टिकटक बिक्रीको अंश सरकारलाई चाहिन्छ : ट्रम्प- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिकटक बिक्रीको अंश सरकारलाई चाहिन्छ : ट्रम्प

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटकले अमेरिकामा गर्ने व्यवसाय अमेरिकी संस्थाले किनेको खण्डमा त्यसबाट सरकारले पैसा पाउनुपर्ने बताएका छन् ।


ट्रम्पले आफूले माइक्रोसफ्टको उच्चपदस्थ कर्मचारीसँग कुराकानीका क्रममा त्यस्तो रकम माग गरेको जनाएका हुन् । सप्ताहान्तमा भएको कुराकानीमा खरिद रकमको राम्रो भाग सरकारका लागि माग गरिएको उनको भनाइ छ । ‘बिक्री रकमको ठूलो प्रतिशत अमेरिकाले पाउनुपर्छ किनभने हामीले त्यसलाई सम्भव बनाइरहेका छौं,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको बिक्रीका लागि करिब डेढ महिनाको समय दिएका छन् । उनका अनुसार सेप्टेम्बर १५ भित्रमा बिक्रीको सहमति नगरे टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइनेछ । ‘टिकटकको अमेरिकी व्यवसाय सेप्टेम्बर १५ भित्र माइक्रोसफ्ट वा अरूले किन्न सकेन भने बन्द हुनेछ,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले चिनियाँ कम्पनीहरूमाथि कडा निगरानी गर्ने बताएपछि टिकटकको अमेरिकाको व्यवसाय बिक्री गर्न बाइटडान्सलाई दबाब परेको छ । टिकटकले चिनियाँ सरकारलाई तथ्यांक उपलब्ध गराएको आरोप ट्रम्प प्रशासनले लगाउँदै आएको छ । तर उक्त आरोप निराधार भएको टिकटक र चीनको भनाइ छ ।

अमेरिकी सरकारलाई पैसा दिनुपर्ने सर्तले किनबेचको छलफल गरिरहेका कानुनविद्हरूलाई थप असहज बनाइदिएको छ । किनकि किनबेचको सरकारी अनुमतिका लागि यस्तो सर्त असामान्य मानिन्छ । कानुन व्यवसायी निकोलस क्लेनले सरकारलाई निजी व्यवसाय किनबेचबाट पैसा लिने अधिकार नरहेको बताउँछन् ।

चीनको सरकारी अखबार चाइना डेलीले मंगलबार चिनियाँ सरकारले चिनियाँ प्रविधि कम्पनीको चोरी नसहने चेतावनी दिएको छ । अखबारको सम्पादकीयमा अमेरिकाले त्यसो गरेमा त्यसको उत्तर दिन चीनसँग यथेष्ट उपायहरू भएको जनाइएको छ । मिट टेक्नोलोजी रिभ्युका संवाददाता सार्लोट जीले ट्रम्पको भनाइ उचित नभएको बताउँछिन् । ट्रम्पले आश्चर्यजनक कुरा गरेको उनको भनाइ छ ।

जीले बीबीसीसँगको कुराकानीमा भनेकी छन्, ‘यो त लगभग माफियाको जस्तो व्यवहार हो । प्रतिबन्धको धम्की दिएर बिक्री रकम कम गर्ने अनि बिक्रीको हिस्सासमेत पाउनुपर्छ भन्ने ।’

माइक्रोसफ्टले टिकटक किन्ने विषयमा आफू सहमत नरहेको गत शुक्रबार ट्रम्पले बताएका थिए । ट्रम्पको उक्त अभिव्यक्तिपछि टिकटकको सम्भावित बिक्री अड्किएको बताइएको छ ।

तर ट्रम्पले प्रस्तावित किनबेचलाई अनुमति दिने बताएपछि ह्वाइटहाउसको नीति फेरिएको अनुमान गरिएको छ । तर बिक्रीको हिस्साको माग तथा बिक्रीका लागि दिइएको अन्तिम म्यादले थप समस्या ल्याउन सक्ने ठानिएको छ ।

