कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

थाइल्यान्डमा सरकारविरोधी प्रदर्शन

संवैधानिक सुधार र राजसंस्थाको भूमिकाबारे छलफलको माग गर्दै हजारौं जनता सडकमा उत्रिए
(एजेन्सी)

बैंकक — थाइल्यान्डमा राजनीतिक सुधारको माग गर्दै हजारौं सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् । राजधानी बैंककमा आइतबार गरिएका प्रदर्शनका सहभागीले संविधान तथा राजसंस्थाको सुधारको माग गरेका हुन् ।

थाइल्यान्डमा सरकारविरोधी प्रदर्शन

थाइल्यान्डमा राजसंस्थाको विषय निकै गम्भीर मानिन्छ । वर्तमान कानुनअनुसार थाइल्यान्डको राजपरिवारको आलोचना गर्ने जोकोहीलाई लामो समयको जेल सजाय हुने व्यवस्था छ ।

लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि आइतबार प्रदर्शन गरिएको जनाइएको छ । प्रदर्शनका क्रममा केही नेताहरू पक्राउ परेको बीबीसीले उल्लेख गरेको छ ।

प्रदर्शनका आयोजकहरूले आइतबारको विरोधपछि परिवर्तन चाहने विद्यार्थीहरूप्रति जनसमर्थन बढेको दाबी गरेका छन् । थाइल्यान्डमा पछिल्ला केही साताहरूमा नियमित रूपमा विरोध प्रदर्शन हुँदै आएका छन् ।

विद्यार्थी समूहको नेतृत्वमा सन् २०१४ मा सैन्य विद्रोहको नेतृत्व गर्ने पूर्वसैन्य प्रमुख तथा प्रधानमन्त्री प्रयुत चान–ओचा र उनको समर्थन रहेको संस्थापन पक्षविरुद्ध प्रदर्शन भइरहेको हो ।

अधिकारवादी समूहरूका अनुसार आइतबार बैंककको लोकतन्त्र स्मारकमा गरिएको प्रदर्शन सन् २०१४ यताकै सबैभन्दा ठूलो हो । ‘हामी यहाँ विभिन्न समूह र विभिन्न उमेरका छौं,’ २९ वर्षीय एक सहभागीले भने ।

शुक्रबार राति लोकप्रिय विद्यार्थी नेता परित चिवारकलाई रिहा गरेपछि उनले उक्त स्मारकमा हुने प्रदर्शनमा सहभागीता जनाउने बताएका थिए । ‘हामी तपाईंलाई निराश तुल्याउने छैनौं,’ रिहा हुने क्रममा स्वागतका लागि प्रहरी कार्यालयबाहिर जम्मा भएका समर्थकहरूको भीडलाई २२ वर्षीय परितले भनेका थिए ।

हजारौंले भाग लिएको भनिएको विरोध प्रदर्शनको तालिका सुरु हुनुअघि नै सयौंको संख्यामा सुरक्षाकर्मीहरू कार्यक्रम स्थलमा पुगेका थिए । बीबीसीका अनुसार स्मारक क्षेत्रमा ६ सय प्रहरीहरू तैनाथ गरिएका थिए ।

आंशिक रूपमा हङकङको प्रजातान्त्रिक आन्दोलनबाट प्रेरित आन्दोलनकारीहरूले नेतृत्वविहीन अवस्थामा युवाहरू स्वस्फूर्त सडकमा आएको दाबी गरेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत देशव्यापी रूपमा सरकारविरुद्ध अभियान चलाएका छन् ।

आइतबार बिहान सुरु भएको ‘निरंकुशताको अन्त्यका लागि आन्दोलनमा सहभागिता जनाउन आफ्नो साथीलाई सन्देश पुर्‍याउनुहोस्’ भन्ने सन्देश थाइल्यान्डभित्र सामाजिक सञ्जालमा निकै चर्चामा थियो ।

आन्दोलनकारीहरूले सन् २०१७ मा सैन्य प्रशासनद्वारा लिपिबद्ध संविधानको पुनर्लेखनको माग गरिरहेका छन् । गत वर्ष भएको चुनावमा प्रयुतको सैन्य गठबन्धन पार्टीको पक्षमा जनमत आउनुमा षड्यन्त्र भएको पनि उनीहरूको दाबी छ ।

गत साता करिब ४ हजारको संख्यामा भेला भएका प्रजातन्त्र पक्षधरहरूले एक जुलुसको आयोजना गरी थाइल्यान्डको ‘राजतन्त्रको रक्षा गर्ने कानुन खारेज गर्न र थाइल्यान्डमा शाही संस्थाको भूमिका’ बारे छलफलका लागि आह्वान गरेका थिए ।

सेना र पुँजीपति व्यवसायी तथा सम्भ्रान्तहरूलाई सत्तामा राखेको भन्दै उनीहरूले थाई नरेशको समेत कडा आलोचना गरेका छन् । थाइल्यान्डको अपराध संहिताको धारा ११२ ले प्रत्येक अभियोगका लागि १५ वर्ष जेल सजाय पाएकाहरूलाई पनि सत्ताको आडमा संरक्षण गरेको आरोप प्रदर्शनकारीको छ ।

लोकतन्त्र समर्थकको आन्दोलनप्रतिको बढ्दो साहसले राजतन्त्र पक्षधरलाई क्रोधित बनाएको छ । आइतबार राजाको चित्र बोकेका दर्जनौं राजतन्त्रवादी प्रदर्शनकारीहरू पनि लोकतन्त्र स्मारकमा भेला भई आन्दोलनको विरोध गरेका थिए । उनीहरू पहेंलो पोसाकमा भेला भई ‘हाम्रा राजा अमर रहून्’ भन्ने नारा लगाएका थिए । त्यसलगत्तै उक्त स्थानमा लोकतन्त्र पक्षधर प्रदर्शनकारीको ठूलो समूहले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

विद्यार्थी नेता परित पक्राउ भएको अघिल्लो दिन प्रधानमन्त्री प्रयुतले लोकतान्त्रिक आन्दोलन ‘जोखिमपूर्ण’ भएकाले प्रदर्शनकारीहरूको माग ‘अस्वीकार्य’ भएको प्रतिक्रिया दिएका थिए । तर पछि उनले टेलिभिजनमा गरेको संवादमा ‘भविष्य युवाको भएको’ भन्दै एकताका लागि थाई युवाहरूसँग अनुरोध गरेका थिए ।

थाइल्यान्डले लामो समयदेखि हिंसात्मक प्रदर्शन र विद्रोहको सामना गरेको छ । थाई सेनाले दर्जनभन्दा बढी पटक अनपेक्षित रूपमा सत्ता कब्जामा लिई लोकतान्त्रिक शक्तिलाई पाखा लगाउने र निरंकुशतालाई प्रोत्साहन गर्ने गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण थाइल्यान्ड सन् १९९७ यताकै सबैभन्दा खराब आर्थिक संकटमा फसेको छ । महामारीले लाखौंको रोजगारी खोस्नुका साथै थाई अर्थव्यवस्थाका असमानता उजागर गरिदिएको छ । जसको फाइदा पुँजीपति व्यवसाय, सम्भ्रान्त वर्ग र सैनिक समर्थक प्रतिष्ठानलाई भइरहेको बताइएको छ ।

प्रकाशित : श्रावण ३२, २०७७ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?