मोदीले गरे अयोध्यामा राम मन्दिर शिलान्यास- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीले गरे अयोध्यामा राम मन्दिर शिलान्यास

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय राजनीतिमा दशकौंदेखि प्रमुख मुद्दा रहँदै आएको अयोध्यास्थित राम मन्दिर निर्माण बुधबारदेखि औपचारिक रुपमा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो विशेष कार्यक्रमबीच भूमि पूजा गरेर मन्दिर निर्माणको विधिवत् थालनी गरेका हुन् । मोदीले स्थानीय समयअनुसार पौने एक बजे मन्दिरको जगमा चालीस किलोका पाँच वटा चाँदीको इँटा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त शिलान्यास कार्यक्रमलाई भव्य बनाउन केन्द्र र उत्तर प्रदेश सरकारले विशेष तयारी गरेको थियो । कार्यक्रमकै लागि भनेर अयोध्यालाई विशेष रुपमा सजाइएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अयोध्याका अधिकांश भागलाई पहेँलो रगं लगाइएको छ । त्यसका साथै सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताइएको थियो ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले राम मन्दिर निर्माणलाई विगत तीन दशकभन्दा बढी समयदेखि नै राजतीनिक मुद्दाका रुपमा उठाउँदै आएको थियो । त्यही भए पनि राम मन्दिर शिलान्यासलाई सत्तारुढ भारतीय जनता पार्टी र त्यस निकट हिन्दुवादी संस्थाहरुले वैचारिक र राजनीतिक जितका रुपमा लिएका छन् । पार्टीले गत वर्षको लोकसभाको चुनावी घोषणापत्रमै पाँच वर्षभित्र राम मन्दिर निर्माण गर्ने प्रतिबद्धता गरेको थियो । यस अर्थमा बुधबार भएको राम मन्दिरको शिलान्यान्सलाई भाजपाले ठूलो राजनीतिक जितका रुपमा हेरिएको छ ।

भूमि पुजाको दिन बुधबार अर्थात् ५ अगस्टमा राखिनुलाई पनि भाजपाको त्यो उद्देश्य केही हदसम्म प्रस्ट हुन्छ । गत वर्ष यही दिनमा मोदी नेतृत्वको सरकारले भारतीय संविधानमा रहेको जम्मू–कश्मीरलाई विशेषाधिकार दिने सम्बन्धी धारा ३७० र ३५ (ए) लाई खारेज गर्ने निर्णय गर्ने गरिएको थियो । त्यसैले जम्मू–कश्मीरको विशेषाधिकार खारेज भएको दिन राम मन्दिर शिलान्यासको कार्यक्रम राख्नुमा भाजपाले घोषणापत्रमा गरिएका प्रतिबद्धता गर्ने बाटोमा अग्रसर रहेको सन्देश दिन खोजेको प्रस्ट हुन्छ ।

गत वर्ष भारतको सर्वोच्च अदालतले अध्योध्याको विवादास्पद भूमि हिन्दु पक्षको भएको फैसला गरेपछि राम मन्दिर निर्माणको बाटो खुलेको हो । अदालतले ९ नोभेम्बर २०१९ मा दशकौंदेखि विवादित रहँदै आएको अयोध्याको राम मन्दिर–बाबरी मस्जिदसम्बन्धी मुद्दामा विवादित २.७७ एकड भूमि मुद्दाको एउटा एउटा पक्ष रामलला न्यासले पाउने फैसला गरेको थियो । अदालतको यो फैसलासँगै विवादास्पद भूमिमा राम मन्दिर निर्माणको बाटो खुलेको हो ।

बुधबारको मन्दिर शिलान्यास कार्यक्रमका लागि डेढ सयभन्दा बढी पाहुनालाई निम्तो गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथदेखि विभिन्न मन्त्रीहरु, रामजन्म भूमि गुठीका सदस्यहरु, सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को माउ संस्था राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस), विश्व हिन्दू महासंघलगायतका धार्मिक संस्थाहरु प्रतिनिधिहरुको पनि उपस्थिति रहेको बताइएको छ ।

राम मन्दिर शिलान्यासलाई नेपालमा पनि निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि राम जन्मेको अयोध्या नेपालको ठोरीमा पर्ने अभिव्यक्ति दिएपछि अयोध्याको विषयमा नेपालमा पनि निकै चासो बढेको हो ।

यद्यपि उक्त अभिव्यक्तिलाई लिएर ओलीको भारतमा मात्र नभएर नेपालमा पनि चर्को आलोचना भएको थियो । पछि परराष्ट्र मन्त्रालयले ओलीको भनाई राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा चोट पुऱ्याउने उद्देश्य नरहेको भन्दै स्पष्टीकरण दिएको थियो । तर, उनका समर्थकहरुले भने रामको जन्मभूमिका सम्बन्धमा भारतमा समेत मतैक्य नरहेको हुँदा ओलीको अभिव्यक्तिलाई गलत भन्न नमिल्ने बरु त्यसलाई आधार बनाएर राम जन्मभूमि र अध्योध्याको अध्ययन र अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित : श्रावण २१, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्

धरानको खानेपानी मुहान तोडफोड गरेको आरोपमा साम्पाङ पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानको खानेपानी मुहान सर्दु–खर्दु जलाधारमा पाइपलाइन तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीय हर्क साम्पाङलाई पक्राउ गरेको छ । उनलाई मंगलबार बेलुकी धरान–१८ बुद्धचोकबाट पक्राउ गरिएको हो । 

साम्पाङको नेतृत्वमा २५ जनाको टोलीले तीन दिनअघि सर्दु–खर्दुको इन्टेकमा जडान गरिएको खानेपानी आयोजनाको पाइपलाइन तोडफोड गरेको थियो । साम्पाङलाई बुधबार इनरुवास्थित जिल्ला अदालत लैजाने क्रममा १५ जनाको समूहले नारा–जुलुस गर्दै रोक्न खोजेपछि इलाका प्रहरी कार्यालयअगाडि केही बेर तनाब भएको थियो ।

पाइपलाइन तोडफोडपछि धरान खानेपानी आयोजनाले धरान–१३ फुस्रेमा बनाएको र्‍यापिड स्यान्ड फिल्टर ट्यांकीमा पानी आउन बन्द भएको छ ।

धरानमा खानेपानी संस्थान र आयोजनाबीच लामो समयदेखि विवाद छ । संस्थानको खानेपानी वितरण प्रणालीमा पानी शुद्धीकरण गर्ने स्यान्ड फिल्टर नहुँदा उपभोक्ताका धारामा वर्षायाममा धमिलो र लेदो पानी आउने गरेको थियो । उपभोक्ताले प्रदूषित पानी प्रयोग गर्न नपरोस् भनेर आयोजनाले स्यान्ड फिल्टरमार्फत दुई महिनादेखि शुद्धीकरण गरेर वितरण गर्दै आएको थियो ।

गएको स्थानीय तह उपनिर्वाचनमा धरान उपमहानगरको मेयर पदमा उम्मेदवारीसमेत दिएका साम्पाङ दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजकसमेत हुन् । तोडफोडपछि धरान खानेपानी व्यवस्थापन बोर्डले साम्पाङविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

साम्पाङ धरान खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठकै सहयोगमा पाइपलाइन तोडफोड गर्न गएका थिए ।

‘साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड र क्षति पुर्‍याएको विषयमा मुद्दा दायर गरी कारबाही अगाडि बढाउने छौं,’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले भने । उनलाई सहयोग गर्ने संस्थानका प्रमुख श्रेष्ठलाई पनि पक्राउ गर्ने तयारी भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७७ १३:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×