माइक्रोसफ्टले भने आफ्ना प्रमुख अधिकृत सत्या नाडेला र ट्रम्पबीचको फोन वार्तापछि टिकटक किन्न छलफल जारी राख्ने जनाएको छ । यद्यपि, उक्त फोन वार्ताबारे विस्तृत विवरण दिन माइक्रोसफ्टले अस्वीकार गरेको जनाइएको छ । अमेरिकाका साथै क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा समेत टिकटकको व्यवसाय किन्नका लागि समेत माइक्रोसफ्टले छलफल गरिरहेको बीबीसीले जनाएको छ ।

प्रकाशित : श्रावण २१, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

‘शकुन्तला देवी’ हरूका लागि

गोकर्ण गौतम

काठमाडौँ — भारत, कर्नाटकाको सामान्य परिवारमा जन्म । कहिल्यै स्कुल गइनन्, प्रशिक्षण लिइनन् तर उनी गणितका जटिल सवालहरू केही सेकेन्डमै समाधान गर्थिन्, कम्प्युटरभन्दा छिटो । उनको गणितको दिमागी क्षमताले भारत मात्र होइन, विश्व नै अचम्मित भयो । उपनाम नै दिइयो– ‘मानव कम्प्युटर ।’ उनी अर्थात् शकुन्तला देवी । 

काल्पनिक पात्रझैं लाग्ने शकुन्तला देवीमाथि फिल्म बनेको छ, उनकै नाममा । उनी गणितज्ञ मात्र थिइनन्, उपन्यासकार र सामाजिक कार्यकर्ता पनि थिइन् । ‘द वर्ल्ड अफ होमोसेक्युवालिटी’ (सन् १९७७) नामक पुस्तक लेखिन्, यसलाई भारतीय समाजमा समलैंगिकताबारे गरिएको पहिलो अध्ययन मानिन्छ । उनका प्रतिभाका अनेक रङ पटकथामा बुनिएको छ तर सबभन्दा गाढा रङ छ, उनको व्यक्तिगत जीवनको । एक छोरी, एक आमा । एक पत्नी, एक सासू । अझ भनुम्, एक महिलाका रूपमा शकुन्तला देवी कस्ती थिइन् ? निर्देशक अनु मेननले गज्जब शैलीमा उतारेकी छन् ।

सन् १९२९ मा जन्मिएकी शकुन्तला देवीको ८४ वर्षको उमेरमा निधन भएको थियो । उनको जीवन दर्शन र बाँच्ने शैली आममहिलाको भन्दा बिल्कुलै भिन्न लाग्छ । हक्की, निडर, आत्मनिर्भर र स्वाभिमान यस्तै–यस्तै गुणले भरिएकी थिइन् । फिल्ममा शकुन्तला बनेकी छन्, प्रतिभाशाली अभिनेत्री विद्या बालन । फिल्म हेरिरहँदा लाग्छ, अभिनयकी ‘शकुन्तला देवी’ चाहिँ विद्या बालन हुन् । जवानदेखि अधबैंसे अनि वृद्धावस्थासम्मकी शकुन्तला देवीमा विद्याको रूपान्तरण जीवन्त लाग्छ । अर्को सुखद पक्षचाहिँ विशिष्ट क्षमताले ख्याति कमाएकी शकुन्तला देवीमाथि बनेको फिल्मको निर्देशक अनु मेनन मात्र होइन, लेखकद्वय नयनिका महतानी, इशिता मोइत्रा, सिनेमाटोग्राफर केइको नकहरा र सम्पादक अन्तरा लाहिरी पनि महिला हुन् । कोभिड–१९ को महाव्याधिले सिनेमा हल खुल्ने अनिश्चित भएपछि यो फिल्म अमेजन प्राइम भिडियोमा प्रिमियर गरिएको छ ।

