२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रतिबन्धविरुद्ध उत्रेका सयौं जर्मन गिरफ्तार

संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रता माग गर्दै दशौं हजारद्वारा प्रदर्शन
(एजेन्सी)

बर्लिन — कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरुद्ध जर्मनीमा गरिएको प्रदर्शनमा सयौं पक्राउ परेका छन् ।

प्रतिबन्धविरुद्ध उत्रेका सयौं जर्मन गिरफ्तार

जर्मनीको राजधानी बर्लिनमा गरिएको प्रदर्शनका क्रममा तीन सय जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तीमध्ये दुई सय जनालाई बर्लिनको एउटा प्रदर्शनबाट पक्राउ गरिएको हो ।

प्रदर्शनकारीहरूको एक जत्थाले जर्मनीको संसद भवन तोडफोडको समेत प्रयास गरेका थिए । उक्त कदमको राजनीतिज्ञहरू कडा विरोध जनाएका छन् । बर्लिनका विभिन्न स्थानमा प्रदर्शनकारीहरू भेला भएका थिए । प्रहरी अधिकारीहरूले दक्षिणपन्थी प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा तथा पानीका बोतल प्रहार गरेको आरोप लगाएका छन् । स्थानीय सञ्चारमाध्यमले प्रदर्शनकारीको भीडमा दक्षिणपन्थीहरूलाई समर्थन गर्ने झन्डा तथा टिसर्टहरू देखिएको जनाएका छन् । कतिपय प्रदर्शनकारी बालबच्चासहित विरोधमा उत्रेका थिए ।

सुरक्षा नियमहरूको अबज्ञा गरेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई तितरबितर हुन निर्देशन दिएको थियो । तर नमानेर उल्टै आक्रमणमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी बाध्य भएको अधिकारीहरूको भनाइ छ ।

‘सबै उपायहरू अपनाउँदा अपनाउँदै पनि आफूहरूसँग प्रदर्शनकारीलाई पक्राउ गर्नुको विकल्प रहेन,’ बर्लिन प्रहरीले ट्वीटरमा लेखेको छ । सो क्रममा सात जना प्रहरी अधिकारीहरू घाइते भएका बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रतिबन्धको विरोध गर्दै ४० हजार जनाभन्दा बढी बर्लिनका सडकमा उत्रिएका थिए । त्यस्तै अर्को स्थानमा करिब ३० हजार जना भेला भएका थिए । तर उक्त प्रदर्शन भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको बीबीसीले उल्लेख गरेको छ ।

भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरूले जर्मनीको संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लंघन गरेको प्रदर्शनकारीहरूको भनाइ छ । उनीहरू त्यस्ता प्रतिबन्ध फिर्ता लिई आफूहरूलाई निर्बाध स्वतन्त्रता उपभोग गर्न दिनुपर्ने बताउँछन् ।

जर्मनी कोरोना भाइरस रोकथाम, नियन्त्रण, पहिचान र उपचारका उपायहरू निकै प्रभावकारी रूपमा लागू देशहरूमध्येमा पर्छ । भाइरसका कारण हुने मृत्युदर पनि जर्मनीमा निकै न्यून छ ।

भाइरसको संक्रमण फैलिएसँगै जर्मनीमा लगाइएको प्रतिबन्ध अप्रिल महिनामा केही खुकुलो पारिएको थियो । तर संक्रमितको संख्या केही बढेपछि पुन: प्रतिबन्धहरू कडा पारिएको हो ।

जर्मनीका १६ वटा राज्यले सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने नियम जारी गरेका छन् । उक्त नियम उल्लंघन गर्नेलाई कम्तीमा ५९ डलर जरिवाना गर्ने बताइएको छ । त्यसैगरी, सार्वजनिक कार्यक्रम गर्न लगाइएको प्रतिबन्ध यस वर्षको अन्त्यसम्मका लागि बढाइएको छ ।

जर्मन चान्सलर एन्जेला मार्केलले जाडोयाममा संक्रमणको चुनौती बढ्न सक्ने बताएकी छन् । उनले प्रतिबन्धहरू कडा पार्दै त्यसलाई पालना गर्नुको कुनै विकल्प नरहेको बताइन् । ‘हामी अझै लामो समयसम्म भाइरससँगै बाच्नैपर्छ । यो अझै गम्भीर छ,’ मार्केलले भनिन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण जर्मनीमा आइतबार साँझसम्म २ लाख ४२ हजार ८ सय ३५ जना संक्रमित भइसकेका छन् र ९ हजार २ सय ९७ जनाको मृत्यु भएको छ ।

जर्मनीमा जस्तै युरोपका अन्य केही देशमा पनि विरोध प्रदर्शनहरू गरिएका छन् । बेलायत, फ्रान्स स्विट्जरल्यान्ड तथा अस्ट्रियाका विभिन्न सहरमा पनि भाइरस नियन्त्रण गर्न लगाइएका प्रतिबन्धहरूको विरोधमा प्रदर्शनहरू भएका छन् ।

प्रकाशित : भाद्र १४, २०७७ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?