भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा

एजेन्सी

नयाँदिल्ली — भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । हिन्दुस्तान टाइम्सले दिल्लीस्थित सैनिक अस्पताललाई उद्धृत गर्दै मुखर्जी कोमामा गएको उल्लेख गरेको छ ।

केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको 'भाइटल प्यारामिटर' भने स्थिर रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच 'मुखर्जीको मृत्यु' भएको भन्ने अफवाहको परिवारले खण्डन गरेको छ । मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भनेकी छिन्, 'मेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् । खासगरी मिडियालाई मलाई फोन नगर्न आग्रह गर्छु । अस्पतालबाट आउने सूचनाका लागि मैले फोन फ्रि राख्नुपर्ने हुन्छ ।'

त्यस्तै मुखर्जीका छोरा अभिजितले पनि ट्वीट गर्दै बुवा जीवितै रहेको बताएका छन् । 'मेरो बुवा प्रणव मुखर्जी जीवित हुनुहुन्छ । रक्तसञ्‍चारमा समस्या देखिएपछि उहाँको अवस्था स्थिर छ । केही सम्मानित पत्रकारबाटै सामाजिक सञ्‍जालमा अड्कलबाजी लगाउने र अफवाह फैलाउने कामबाट भारतका मिडिया फेक न्युजको फ्याक्ट्री बनिसकेको देखिन्छ,' अभिजितले ट्वीटमा लेखेका छन् ।

यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका छन् । पूर्वराष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए ।

भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

प्रकाशित : श्रावण २९, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

९ दिनपछि ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नौ दिनपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीचको वार्ता बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बालुवाटार स्रोतका अनुसार दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको हो ।

यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए ।

अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन ।

पछिल्लो समय वामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको छ । बदलिएको यो समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने अडानमा थिए । स्थायी र केन्द्रीय कमिटीमा भने दाहाल–नेपाल समूहको बहुमत छ ।

यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ ।

दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित मात्र गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ ।

साउन १३ मा दुवैले चालेको कदमपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ । ओलीमाथि दबाब भन्दै बुधबारमात्रै दाहाल–नेपाल समूहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफू निकट केन्द्रीय सदस्यहरुको भेला गरेका थिए । उक्त भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल साथै प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि थिए । यो समूहले २१ गते पत्रकारहरुको भेला पनि गरेको थियो ।

बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए । त्यसअर्थमा बिहीबारको दुई अध्यक्षबीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ ।

प्रकाशित : श्रावण २९, २०७७ ११:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×