१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ राजनैतिक नक्सा

पाकिस्तानद्वारा जारी नक्साको कानुनी वैधता छैन : भारत
एजेन्सी

इस्लामाबाद — पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको प्रधानमन्त्री इमरान खानले मंगलबार जानकारी दिएका छन् ।

जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ राजनैतिक नक्सा

पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन् । नयाँ नक्सा जारी भएको जानकारी दिँदै इमरान खानले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनैतिक नक्साले पाकिस्तानी नागरिकको खुसीलाई प्रतिनिधित्व गर्छ । यसले पाकिस्तान र कश्मीरी नागरिकको सैद्धान्तिक विचारधारालाई समर्थन गर्छ ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो नक्साले भारतले गत अगस्ट ५ मा जारी गरेको नयाँ नक्सालाई पनि खारेज गर्ने दाबी गरेका छन् । ‘भारतले गत वर्षको अगस्ट ५ मा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, त्यसलाई यो राजनीतिक नक्साले खारेज गरिदिएको छ ।’ खानका अनुसार अब पाकिस्तानका सबै स्कुल, कलेज र कार्यालयहरुमा मंगलबार जारी गरिएकै नक्सा प्रचलनमा आउनेछ ।

पाकिस्तानद्वारा जारी नक्साको कानुनी वैधता छैन : भारत

पाकिस्तानले नक्सा जारी गरेको समाचार प्रकाशित/प्रसारित भएसँगै भारतले प्रतिक्रिया दिएको छ । भारतले पाकिस्तानद्वारा जारी नयाँ नक्साको कुनै कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको प्रतिक्रिया दिएको छ । मंगलबार साँझ भारतीय विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामीले पाकिस्तानी प्रधानमन्त्रीले जारी गरेको तथाकथित राजनीतिक नक्सा हेऱ्यौं । यसमा भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेशहरु जम्मू–कश्मीर लद्दाखको भूमिमाथि आधारहीन दाबी गरिएको छ । जुन राजनीतिक मुर्खताले उठाइएको कदम हो ।’

भारतीय विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘यो हास्यास्पद दाबीको न कुनै कानुनी वैधता छ, न त कुनै अन्तर्राष्ट्रिय विश्वसनियता । सत्य त के हो भने पाकिस्तानले नयाँ नक्सा जारी गर्दै सीमामा आतंकवादीद्वारा समर्थन प्राप्त जमिन हडप्न खोजेको पुष्टि गर्छ ।’

भारतले गत वर्षको अगस्ट ५ मा भारतीय संविधानको धारा ३७० मार्फत जम्मू–कश्मीर राज्यलाई प्राप्त विशेष राज्यको दर्जा खारेज गरेको थियो । साथै जम्मू–कश्मीर राज्यलाई विभाजन गर्दै केन्द्र शासित जम्मू–कश्मीर लद्दाख प्रदेश बनाएको थियो ।

मंगलबार नयाँ नक्सा जारी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीर विवादको एक मात्र समाधानको उपाय संयुक्त राष्ट्र संघको प्रस्ताव मान्नु भएको बताएका छन् । ‘कश्मीरी नागरिकलाई संयुक्त राष्ट्र संघको प्रस्तावले मतदानमार्फत भारततर्फ मिसिने वा पाकिस्तानतर्फ मिसिने भन्ने अधिकार दिन्छ । यो अधिकार उनीहरुले विरासतमा पाएका हुन् जुन अहिले प्राप्त भएको होइन,’ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने ।

भारतले गत वर्ष जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई पनि समेटेको थियो । भारतले आफ्नो राजनैतिक नक्सामा नेपाली भूभाग समेटेपछि नेपालले पनि भारतद्वारा अतिक्रमित भूभागलाई आफ्नो नयाँ राजनैतिक तथा प्रशासनिक नक्सामा समेटिसकेको छ ।

प्रकाशित : श्रावण २०, २०७७ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?