कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नाभाल्नीलाई उपचारका लागि जर्मनी पुर्‍याइयो

(एजेन्सी)

एजेन्सी — गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारका लागि साइबेरियाबाट जर्मनी पुर्‍याइएको छ ।

नाभाल्नीलाई उपचारका लागि जर्मनी पुर्‍याइयो

हाल अचेत अवस्थामा रहेका उनले पिएको चियामा विष घोलिएको उनका समर्थकहरूको आशंका छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचार सार्वजनिक भएसँगै जर्मन चान्सलर एंगेला मर्कलले नाभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न जर्मनी तयार रहेको बताएकी थिइन् ।

ओम्स्कमा नाभाल्नीको उपचारमा संलग्न चिकित्सकहरूले अन्यत्र लैजानका लागि अनुमति दिएका थिइनन् । तर पछि नाभाल्नीको अवस्था स्थिर रहेको बताएसँगै उनकी पत्नी युलियासहितको टोलीले उनलाई जर्मनीको बर्लिन पुर्‍याएको हो ।

नाभाल्नीको उपचारमा संलग्न प्रमुख चिकित्सकले उनलाई आफूहरूले हवाई यात्राका लागि सिफारिस नगर्ने बताएका थिए । तर उनकी पत्नीले जर्मनीस्थित अस्पतालमा लग्नुपर्नेमा जोड दिएपछि उडान अनुमति दिइएको बताइएको छ ।

उनको उडानको खर्च जर्मनीको गैरसरकारी संस्था सिनेमा फर पिसले व्यहोरेको बीबीसीले जनाएको छ । नाभाल्नी मस्को फर्कंदै गर्दा बिहीबार विमानमा अचानक बिरामी परेका थिए । लगत्तै उनी सवार विमानलाई आपत्कालीन अवतरण गराइएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा उडान अघि विमानस्थलमा उनले एउटा कपमा केही पिउँदै गरेको देखिन्छ । उनको टोलीका अनुसार नाभाल्नीले चिया पिएका र त्यसमा विष हालिएको आशंका गरेका हुन् ।

कोमामा रहेका उनको स्थिति स्थिर रहेको बताइएको छ । चिकित्सकहरूले उनको शरीरमा विष नपाइएको बताउँदै उनको त्यो अवस्था रगतमा चिनीको मात्रामा कमीका कारण भएको ‘मेटाबोलिक डिसअर्डरले’ निम्ताएको संकेत गरेका छन् । त्यसपछि उनको छाला र कपालमा औद्योगिक रसायनको अंश पाइएको चिकित्सकहरूको भनाइ छ ।

४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् । सरकारी भ्रष्टाचारको भन्डाफोर गर्दै आएका नाभाल्नी कैयौं पटक जेल परिसकेका छन् । गत जुनमा संविधान सुधारका लागि रुसमा भएको चुनावलाई उनले ‘कु’ को संज्ञा दिएका थिए । उक्त चुनावले पुटिनलाई थप दुई राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो ।

प्रकाशित : भाद्र ६, २०७७ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?