१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

भारतीय विदेशमन्त्रीले भने–‘बुद्ध महान् भारतीय’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले त्यस्तो धारणा राखेका हुन् ।

भारतीय विदेशमन्त्रीले भने–‘बुद्ध महान् भारतीय’

‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ’ सम्मेलनलाई सम्बोधनका क्रममा जयशंकरले भनेका छन् ।

भारतीय राजनीतिक नेतृत्वबाट गौतम बुद्धलाई भारतको दाबी गरिएको यो पहिलो पटक भने होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारत बुद्धको भूमि भएको दाबी गरेका थिए । मोदीको उक्त भनाइको पनि नेपालमा विरोध भएको थियो । तर उनै मोदीले ठिक ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको उल्लेख गरेका थिए । मोदीको गरेको उक्त सम्बोधनले नेपालमा निकै वाहवाही पाएको थियो । तर, नेपालमा त्यस्तो अभिव्यक्ति दिएका मोदीले नै बेलाबखत बुद्ध भारतीय भएको दाबी गर्दै आएका छन् । गत वर्ष संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा पनि मोदीले भारतले विश्वलाई बुद्ध दिएको दाबी गरेका थिए ।

भारतीय पक्षबाट बेलाबखत आउने यस किसिमका अभिव्यक्तिहरुको नेपालमा चर्को विरोध हुँदै आएको छ । सन् २०१३ मा भारतीय टेलिभिजन च्यानल जीले प्रसारण गरेको बुद्धको जीवनीमा आधारित सिरियललाई लिएर पनि ठूलो विवाद भएको थियो । उक्त सिरियलमा बुद्धलाई भारतीय भएको देखाइएको थियो । त्यसपछि फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा उक्त सिरियलमाथि तत्काल प्रतिबन्ध लगाउनुपर्ने मागसहित तीव्र आक्रोश प्रकट गरिएको थियो । नेपालमा चर्को विरोध भएपछि नेपालका केबल अपरेटरहरुले उक्त सिरियलको प्रसारणमै रोक लगाएका थिए ।

त्यसताका नेपाल भ्रमणमा रहेकी भारतीय विदेश सचिव सुजाता सिहंले दिल्ली फर्कनुअघि काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बुद्ध नेपालमै जन्मेको भन्नेमा कुनै विवाद नरहेको भन्दै अभिव्यक्ति दिएकी थिइन् । साथै काठमाडौंस्थित भारतीय दूतावासले पनि वक्तव्य जारी गर्दै बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको कुरामा भारत सरकारले प्रष्ट रहेको बताएको थियो । पछि उक्त सिरियलका प्रमुख कलाकार कविर वेदीले पनि ट्विटरमार्फत् माफी मागेका थिए ।

भारतीय पक्षबाट लुम्बिनीका सम्बन्धमा हुँदै आएका यस किसिमका अभिव्यक्तिले नेपालमाण् तीव्र प्रतिरोध हुँदै आएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?