सानै उमेरदेखि शकुन्तला स्कुल जान थालिन् तर पढ्न होइन, गणितको ‘जादू’ देखाउन । यसबाट उनले पैसा कमाउँथिन्, साथमा उनका बुबा हुन्थे । आफ्नो कमाइले परिवार चलेको र आफूलाई पैसा कमाउन मात्र प्रयोग गरेको हेक्का भएपछि शकुन्तला बुबाआमासँग रुष्ट हुन्छिन् । बहिनीको देहान्तपछि थप मर्माहत बन्छिन्, अभिभावकप्रतिको मोह सकिन्छ । जवान भएपछि प्रेममा धोका पाउँछिन् र बेलायत पुग्छिन् । दुई चुल्ठी कपाल बाटेकी, सारी लगाएकी अनि अंग्रेजी बोल्न नजान्ने शकुन्तलालाई कसले काम दिनु ? तर गणितमा उनी यति सिपालु थिइन्, उनको प्रगतिलाई कसैले छेक्नै सकेन । त्यहाँ नाम र दाम कमाएपछि भारत फर्कन्छिन्, छोरी पाउँछिन् । त्यसपछि उनको व्यक्तिगत जीवनमा अनेक उतारचढाव आउँछन् । निर्देशक अनु मेननले छोरी अनुपमा (सान्या बनर्जी) को आँखाबाट शकुन्तलालाई नियालेकी छन् । जुन आफैंमा भावुक, सँगसँगै रोचक लाग्छ ।

आज पनि हाम्रो समाजले महिलाको क्षमतालाई पचाउन गाह्रो मान्छ, महिलाहरू घरकै कामकाजमा सीमित हुनुपर्छ भन्ने मान्यता हटेको छैन । महिलाको प्रतिभा र ख्यातिले पुरुषको ‘इगो–हर्ट’ हुन्छ । झन् सात–आठ दशकअघिको भारतीय समाज महिलाको मामलामा कति अनुदार थियो होला ? तर शकुन्तलामा गणितको तिलस्मी ज्ञान मात्र छैन, उनको व्यक्तित्व पनि हक्की छ । न बोल्न डराउँछिन्, न आफूमाथिको अन्यायको प्रतिवाद गर्न । त्यसमाथि नीरस गणितलाई रसिलो तरिकाले बुझाउन सक्छिन् । त्यसैले चाहेर/नचाहेर उनको यात्रामा कोही बाधक बन्न सक्दैन । यस मानेमा शकुन्तला देवी धेरै युवतीका लागि ‘आदर्श’ हुन्, जो आफ्नो प्रतिभाको बलमा अनेक व्यवधानलाई चिर्दै प्रगतिपथमा लम्किरहन्छिन् ।

तर यो फिल्म ‘मानव कम्प्युटर’ को पहिचान बनाउन शकुन्तला देवीले गरेको संघर्षमा सीमित छैन । बरु छोरी र आमा अनि पत्नी र प्रेमिकाका रूपमा उनको भोगाइ वृत्तान्त हो । उनी जे कारण अभिभावकबाट टाढिएकी थिइन्, आफू आमा बनेपछि छोरीसँग लगभग उही व्यवहार दोहोर्‍याउँछिन् । तर आफूले छोरीलाई आमबच्चाजस्तै सामान्य ढंगले हुर्कन नदिएको हेक्कै हुन्न, शकुन्तलाका बाबुलाईझैं । उनका बाबुले उनलाई एकोहोरो पैसा कमाउन खटाए, उनीचाहिँ आमा भएपछि एकोहोरो पैसा र ख्यातिको पछाडि लाग्छिन्, छोरीले मातृप्रेम पाउँदिनन् । त्यसमाथि उनी संसारले चिनेको शकुन्तला देवीकी छोरीकी रूपमा गर्व गर्नुपर्ने सोच राख्छिन्, जुन छोरीका लागि स्वीकार्य हुन्न । सानै उमेरदेखि उत्पन्न आमा–छोरीको द्वन्द्वलाई निर्देशकले रमाइलो र संवेदनशील शैलीमा देखाएकी छन् । उनले छोरीका लागि जसरी माया व्यक्त गर्छिन्, छोरीका लागि त्यो हस्तक्षेप भइदिन्छ, त्यसैले प्रतिवाद गर्छिन्, आमा शकुन्तलाको मन भारी हुन्छ । ‘जेनेरेसन ग्याप’ लाई सरल शैलीमा उतारिएको छ ।

