर्वका देशबीच सम्बन्ध सुधारका लागि उक्त कदम ऐतिहासिक प्रस्थानबिन्दु भएको उनको भनाइ छ । उनी दुई देशबीच भएको सम्झौताको नेतृत्वकर्ता हुन् ।

हिब्रु भाषामा गरिएको एक ट्वीटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘दुई देशबीचको उडान शान्तिका लागि शान्तिको सुरुवात’ भएको बताएका छन् । इजरायलसँग सम्बन्ध स्थापित गर्ने यूएईको कदमलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेका भए पनि प्यालेस्टाइनले भने विरोध जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०७७ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?