प्रकाशक पक्राउको विरोधमा प्रदर्शन

पत्रिकाको बिक्री ४ गुणा बढ्यो 
एजेन्सी

हङकङ — चर्चित लोकतन्त्रवादी प्रकाशक जिम्मी लाई पक्राउको विरोधमा हङकङवासीले मंगलबार प्रदर्शन गरेका छन् । हङकङको सबैभन्दा ठूलो एप्पल डेली समाचारपत्रका प्रकाशक जिम्मीलाई विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा सोमबार पक्राउ गरिएको थियो । उनको पक्राउसँगै एप्पल डेलीको बिक्री ४ गुणाले बढेको छ ।

प्रकाशक पक्राउको विरोधमा प्रदर्शन

नियमित एक लाख बिक्री हुँदै आएको पत्रिका मंगलबार ५ लाख प्रति बिक्री भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबारको पत्रिकाको पहिलो पृष्ठमा जिम्मीलाई नियन्त्रणमा लिइएको तस्बिरसहित ‘एप्पलले निरन्तर लडिरहनेछ’ भन्ने शीर्षक राखिएको थियो । त्यसका साथै कम्पनीको सेयर सोमबार ३ सय तथा मंगलबार ५ सय प्रतिशतले बढेको जनाइएको छ ।

जिम्मीलाई चीनले बलपूर्वक कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको हो । गत वर्ष हङकङमा भएको लोकतन्त्रवादी आन्दोलनका समर्थक जिम्मीले चीन तथा हङकङका शासकको कडा आलोचना गर्दै आएका थिए । जसका कारण उनी शासकको तारो बन्दै आएका थिए ।

७१ वर्षीय जिम्मीलाई गत फेब्रुअरीमा गैरकानुनी रूपमा भेला भएको र बलजफ्ती गरेको अभियोग लगाइएको थियो । पछि उनी धरौटीमा छुटेका थिए । ‘विदेशी शक्तिहरूसँग मिलेमतो गरेको भन्दै जिम्मीलाई पक्राउ गरिएको हो,’ उनको सञ्चार कम्पनी नेक्स्ट डिजिटलमा कार्यरत मार्क साइमनले सोमबार बताएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार उनलाई पक्राउ गर्ने क्रममा करिब २ सय प्रहरीहरूले उक्त कम्पनी रहेको भवनमा प्रवेश गरेर ९ घण्टासम्म खानतलासी गरेका थिए ।

प्रहरीले जिम्मीका साथै अन्य ७ जनालाई राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आशंकामा पक्राउ गरिएको जनाएको थियो । कारबाही नयाँ सुरक्षा कानुनअन्तर्गत गरिएको तेस्रो चरणको पक्राउ हो । अहिलेसम्म पक्राउ पर्नेमध्ये जिम्मी सबैभन्दा ठूला र विदेशी नागरिकता वाहक पहिलो व्यक्ति हुन् । उनीसँग बेलायतको नागरिकता छ ।

को हुन् जिम्मी ?

जिम्मी लाई एक अर्ब डलर मूल्यांकन गरिएको सम्पत्तिका मालिक हुन् । कपडा उद्योगबाट थुप्रै सम्पत्ति आर्जन गरेका जिम्मी पछि सञ्चार क्षेत्रमा प्रवेश गरेका हुन् । उनले एप्पल डेलीको स्थापना गरे ।

हङकङमा चीनको बढ्दो प्रभावविरुद्धको अभियानमा जिम्मी निकै सक्रिय छन् । सन् २०१९ मा हङकङमा लोकतान्त्रिक सुधारका लागि आयोजित विरोध प्रदर्शनहरूमा समेत उनी सहभागी भएका थिए । चीनले ल्याएको नयाँ सुरक्षा कानुन पारित भएपछि उनले सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै उक्त कानुन ‘हङकङका लागि मृत्युको घण्टी’ भएको बताएका थिए । यसअघि जिम्मीविरुद्ध लगाइएको मुद्दाबारे समाचार लेख्दै चिनियाँ सरकारी सञ्चारमाध्यमले उनलाई हङकङ दंगाका प्रमुख योजनाकार भएको दाबी गरेको थियो ।

प्रकाशित : श्रावण २८, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?