प्रेमिका र पत्नी शकुन्तलाचाहिँ ‘बोल्ड’ छिन् । कतिसम्म भने आफूलाई धोका दिने प्रेमीलाई सिधै गोली दाग्न सक्छिन् । उनलाई पुरुषको खटनपटन मनै पर्दैन, उनी पति/प्रेमीबाट आर्थिक वा व्यावसायिक ढाडस होइन, माया चाहन्छिन् । तर पुरुषका लागि यही कुरा पाच्य हुन्न । त्यसैले उनको प्रेमसम्बन्ध सफल हुन्न । आफ्नो नमीठो अनुभवको असर उनको छोरीमाथिको सम्बन्धमा पनि पर्छ, जसले उनीहरूबीचको दूरी झन् बढाउँछ । कहिलेकाहीं उनको व्यवहार टिपिकल धनाढ्य अभिभावकको जस्तै हुन्छ, जो छोरीको हरेक भौतिक आवश्यकता पूरा गरिदिएकाले छोरीको रोजाइमाथिको हस्तक्षेप र नियन्त्रणलाई आफ्नो अधिकार ठान्छन् । यस हिसाबले ‘शकुन्तला देवी’ एउटा ‘फेमिली ड्रामा’ पनि हो ।

फिल्ममा बिझाउने पक्ष नभएको होइन । शकुन्तला आमालाई धेरै घृणा गर्छिन् तर त्यसको पर्याप्त आधार अनुभूत हुन्न । शकुन्तला देवीलाई एकदमै निष्ठुरी पात्रका रूपमा चित्रित गरिएको छ । बेलायत पुगेपछि उनलाई ‘मानव कम्प्युटर’ का रूपमा चिनाउन निर्देशकलाई हतार हुन्छ तर त्यसबीचको संघर्षलाई दृश्यमा बुनिएको छैन । अन्तिम दृश्यतिरको शकुन्तलाको मन्तव्य अनि छोरी अनुपमाको सिट्ठी, औधि ‘क्लिसे’ लाग्छ । शकुन्तलाका आमाबुबा अनि उनका पतिलाई पनि बेवास्ता गरिएको भान हुन्छ । सायद आमा–छोरीको टकराव र अव्यक्त प्रेमलाई मेरुदण्ड बनाइएकाले अरू पात्र किनारामा परेका हुन् ।

शकुन्तला देवीको भूमिकामा विद्या बालनको चयन बुद्धिमत्तापूर्ण लाग्छ । हुलिया मात्र होइन, हरेक कोणबाट विद्याले शकुन्तलालाई न्याय गरेकी छन् । बलिउडले प्रायः निश्चित उमेर, जीउडालका अभिनेत्रीलाई मात्र स्वीकारेको देखिन्छ, बिहे गरेपछि त धेरै हिरोइन हराउने गर्छन् । तर विद्या बालन यो सूचीमा पर्दिनन् । ज्यान मोटाए पनि उनको अभिनय कला अझ निपूर्ण भएको छ । बिहेपछि उनले खेलेका ‘हमारी अधुरी कहानी’, ‘कहानी–२’, ‘बेगम जान’, ‘तुम्हारी सुलु’ र ‘मिसन मंगल’ हेरे पुग्छ । ‘शकुन्तला देवी’ लाई उनको अभिनयको कोणबाट अझ माथि राख्न सकिन्छ । पात्रको आन्तरिक र बाह्य द्वन्द्वलाई आत्मसात् गर्न उनी सफल छिन् । यो फिल्मले अभिनेत्रीका रूपमा उनको आयु थप्नेमा सन्देह छैन । ‘दंगल’ बाट उदाएकी सान्या मल्होत्रा, जिस्शु सेन गुप्ता, अमित साधलगायतका कलाकारले पात्रको वजन घट्न दिएका छैनन् । कथाको मुडअनुरूपका गीतहरूले फिल्ममा सुन्दरता थपेको छ । यसको जस जान्छ, म्युजिक कम्पोजर सचिन–जिगरलाई ।

प्रतिभाशाली महिलाहरूको सानदार फिल्म हो, ‘शकुन्तला देवी’ । पहिचान गर्नु/नगर्नु, प्लेटफर्म पाउनु/नपाउनु, अलग कुरा तर हरेक महिलामा ‘शकुन्तला देवी’ को गुण हुन्छ । त्यसैले यो फिल्म महिलाका लागि थप रुचिकर लाग्छ । अनि, महिलाको योग्यता, क्षमता र स्वाभिमानमाथि शंका गर्ने पुरुषलाई यसले कहीं न कहीं सोच्न बाध्य पार्छ ।

प्रकाशित : श्रावण २१, २०७७ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×