कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमला ह्यारिस डमोक्रेटिक पार्टीबाट अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । उनी उपराष्ट्रपतिका लागि निर्वाचन लड्ने पहिलो अश्वेत महिला हुनेछिन् ।

कमला ह्यारिस डमोक्रेटिक पार्टीबाट अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार

५५ वर्षीया कमला ह्यारिसको जन्म क्यालिफोर्नियाको ओकल्यान्डमा भएको थियो । उनका आमाबुवा प्रवासी थिए । उनकी आमाको जन्म भारतमा भएको थियो भने बुवा जमैकाबाट आएका थिए ।

यसभन्दा पहिले अमेरिकामा दुई पटक उपराष्ट्रिपति पदका लागि दुई जना महिला उम्मेदवार चुनाव लडेका थिए । सन् १९८४ मा डेमोक्रेटिक पार्टीबाट गिरालडिन फेरारो र सन् २००८ मा रिपब्लिकन पार्टीबाट सारा पालिन उपराष्ट्रपति पदका लागि निर्वाचन लडेका थिए । तर दुवै जनाले चुनाव भने जितेनन् । अमेरिकाका प्रमुख दुई पार्टीले अहिलेसम्म कुनै अश्वेत महिलालाई राष्ट्रपतिको उम्मेदवार बनाएका छैनन् । अहिलेसम्म अमेरिकामा कोही पनि महिला राष्ट्रपतिमा निर्वाचित पनि भएका छैनन् ।

क्यालिफोर्नियाबाट सिनेटक्री सदस्य रहेकी कमला ह्यारिस कुनै समय जो बाइडनलाई राष्ट्रपति पदको उम्मेदवारका लागि चुनौती दिइरहेकी थिइन् । राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएसँगै जो बाइडनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा सुरु भएको थियो । कमला यसअघि क्यालिफोर्नियाको महान्यायाधिवक्ता भइसकेकी छिन् ।

उनी अमेरिकी प्रहरीमा व्यापक सुधार गरिनुपर्छ भन्ने मान्यता राख्छिन् । आउँदो नोभेम्बर ३ तारिकमा हुने चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जो बाइडनले चुनौती दिँदैछन् । उनले कमलालाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवार बनाउन पाउँदा गर्व महसुस भएको बताएका छन् । बाइडनले कमलालाई ‘बहादुर योद्धा तथा अमेरिकाकै सबैभन्दा उत्र्कृष्ट कर्मचारी’ को संज्ञा दिएका छन् ।

ट्रम्पले भने : अमेरिकाका लागि गलत

कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने बाइडनको घोषणासँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकाका लागि गलत’ भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘कमला ह्यारिस तीनै व्यक्ति हुन् जसले कैयौं कथाहरु सुनाइन् जुन सत्य थिएन । तपाईँहरुलाई थाहा छ उनले प्राइमरी चुनावमा कति खराब प्रदर्शन गरेकी थिइन् भनेर । यसैले पनि म अचम्मित भएको छु कि बाइडनले उनलाई किन चुने ?’

त्यस्तै ट्रम्पले बाइडनलाई खोक्रो योजनालाई ‘अतिवादी वामपन्थी एजेन्डा’ ले भरेको पनि आरोप लगाएका छन् ।

प्रकाशित : श्रावण २८, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?