बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

एजेन्सी

बेइजिङ — चीनको राजधानी बेइजिङका बासिन्दा अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ । सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले बिहीबारदेखि अर्को व्यक्तिसँग नजिकै जानुपर्दा बाहेक मास्क लगाउनु नपर्ने व्यवस्था गरिएको हो ।

फाइल फोटो : रोयटर्स

बेइजिङ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबारदेखि नयाँ नियम लागू गरेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको भन्दै चीनमा पछिल्ला दिनमा विभिन्न प्रतिबन्धहरु हटाइँदै लगिएको छ । केही दिनअघि मात्रै हुबेईको वुहानमा एउटा स्विमिङ पुलमा भएको पार्टीमा सयौं मानिस सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप २२ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । बेइजिङमा भने पछिल्लो २४ घण्टामा संक्रमण देखिएको छैन ।

नयाँ नियमअनुसार बेइजिङमा अरु मानिससँग एकदमै नजिक(क्लोज कन्ट्याक्ट) मा जानुपर्ने भए मात्रै मास्क लगाउनुपर्ने छ । बालबालिकालाई भने अभिभावकको निगरानीमा लिएर हिँड्नुपर्नेछ । सार्वजनिक स्थानमा थुक्न भने कडा प्रतिबन्ध लागू गरिएको छ ।

यसअघि बुधबार चिनियाँ अधिकारीहरुले करिब ४ महिनादेखि कोरोना संक्रमणबाट चीनमा कसैको पनि मृत्यु नभएको बताएका थिए ।

प्रकाशित : भाद्र ५, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

बायर्नलाई ‘ट्रेबल’ उपलब्धिको अवसर

एजेन्सी

लिस्बन — सन् २०२० बायर्न म्युनिकका लागि सधैं सम्झनलायक हुन सक्नेछ । बार्सिलोनालाई अविश्वसनीय रूपमा ठूलो अन्तरले हराएयता बार्यनले लियोनलाई पनि सजिलै पराजित गरेको छ ।यसका लागि बायर्नले पक्कै पनि खेलको सुरुमा संघर्ष गर्नुपर्‍यो, तर जतिबेला जित हात पर्‍यो, त्यतिबेला यसलाई सजिलो जित भन्न सकिने छ ।

लियोनलाई हराएपछि बायर्नका थोमस मुलर, रोबर्ट लेवान्डोवस्की र सर्ज जेनाब्री । तस्बिर : एपी

अब बायर्नसामु दुर्लभ ऐतिहासिक उपलब्धिको अवसर छ । त्यो भनेको ‘ट्रेबल’ उपाधिको मौका हो । सर्ज जेनाब्रीको दुई र रोबर्ट लेवान्डोवस्कीको एक गोलमा बायर्न म्युनिकले बुधबार लियोनलाई ३–० ले हराएर युरोपेली च्याम्यिन्स लिगको फाइनल यात्रा तय गर्‍यो । अब उपाधिको भिडन्तमा बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । स्टाडियो जोसे एल्भाल्डेमा भएको खेलमा लियोनले सुरुमा पाएको दुई मौका सदुपयोग गर्न सकेन । अन्त्यमा फ्रान्सेली क्लब त्यसको चर्को मूल्य तिर्न बाध्य रह्यो र प्रतियोगिताबाट बाहिरियो ।

त्यसलगत्तै जेनाब्रीले १८ औं मिनेटमा पहिलो गोल गरे भने खेलले आधा घण्टाको समय छुँदा दोस्रो गोल थपे । लेवान्डोवस्कीले ८८ औं मिनेटमा तेस्रो गोल गरे । यो उनको सिजनको ५५ औं गोल रह्यो । बायर्नले च्याम्पियन्स लिगका १० खेलमा ४२ गोल गरिसकेको छ । त्यसमा बार्सिलोनामाथि प्राप्त ८–२ को जित पनि पर्छ । अब बायर्नसामु घरेलु लिग र कपसँग च्याम्पियन्स लिग जित्ने अवसर आएको छ । बायर्नले जर्मन बुन्डेसलिगा र जर्मन कप दुवै जितिसकेको छ ।

जितपछि प्रतिक्रिया दिँदै बायर्न प्रशिक्षक हान्सी फ्लिकले फाइनल प्रवेशका लागि आफ्नो टिमले कडा मिहिनेत गर्नुपरेको बताए । उनको भनाइ थियो, ‘हामीलाई थाहा थियो, सेमिफाइलन सजिलो हुन्न । लियोनले सुरुमा नै हामीलाई दबाबमा राख्न सफल रह्यो । म्यानचेस्टर सिटी र युभेन्ट्सविरुद्ध लियोनले त्यसै जित निकालेको थिएन ।

लियोन प्राविधिक र रणनीतिक दुवै रूपमा बलियो छ । त्यसैले सुरुमा हामीलाई पक्कै पनि केही गाह्रो भयो ।’

उनले थपे, ‘हाम्रो डिफेन्सले पनि आजको खेलमा राम्रो गर्‍यो । यो नै हाम्रो टिमको सबैभन्दा बलियो पक्ष हो । तर पनि म के मान्छु भने लियोनले राम्रो खेलेको हो । अन्त्यमा हामी सबै खुसी छौं र अझ राम्रो गर्न प्रेरित छौं ।’

उनले बायर्नका लागि अहिले सपना साकार हुने स्थिति रहेको माने । प्रशिक्षक फ्लिकले अब आफ्नो टिमको ध्यान आइतबार हुने फाइनलमा केन्द्रित हुने र त्यसअगाडि आफ्ना खेलाडीलाई तयार गर्ने चुनौती रहेको बताए ।

घरेलु फ्रान्सेली लिग वानमा यसपल्ट राम्रो गर्न नसकेको लियोनका लागि च्याम्पियन्स लिगमा सेमिफाइनलसम्मको यात्रा भने सम्झनलायक रहनेछ । हारपछि प्रतिक्रिया दिँदै लियोनका ब्राजिली खेलाडी मार्सेलोले भने, ‘आज हामी सुरुमै गोल गर्न चुक्यौं र यसको मूल्य पनि चुकायौं । हाम्रो आक्रमणमा केही कमजोरी देखियो । तर मलाई टिमको प्रदर्शनमा गर्व छ । हामीले आज बायर्नका रूपमा निकै बलियो टिमको सामना गर्‍यौं र उसकै स्तरमा प्रदर्शन गर्न पनि सफल रह्यौं ।’

प्रकाशित : भाद्र ५, २०७७ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×