कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोनाको ‘हटस्पट’ बन्दै भारत

एक दिनमै ९ सय ३३ जनाको मृत्यु
संक्रमितको संख्या २१ लाखनजिक
सीमावर्ती राज्यमा संक्रमण तीव्र
सुरेशराज न्यौपाने

नयाँदिल्ली — पछिल्ला दिनमा नयाँ संक्रमितहरूको संख्यामा भएको वृद्धिलाई हेर्ने हो भने भारत कोरोना भाइरस (कोभिड–१९) संक्रमणका लागि विश्वकै नयाँ ‘हटस्पट’ बन्नेतर्फ उन्मुख रहेको देखिन्छ । भारतमा शनिबार कोभिड–१९ का थप ६१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै एक दिनमा थपिएको दोस्रो बढी संख्या हो । यसअघि गत बिहीबार कोभिड–१९ का हालसम्मकै बढी अर्थात् ६२ हजार ५ सय ३८ जना थप बिरामी पहिचान भएका थिए ।

कोरोनाको ‘हटस्पट’ बन्दै भारत

पछिल्लो एक दिनमा थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको संख्याले २० लाख ८८ हजार नाघेको छ । त्यसैगरी पछिल्लो एक दिनमा थप ९ सय ३३ जनाको संक्रमणका कारण मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना भाइरसको मृत्यु हुनेको संख्या ४२ हजार ५ सय १८ पुगेको छ ।

भारतमा पहिलो संक्रमण ३० जनवरीमा केरलामा पुष्टि भएको थियो । तर, करिब ६ महिनामै संक्रमितको संख्याले बीस लाख नाघेको छ । भारतमा संक्रमित संख्या पहिलो एक लाख पुग्न साढे तीन महिना लागेकोमा थप पछिल्लो तीन महिनामा उन्नाइस लाख थपिएका छन् ।

अहिले भारत विश्वका भाइरसले संक्रमित मुलुकहरूमध्ये अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतको दैनिक संक्रमणको वृद्धिदर भने अमेरिकाको १.२ र ब्राजिलको १.६ प्रतिशतभन्दा निकै बढी अर्थात् ३ प्रतिशत छ । यो वृद्धिदर कायम रहने हो भने भारतले केही दिनमै ब्राजिललाई उछिन्ने देखिन्छ । पछिल्लो ६ दिनमा (अगस्ट महिना सुरु भएयता) भारतमा नयाँ संक्रमितको संख्या अमेरिका र ब्राजिलको भन्दा बढी देखिएको छ । जबकि परीक्षण दर भने भारतको यी दुई मुलुकको तुलनामा अझै निकै कम छ । भारतमा परीक्षण दर प्रतिदस लाखमा साढे सोह्र हजारको मात्र छ भने अमेरिकामा करिब दुई लाख र ब्राजिलमा साठी हजारभन्दा बढी छ ।

पछिल्लो समय भारतका आन्ध्रप्रदेश, बिहार, पश्चिम बंगाल, महाराष्ट्र, उत्तरप्रदेश, बिहार र कर्नाटकलगायत राज्यमा संक्रमितको संख्यामा उच्च वृद्धि देखिएको छ । विशेषगरी दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशमा संक्रमण तीव्र रूपमा बढेको देखिन्छ । त्यहाँ शनिबारसम्ममा संक्रमितहरूको संख्याले दुई लाख छ हजार नाघेको छ । उक्त राज्यमा गएको नौ दिनमै त्यहाँ एक लाख नयाँ संक्रमित थपिएका छन् ।

यस अवधिमा अर्को दक्षिण भारतीय राज्य तमिलनाडुमा पचास हजारभन्दा बढी नयाँ संक्रमित पहिचान भएका छन् । त्यसबाहेक महाराष्ट्रमा पनि संक्रमण दिन प्रतिदिन फैलिरहेको छ । महाराष्ट्र भारतको सबैभन्दा बढी संक्रमण हुने राज्यमा पर्छ । त्यहाँ हालसम्म ४ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् । जसमध्ये करिब एक लाख त पछिल्लो दस दिनमै थपिएका हुन् । त्यसबाहेक सबै संक्रमण हुनेमा तमिलनाडु, कर्नाटक र दिल्ली पनि छन् ।

भारतमा संक्रमण बढ्दै गएपछि यहाँ रहेका नेपालीहरूमा पनि संक्रमणको जोखिम बढ्दै गएको छ । संक्रमण उच्च देखिएका महाराष्ट्र, तमिलनाडु, आन्ध्रप्रदेश, दिल्लीलगायत राज्यहरूमा नेपाली कामदारहरूको बाक्लो उपस्थिति छ । पछिल्ला दिनमा संक्रमणको जोखिम बढेकै कारण नेपाली कामदारहरू घर फर्कने क्रम बढेको प्रवासी नेपाली संगठनका प्रतिनिधिहरूले बताएका छन् ।

यसैगरी भारतीय सीमावर्ती राज्यहरू उत्तरप्रदेश, पश्चिम बंगाल र बिहार बढ्दो संक्रमणले पनि नेपालमा जोखिम बढाएको छ । गएको २४ घण्टामा उत्तरप्रदेशमा ४ हजार ४ सय ४ र बिहारमा २ हजार ५ सय ६५ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै उत्तरप्रदेशमा हालसम्म कुल संक्रमितको संख्या १ लाख १३ हजार र बिहारमाा ७१ हजार नाघेको छ ।

