१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चिनियाँ चिकित्सकको नेपाल सहायता कहिले ?

चिनियाँ विशेषज्ञहरू हालसम्म ५६ वटा देशमा पुगेर कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरिसकेका छन्
लक्ष्मी लम्साल

बेइजिङ — चीनको वुहानबाट फैलिएको कारोना भाइरस (कोभिड–१९) को महामारीबाट प्रभावित देशहरूमा चीनले सक्दो सहयोग गरिरहेको छ । चीनले आफ्नो अनुभवका आधारमा हालसम्म विभिन्न देशहरूमा विशेषज्ञ टोली खटाएर महामारी नियन्त्रणमा सघाउ पुर्‍याएको छ ।

चिनियाँ चिकित्सकको नेपाल सहायता कहिले ?

पछिल्लो समय नेपाल पनि महामारीबाट दिनदिनै आक्रान्त हुँदै गइरहेको छ । चीनले भिडियो कन्फरेन्समार्फत सुझावहरू दिने तथा केही औषधि तथा उपकरण मात्रै पठाएको छ । तर विशेषज्ञहरूको टोली पठाउनेबारे भने केही जनाएको छैन ।

त्यस विषयमा चिनियाँ पक्षसँग निरन्तर सम्पर्क गरिरहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ पक्षबाट ठोस जवाफ आइनसकेको जनाए । ‘अहिले हामी चिनियाँ पक्षसँग सम्पर्कमै छौं, ठोस निष्कर्षमा पुगेपछि जानकारी गराउँछांै,’ पाण्डेले भने ।

महामारी फैलिएयता चीनले इटाली, सर्विया, कम्बोडिया, पेरु, पाकिस्तान, सुडान, बंगलादेश गरी दर्जनौं देशमा आफ्ना दक्ष चिकित्सक पठाएको छ भने १० भन्दाबढी अन्तर्राष्ट्रिय संगठनसँग महामारी रोकथामको अनुभव तथा उपचार योजना प्रस्तुत गरेको छ ।

फिलिपिन्स सरकारको निमन्त्रणामा त्यहाँ गएको चिनियाँ चिकित्सकहरूको टोलीका प्रमुख वाङ सनकङले भने, ‘चीनसँग फिलिपिन्सको राम्रो सम्बन्ध बन्दै गएको छ । फिलिपिनीहरूले चिनियाँ विशेषज्ञतामा निकै रुचि पनि देखाए ।’

चिनियाँ विशेषज्ञ टोली सम्बन्धित देशमा गएर अस्पतालहरूको भ्रमण, भाइरस परीक्षण, स्थानीय विशेषज्ञहरूसँग स्थलगत छलफल गर्ने गर्छन् । चीनले महामारी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको देखेर विभिन्न देशहरूले उनीहरूबाट सल्लाहसुझाव लिने गरेका छन् ।

इटालीमा खटिएका चिनियाँ चिकित्सक राहत टोलीका विशेषज्ञ ल्याङ सोङआनले इटालीमा महामारीको वितण्डा मच्चिइरहेका बेला त्यहाँका जनताले ताली बजाएर हौसला दिएको स्मरण गरे ।

बंगलादेशमा पुगेका चिनियाँ चिकित्सक टोलीसँग त्यहाँका विदेशमन्त्री एके अब्दुल मोमनले कुनै पनि देश एक्लैले कोरोना महामारी नियन्त्रण गर्न सम्भव नभएको बताएका थिए ।

हालसम्म ५६ वटा देशमा चिनियाँ चिकित्सक, विशेषज्ञहरू पुगेर महामारी रोकथाम तथा नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेको चीनले बताएको छ । विभिन्न देशमा पुगेका चिनियाँ चिकित्सकहरूले ती देशमा काम गर्दाका बखतमा अझ स्तरीय अनुभव हासिल गर्न पाएको सुनाए ।

प्रकाशित : भाद्र ९, २०७७ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?