कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'गैंडा पार्क'मा नेपाल-चीन दौत्य सम्बन्धको कार्यक्रम

लक्ष्मी लम्साल

बेइजिङ — नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव कार्यक्रम चीनको क्वाङ्तोङ प्रान्तस्थित नेपालले उपहारस्वरुप चीनलाई दिएका एकसिंगे गैंडा राखिएको निकुञ्जमा आयोजना गरिएको छ ।

'गैंडा पार्क'मा नेपाल-चीन दौत्य सम्बन्धको कार्यक्रम

आयोजक क्वाङतोङ् प्रान्तीय वैदेशिक मामिला कार्यालयले क्वाङ्चौस्थित नेपाली महावाणिज्य दूतावासका पदाधिकारीहरूलाई शुक्रबार एकजोडी गैंडा राखिएको निकुञ्जमा निम्त्याएर शुभकामना आदानप्रदान तथा गैंडा अवलोकन गराएका हुन् । २०७५ असारमा नेपाल सरकारले भद्र र रूपसी नाम गरेका एकजोडी गैंडा चीनलाई उपहारस्वरूप प्रदान गरेको थियो । उनीहरूलाई अहिले क्वाङतोङ प्रान्तको छाङलोङ निकुञ्जमा राखेर हुर्काइँदैछ ।

कार्यक्रममा महावाणिज्यदूत हरिशरण पुडासैनीसहित वाणिज्य दूतावासका पदाधिकारीहरू, क्वाञ्चौस्थित उपलब्ध केही नेपालीहरू सहभागी भएको त्यहाँ लिटिल पापा इण्डियन नेपाली रेस्टुरेन्टका संचालक प्रमोद घिमिरेले जानकारी दिए । कोरोना महामारीका कारण नेपालमा रहेका अधिकांश नेपाली व्यापारीहरू नेपालमै अड्किएकाले व्यस्त व्यापारिक सहर क्वाङ्चौमा नेपालीको उपस्थिति अहिले पातलो छ । ‘कार्यक्रमको मुख्य विषय दौत्य सम्बन्ध भए पनि एकसिंगे गैंडा नेपाल र चीनबीच मित्रताका सेतु भएकाले गैंडा पार्कमा यो कार्यक्रम गरिएको हो,’ क्वाङ्चौस्थित महावाणिज्य दूतावासका कन्सुलेट कुञ्जन साहले भने ।

दौत्य सम्बन्ध स्थापनाको ६५औं वार्षिकोत्सवको शुभकामना दिँदै महावाणिज्यदूत पुडासैनीले इतिहासकालदेखि नै नेपाल-चीन मैत्री सम्बन्ध मजबुत रहेको बताए। उनले भने, ‘आपसी सम्बन्ध निरन्तर गर्नका लागि कन्सुलेट र चिनियाँ पक्ष मिलेर सहकार्य गर्नुपर्छ।’ उनले नेपाली गैंडाको राम्रो संरक्षण गरेकोमा प्रशंसा गरे। नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ तारिखमा दौत्य सम्बन्ध स्थापना भएको थियो ।

कार्यक्रममा क्वाङ्तोङ वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक छन क्वान् च्युनले चिनियाँ राष्ट्रपति सी चिनिफिङले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग टेलिफोन गर्नेदेखि प्रधानमन्त्री ली खछ्याङ र नेपालका प्रधानमन्त्री केपी शर्माओलीबीच दौत्य सम्बन्ध स्थापनाको शुभकामना आदानप्रदानबाट भएबाट अन्तरदेशीय सम्बन्ध निकै घनिष्ठ रहेको झल्किने बताए ।

गैंडा राखिएको छाङलोङ सफारी पार्कका महाप्रबन्धक चाङ स्येलीले नेपाली गैंडाको हुर्काइ र जीवनशैलीबारे जानकारी दिए । उनले नेपाली पाहुना आएको बेला अवसर मिलाएर एकसिंगे गैंडाको भ्रमण गराउने गरेको सुनाए ।

नेपालले सोही वर्षको भदौमा चीनलाई उपहारस्वरूप दिएको अर्को एक जोडी गैंडा सोल्टी र मितिनीलाई शाङ्हाईको पुतोङस्थित वन्यजन्तु पार्कमा राखिएको हो । तर सोल्टीको गत वर्ष माघमै मृत्यु भएपछि हाल पोथी गैंडा मात्रै एक्लै हुर्किरहेकी छ ।

प्रकाशित : श्रावण २४, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?