अफगानिस्तानमा बाढीले ७० को मृत्यु

(एजेन्सी)

काबुल — अफगानिस्तानको उत्तरी प्रान्तमा आएको बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा बाढीले ७० को मृत्यु

अधिकारीका अनुसार पर्वान पान्तको चरिकर सहरमा बुधबार बिहानै भीषण बाढी आएको हो । बीबीसीका अनुसार बाढीको समयमा मानिस सुतिरहेका थिए । मृत्यु हुनेहरुमा अधिकांश महिला तथा बालबालिकाहरु छन् । विपद् व्यवस्थापन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चरिकरमा मृत्यु भएकाहरुमा धेरैजसो बालबालिका छन् ।’

प्रान्तका प्रवक्ता वाहिदा सकारले बाढी प्रभावितहरुको उद्धार कार्य जारी रहेको जनाएका छन् । ‘बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन्,’ सकारले भने । उनले मृतकहरुको संख्या बढ्न सक्ने अनुमान गरेका छन् ।

टोलो न्युज नेटवर्कसँग कुरा गर्दै चरिकरका स्थानीय अब्दुल मजिदले दुई परिवार भग्नावशेषले पुरिएका जनाए । ‘खोजी कार्यका लागि हामीलाई उद्धारकर्मीहरुको जरुरत रहेको छ,’ उनले भने ।

बाढीका कारण दर्जनौं घरहरुका पुरिएका स्थानीयहरुको भनाइ छ । ‘५० भन्दा बढी घरहरु पूर्णरूपमा ध्वस्त भएका छन् । बाढीको समयमा सबै मानिस घरमा थिए । कति जनाको ज्यान गयो भन्ने कुनै यनिक छैन,’ पर्वान प्रान्तका स्थानीय अहमद जानले भने ।

प्रहरी तथा उद्धारकर्मीहरुले बाढी प्रभावितहरुको खोजी तथा पुन:स्थापनको कार्य गरिहेको छ । अफगान राष्ट्रपति असरफ घानीले आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका जनाइएको छ । उनले बाढीमा परि ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

विपद् व्यवस्थापन मन्त्रालयका प्रवक्ता अहमद तमिम अजिमीले बाढीका कारण पूर्वी तथा उत्तरी प्रान्तका सडकहरु अवरुद्ध भएका जनाएका छन् । ‘बाढी प्रभावितहरुको उद्धारसँगै हामीले राजमार्गहरु सुचारु गर्ने प्रयास गरिरहेका छौं,’ अजिमीले भने ।

अजिमीका अनुसार पर्वान प्रान्तमा मात्रै करिब ३ सय घर बाढीका कारण ध्वस्त भएका छन् । बाढी प्रभावितहरुको उद्धारका लागि स्थल तथा हवाई फौजले सहयोग गरिरहेको उनले जनाए । बाढीका कारण सयौं एकडको खेतीयोग्य जमिन नष्ट भएको अजिमीले बताए ।

अगस्ट पहिलो साता आएको बाढीका कारण अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा १६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये १५ जना बालबालिका थिए । बाढीका कारण दर्जनौं घरहरुका ध्वस्त भएका थिए ।

प्रकाशित : भाद्र १०, २०७७ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?