फिलिपिन्सको जोलोमा दुई वटा बम विस्फोट : कम्तीमा ११ जनाको मृत्यु, ४० घाइते

एजेन्सी

मनिला — फिलिपिन्समा भएको दुई वटा छुट्टाछुट्टै बम विस्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । फिलिपिनो सञ्चारमाध्यमहरुका अनुसार फिलिपिन्सको दक्षिणी क्षेत्र सुलु प्रान्तको जोलो सहरमा गराइएको विस्फोटमा परी ६ जना सैनिक र ५ जना सर्वसाधारणको मृत्यु भएको हो । विस्फोटमा परी कम्तीमा ४० जना घाइते भएका छन् ।

फिलिपिन्सको जोलोमा दुई वटा बम विस्फोट : कम्तीमा ११ जनाको मृत्यु, ४० घाइते

राजधानी मनिलाबाट करिब एक हजार किलोमिटर टाढा रहेको जोलोको मुख्य सडकमा दिउँसो बम विस्फोट गराइएको हो । प्रारम्भिक रिपोर्टअनुसार घरमै बनाइएको बम मोटरसाइकलमा जडान गरेर विस्फोट गराइएको थियो । ज्वाइन्ट टास्क फोर्स, सुलुका प्रवक्ता रेक्स पेयोटका अनुसार विस्फोटबाट केही पसलहरु र सेनाको दुई वटा ट्रकमा क्षति पुगेको छ ।

पहिलो विस्फोट भएको केही बेरमै दोस्रो बम विस्फोट गराइएको जनाइएको छ । पहिलो विस्फोटमा परी ५ जना सैनिक र ४ जना सर्वसाधारणको मृत्यु भएको थियो । त्यस्तै दोस्रो विस्फोटमा परी एक जना सैनिक र आत्मघाती विस्फोट गराउने संदिग्ध महिलाको मृत्यु भएको फिलिपिनो सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विस्फोटको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

सुलु प्रान्तमा इस्लामिक स्टेट(आईएस) सँग सम्बन्ध भएको भनिएको ‘अबु सैयफ’ समूहको प्रभाव रहेको बताइन्छ । उनीहरु गत वर्ष भएको विभिन्न बम विस्फोटका घटनामा संलग्न भएका थिए ।

यसअघि सन् २०१९ को जनवरी २७ मा जोलोमै एउटा चर्च अगाडि गराइएको बम विस्फोटमा परी २३ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए । त्यसको ५ महिनापछि इन्दानानको एउटा सैनिक क्याम्पनजिकै भएको विस्फोटमा ८ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

प्रकाशित : भाद्र ८, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?