त्यसैगरी अर्को सीमावर्ती राज्य पश्चिम बंगालको अवस्था पनि दिनैपिच्छे भयावह बन्दै गएको छ । पछिल्लो एक दिनमा त्यहाँ करिब २ हजारले बढेर ८९ हजार ६ सय ६६ पुगेको छ । नेपालसँग सीमा जोडिएका यी राज्यहरूमा संक्रमण बढ्दै जाँदा नेपालमा संक्रमण फैलने खतरा छ ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पनि दुवैतर्फबाट मानिसहरूको लुकीछिपी आउजाउ गर्ने क्रम जारी छ । जसले गर्दा नेपालका सीमावर्ती क्षेत्रमा पनि जोखिम स्वतः बढेको छ ।

प्लाज्मा थेरापीको प्रभावकारितामा प्रश्न

नेपालमा कोरोना भाइरसका बिरामीहरूको उपचारहरूका लागि प्लाज्मा थेरापी सुरु गर्नेबारे बहस जारी रहेका बेला यता भारतमा भने यसको प्रभावकारितामाथि वरिष्ठ चिकित्सकले नै प्रश्न उठाएका छन् ।

दिल्लीस्थित अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स्) का निर्देशक डा. रणदीप गुलेरियाले प्लाज्मा थेरापीबाट खासै चिकित्सकीय लाभ नभएको उल्लेख गरेको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

‘तीस जना कोभिड–१९ का बिरामीमा परीक्षण गर्दा प्लाज्मा थेरापीको प्रस्ट प्रभावकारिता देखिएन, थेरापी गरिएका र नगरिएका समूहबीच मृत्युदर पनि उस्तै रह्यो र बिरामीको स्वास्थ्यमा सुधार पनि खासै देखिएन,’ उनले भने । साथै उनले यो प्रारम्भिक विश्लेषण मात्र भएको र प्लाज्मा थेरापीबाट लाभ भएको छ कि छैन भन्ने हेर्नका लागि थप विस्तृतमा मूल्यांकन गर्नुपर्ने बताएको पीटीआईले जनाएको छ । गुलेरियाको पछिल्लो भनाइपछि प्लाज्मा थेरापीको प्रयोगमाथि नै बहस सुरु भएको छ । प्लाज्मा थोरापीका लागि सबैभन्दा पहिले निको भइसकेका बिरामीको रगत निकालिन्छ । र, त्यसपछि त्यो रगतमा रहेको कोभिड–१९ एन्टीबडिज भएको प्लाज्मा निकालिन्छ । प्लाजमा निकालेपछि निकालिएको रगतलाई पुनः दातालाई चढाइन्छ । निकालिएको कोभिड–१९ एन्टीबडिजयुक्त प्लाज्मा संक्रमति व्यक्तिलाई दिइन्छ । जसबाट संक्रमितमा व्यक्तिमा रहेका कोभिड–१९ भाइरसविरुद्ध ती एन्टीबडिज लड्छन् । जसका कारण बिरामीको रोगविरुद्धको प्रतिरोध क्षमता बढ्दै जान्छ । फलस्वरूप भाइरसको संक्रमण कम हुँदै जान्छ र बिरामी तंग्रिँदै जान्छ । यद्यपि प्लाज्मा थेरापीले भाइरसको उपचार गर्ने भने होइन । यसले भाइरसविरुद्ध लड्न शरीरको प्रतिरोध क्षमता बढाउने मात्र हो ।

त्यसरी प्रतिरोध क्षमता बढ्दा कोभिड–१९ संक्रमित बिरामी चाँडै निको हुने दाबी गरिएको थियो । यही भएर कोरोना भाइरसका बिरामीहरूमा संक्रमण कम गर्नका लागि प्लाज्मा थेरापी प्रभावकारी हुने भन्दै यसलाई कार्यान्वयनमा ल्याइएको थियो । भारतको केन्द्र सरकारले हाललाई दिल्ली, पन्जाब, कर्नाटक, गुजरात, महाराष्ट्र र केरलालाई मात्र प्लाज्मा थेरापीको परीक्षण गर्न अनुमति दिएको थियो ।

दिल्लीमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले अप्रिल तेस्रो साता संक्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दान गर्न अनुरोध गरेका थिए । दिल्लीकै केही अस्पतालमा भर्ना गरिएका कोभिड–१९ भाइरसबाट संक्रमित बिरामीहरूमा गरिएको परीक्षणमा प्लाज्मा थेरापी सफल देखिएपछि उत्साहित बनेका केजरीवालले त्यस्तो आग्रह गरेका थिए । उपचारपछि घर फर्केकाहरूमध्ये प्लाजा दान गर्न इच्छुक दाताहरूका लागि अस्पताल आउने/जाने प्रबन्धसमेत मिलाइएको थियो । सबै खर्च सरकारले व्यहोर्ने घोषणा गरिएको थियो । तर, गुलेरियाजस्ता कहलिएका चिकित्सकले नै यसको प्रभावकारितामाथि नै प्रश्न उठाए पछि प्लाज्मा थेरापीलाई निरन्तरता दिने नदिने भन्ने अन्योल सिर्जना भएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?